रिपोर्टशनिबार, आषाढ १२, २०७२

अपराध: ९३ अझै भारतमै

हिमालखबर

 

नेपालमा बितण्डा मच्चाउने भारतीय अपराधीको खोजी प्रहरीका लागि सधैंको टाउकोदुखाइ बनिरहेको छ।

उद्योगी तुलसीराम अग्रवालको अपहरणमा संलग्न जोगवनी भारतका पूर्व मेयर भोलाशंकर तिवारी (प्रहरीले हात समाएका)।

उद्योगी तुलसीराम अग्रवालको अपहरणमा संलग्न जोगवनी भारतका पूर्व मेयर भोलाशंकर तिवारी (प्रहरीले हात समाएका)।

कमल रिमाल,  विराटनगर

७ फागुन २०७१ मा दाइजोको निहुँमा हत्या गरिएकी बुधनगर–४, मोरङकी मीरादेवी शर्माका हत्या आरोपीहरू देउरानी पवनीदेवी शर्मा र जेठानी बबितादेवी शर्मा भारतको बथनाहामा लुकिरहेको प्रहरीको दाबी छ।

त्यस्तै २३ फागुन २०७१ मा आफ्नै श्रीमती सुशीलादेवीको निर्देशनमा मारिएका विराटनगरका राजेश साहको हत्यामा संलग्न जोगवनीका अनिल साह, ललित साह र जिवछ साह पनि सीमापारि भारतमै शरण लिइरहेको बताइन्छ।

पूर्वी नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ९३ जना भारतीय नागरिक यतिवेला मोरङ प्रहरीको खोजीको सूचीमा छन्। तर, ती कहिले समातिन्छन् र पीडितले न्याय पाउँछन् भन्ने कुराको प्रष्ट जवाफ प्रहरीसँग समेत छैन।

नेपाल–भारतबीचको खुला सीमा अपराध नियन्त्रणमा सधैंको टाउकोदुखाइ बनिरहेको छ। “भारतमा अपराध गरेर नेपालमा लुक्ने निमिट्यान्न भएका छन्, उताका धेरैलाई भने फेला पार्न सकिएको छैन”, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकाल भन्छन्।

त्यसो त आफ्नो मुलुकका अपराधी पक्राउ गर्न भारतीय प्रहरीले गरेको सहयोगको सूची पनि लामै छ। १३ वैशाखमा विराटनगर, मोरङका व्यापारी गोविन्द खतिवडालाई गोली प्रहार गर्ने अभियुक्त भारतीय नागरिक सुरज यादवलाई भारतीय प्रहरीले नै पक्राउ गरी मोरङ प्रहरीलाई बुझाएको थियो।

उद्योगी तुलसीराम अग्रवाल र राष्ट्रिय वाणिज्य ब्यांक विराटनगरका ऋण अधिकृत कृष्ण साह अपहरणका अभियुक्तलाई पक्राउ गर्न भारतीय प्रहरीले भरमग्दुर सहयोग गरेको थियो।

मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल नेपालमा अपराध गरी भारतमा लुकेर बसेकाको खोजीका लागि विशेष टोली नै बनाएको बताउँछन्।

व्यवसायी गोविन्द खतिवडालाई गोली हान्ने सुरज यादव ।

व्यवसायी गोविन्द खतिवडालाई गोली हान्ने सुरज यादव ।

सीमापार अपराधका अनेक रूप
प्रहरीका अनुसार, २६ वैशाखमा लागूऔषध स्पाक्समो प्रोक्सिभन ८६४ ट्याब्लेट, ४१ बोतल कोरेक्स र ६०० एम्पुल टीडीजेसिक रिक्सामा हालेर ल्याउने क्रममा भारतीयहरू छोटुकुमार पासवान र विश्वनाथ मण्डल पक्राउ परे।

७ चैत २०७१ मा भारतीय मो. सद्दामलाई २०० ट्याब्लेट स्पाक्समो प्रोक्सिभन र नाइट्रोजनसहित प्रहरीले फेला पार्‍यो। १९ माघ २०७१ मा सीमावर्ती बुधनगरमा चार किलो गाँजासहित भारतीय सन्तोषकुमार यादव र राजेशकुमार यादव समातिए।

२७ माघ २०७१ मा गोली लिएर नेपाल आएका अरबिन्द यादव पनि सीमामै थुनिए। प्रहरीका अनुसार गएको आर्थिक वर्षमा प्रहरीले चोरी, बलात्कार, हातहतियार, लागूऔषध, सवारी ज्यान जस्ता मुद्दामा ४१ जना भारतीयलाई पक्राउ गरेको छ।

३ माघ, २०७१ मा शनिश्चरे, झापाका १३ र १४ वर्षका दलित बालिकालाई भारत लैजाने क्रममा बनारसका मनिषकुमार रस्तोगी र बिहारका चाडी पाण्डेय समातिए।

विराटनगरमा आमासँग बस्ने ६ कक्षामा अध्ययनरत किशोरीलाई फकाएर पश्चिम बंगाल लैजान खोज्ने भारतीय विष्णु ब्रम्हन्त, मुस्तान, चन्चल र तापस २३ मंसीर २०७० देखि हिरासतमै छन्।
———————————————————–

t_lamsal‘भारतीय अपराधीविरुद्ध टोली’
तारिणीप्रसाद लम्साल
प्रहरी उपरीक्षक, मोरङ

नेपालमा अपराध गरी भारतमा लुकेर बसेकाको खोजीका लागि टोली बनाएका छौं। यो टोलीले अदालतबाट कैद जरिवाना तोकिएकालाई समाएर बुझाउने, फरार खोजी गर्ने र भारतसम्म पुगेर पक्राउ गर्ने काम गर्छ।

अपराधीलाई भारतीय सुरक्षा निकायले पक्राउ गरेर हामीलाई दिन्छ कि त्यहीं कारबाही हुने अवस्थामा मुद्दा चलाउँछ, यो चाहिं भारतको कानून, मानवअधिकार र स्थानीयको प्रतिक्रियामा निर्भर हुन्छ। अपराधी र अपराधको जात, धर्म हुँदैन भन्ने आधारमै सहयोगको आदानप्रदान हुने हो।

भारतीय समकक्षीसँग नियमित समन्वयमा छौं। सहयोग पाइरहेकै छौं।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>