ब्लगमंगलबार, आषाढ १५, २०७२
आफैंलाई चिन्ने अवसर
परीक्षामा फेल हुनु भनेको जीवनमा असफल हुनु होइन, बरु आफूभित्र लुकेको क्षमता चिन्ने अवसर हो।
“म केही विषयमा फेल भएँ तर मेरा एक जना साथी सबैमा पास भए। उनी अहिले माइक्रोसफ्ट इञ्जिनियर छन् भने म त्यसको मालिक”, सूचनाप्रविधि उद्योगमा असाधारण प्रगति गरेका विल गेट्सको यो भनाइले अनुत्तीर्ण भई निराश धेरै विद्यार्थीलाई प्रेरणा दिन सक्छ।
गेट्सको सफलताले पुष्टि गर्छ, औपचारिक शिक्षामा असफल हुनुले जीवनको सफलता र असफलताको मापन गर्दैन, परीक्षामा अनुत्तीर्ण हुनु जीवनमा अनुत्तीर्ण हुनु हुँदै होइन।
परीक्षा नियन्त्रण कार्यालयले यसपालि एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको नतीजा निकाल्यो। हरेक वर्ष नतीजामा फेल हुनेको संख्या बढी देखिन्छ। विद्यालय शिक्षाका रूपमा १२ कक्षाले मान्यता पाइसके पनि एसएलसीलाई शैक्षिक सफलताको मापक मान्न अझै छाडिएको छैन।
एसएलसीमा असफलताको पीडा सहन नसकी हरेक वर्ष कलिला किशोरकिशोरीले आत्महत्या गर्छन्। एसएलसीलाई ‘हाउगुजी’ बनाउने अभिभावक, शिक्षक र सरकार त्यसका दोषी हुन्।
विश्वचर्चित यस्ता धेरै पात्र छन् जसले विद्यालय जीवनमा असफलता सामना गरे तर उनीहरूको जीवन सफल र महान् बन्यो। वास्तविक असल उनीहरू नै कहलिए। साहित्यमा नोबेल पुरस्कार पाएका रवीन्द्रनाथ टैगोर १० कक्षामा ७ पटकसम्म फेल भएका थिए। म्याक्सिम गोर्की कहिल्यै विद्यालय गएका थिएनन्।
विलियम शेक्सपियर कक्षा ५ मा दुईपटक फेल भएका थिए। लियो तोल्सतोय कलेजबाटै भागेर हिंडेका थिए। कला क्षेत्रसँग मात्र होइन, विज्ञानमा पनि प्रशस्त यस्ता उदाहरण छन्। थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो।
उनलाई ‘नो कलेज, नो नलेज’ भनेर सबैले हेप्थे। अल्बर्ट आइन्सटाइन कलेजको प्रवेश परीक्षामै फेल भए। उनलाई ‘मन्दबुद्धि’ भनिन्थ्यो। सर आइज्याक न्यूटनको हालत पनि उस्तै थियो। उनलाई कक्षामा ‘सुस्त मनस्थिति’ भनेर हेलाँ गर्थे।
एसएलसी सरहको म्याटि्रकुलेसन परीक्षामा तेस्रो डिभिजनमा पास भएका मोहनदाश करमचन्द गान्धीले विश्वमै अहिंसात्मक आन्दोलनको पाठ पढाए। पादरी शिक्षा लिएका चार्ल्स डार्विन विकासवादका संस्थापक बने। विन्स्टन चर्चिल कक्षा ६ मा फेल भएका थिए। जोन डी रकेफेलर निरक्षर थिए भने ब्रुस लीले पनि पढाइ छाडी मार्शल आर्ट रोजेका थिए।
सिर्जनाका बादशाह मानिएका एप्पलका संस्थापक स्टिभ जब्स पनि कलेज ‘ड्रप आउट’ थिए। माइकल फराडे, स्टेफन स्पेलबर्ग, पिटर जेनिग्स, हेरी एस ट्रूमन लगायतका विश्वचर्चित व्यक्तित्वले कलेज नै टेकेका थिएनन्।
यस्ता सफलताका कथा नेपालभित्रै पनि थुप्रै छन्। कलाकार हरिवंश आचार्य, फोटोग्राफर राजभाइ सुवाल, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (डीआईजी) रविराज थापा, सरकारका पूर्व सचिव द्वारिकानाथ ढुंगेल पनि एसएलसीमा फेल भएका थिए।
एसएलसीमा तीन पटक फेल भएका कलाकार आचार्य भन्छन्, “फेल भएकोमा आत्महत्या गर्नुपर्ने भए मैले तीन पटक मर्नुपर्थ्यो।” आफ्नो कला क्षमता पहिचान गरेर अघि बढेकैले आफू आजको अवस्थामा आइपुगेको बताउँदै भन्छन्, “पास भएको भए जागीर खान्थें, कतै गुमनाम जीवन बिताउँथे होला, तर फेल हुनु वरदान भयो।”
उनको भनाइमा नेपालको शैक्षिक प्रणाली र सन्तानको भन्दा आफ्नो चाहना लाद्ने अभिभावकको गलत सोचका कारण एसएलसी जहिल्यै समस्या बनेको हो। दुई पटक एसएलसी फेल हुँदाकै समयमा आफैंलाई चिनेर फोटोग्राफी सिकेकैले आजको अवस्थामा पुग्न सकेको चर्चित फोटोग्राफर सुवाल बताउँछन्।
साहित्यकार अमर न्यौपानेको प्रकाशोन्मुख उपन्यास ‘करोडौं कस्तूरी’ शिक्षा प्रणालीका यिनै विकृतिमाथि केन्द्रित छ। अहिलेका लाखौं विद्यार्थी वनको कस्तूरी झैं आफ्नै नाभीभित्रको सुगन्ध थाहै नपाई भौंतारिइरहेको’ बताउने न्यौपाने भन्छन्, “तर मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्छ। एसएलसी र यस्ता परीक्षामा फेल हुनेहरूले आफ्नो सुगन्ध आफैंभित्र खोज्नुपर्छ।” (हे. करोडौं कस्तुरीको अंश)
मानवशास्त्री सुरेश ढकाल भने पढ्दै नपढी अब्बल भएका व्यक्तित्व अपवाद भएको बताउँछन्। तर, विद्यालयस्तरमै क्षमता पहिचान गरी त्यसै अनुसारको शिक्षा दिने हो भने कोही असफल नहुने उनको भनाइ छ। कक्षा १२ पछि ‘स्कूल लिभिङ’ हुनुपर्नेमा सरकार स्वयं कक्षा १० को मोहमा फँसेको बताउँदै उनी भन्छन्, “१ देखि ९ कक्षासम्म खुरुखुरु पास गर्ने अनि १० कक्षामा कडाइ गर्ने? विद्यार्थीको भविष्य बिगार्ने दोष सरकारले लिनुपर्छ।”
———————————————————————————————
कागजको डुङ्गामा कमिलाको यात्रा
आफ्ना माग पूरा नभएको भन्दै विद्यार्थीले स्कूलमा शैक्षिक हडताल गरे। पढ्न गएका हामी हडताल हुँदा खुसी हुँदै कक्षाबाट गुटुटु भेडाबाख्रा झै बाहिर निस्कियौं र चउरमा आएर उफ्रिंदै सुसेल्न, बेपर्वाह सिठी बजाउन थाल्यौं। म र म जस्ता धेरैलाई मागसँग कुनै मतलब थिएन, छुट्टीसँग मतलब थियो। त्यसैले मनमा केही प्रश्न उठे :
पढ्न आएका विद्यार्थी स्कूल हडताल हुँदा किन खुसी हुन्छन्?
कुनै शिक्षक नआएर पिरियड खाली हुँदा विद्यार्थी किन रमाउँछन्?
स्कूल आउँदाभन्दा स्कूलबाट फर्कंदा किन विद्यार्थीको अनुहार चङ्गा जस्तो देखिन्छ?
स्कूलमा हडताल भएपछि कमल, ज्ञान र म भावना नदीतिर घुम्न निस्क्यौं। कमललाई बगर मन पर्थ्यो, ज्ञानलाई बगरका ढुङ्गा, मलाई भने नदी। मैले कमललाई सोधें― ‘तँलाई नदीभन्दा किन बगर मन पर्छ चिलिम?’
उसले एउटा सानो ढुङ्गा टिप्यो अनि पाता फर्काएर पर फ्याँक्यो र भन्यो― ‘किनभने बगरमा चित्र बनाउन एकदम मज्जा हुन्छ।’
ऊ नदीको बगरलाई कागज बनाएर चोरऔंलाले चित्र बनाउँदै थियो। ती चित्रलाई वेलावेलामा आउने नदीको छालले मेटिदिन्थ्यो। ती आयु कम भएका चित्रहरूको मलाई असाध्यै माया लागेर आयो। तैपनि चुनौती दिए झै मैले सोधें― ‘बालुवामा झैं पानीमा पनि चित्र बनाउन सक्छस् चिलिम?’
एकछिन ऊ अलमलियो। केही गमेर मेरा आँखामा हेर्यो र भन्यो― ‘सक्छु!’ मैले उत्सुक हुँदै सोधें― ‘कसरी?’
उसले शान्त भएर भन्यो― ‘जब पानी जमेर वरफ हुन्छ।’
ज्ञानले बगरमा अनौठाअनौठा ढुङ्गा खोज्न थाल्यो। म भने किनारमा बसेर, नदी र किनारको कुराकानी सुन्न खोजिरहेथें। नदी किनारमा मसिनामसिना प्वालहरू थिए, ती कमिलाका घर हुँदा हुन्। कमिलाहरू कोही भित्रिंदै थिए, कोही बाहिरिंदै। किनारमा हिंड्दाहिंड्दै कतिपयलाई पानीको धक्काले बगाएर लैजाँदैथ्यो। तिनको असाध्यै माया लागेर आयो।
मनमा यसै के भावना आयो कुन्नि! झोलाबाट कापी झिकें, फटाफट कापीका पाना च्यात्दै डुङ्गा बनाउँदै पानीमा बगाउन थालें ताकि पानीमा डुब्दै गरेका कमिलाको उद्धार होस्। कतिपय कमिलाहरू आफैं डुङ्गामा चढ्न थाले, कतिपयलाई मैले चढाइदिएँ। यसरी मैले थुप्रै डुङ्गा बनाएर पानीमा बगाएँ। थुप्रै कमिला कागजको डुङ्गामा यात्रा गर्न थाले।
यसरी कमिलाहरू चढेका दश–बाह्र ओटा कागजका सेता डुङ्गा पानीमा तैरिएर बगिरहेको देख्दा मलाई असाध्यै रमाइलो लाग्यो। फेरि सोचें, यी कमिलाहरू कहाँ जाउँला भनेर कागजको डुङ्गा चढेका होलान्? कुनै डुङ्गा घोप्टिन खोज्दा लाग्यो― यिनै कमिलामध्ये कुनैकुनै कमिला त कागजका डुङ्गा चलाउने माझ्ाी भइदिए हुन्थ्यो नि!
त्यतिखेर बल्ल म झसङ्ग झस्कें, जब एकसुरमा डुङ्गा बनाउँदा बनाउँदै एउटा कापी नै सकेछु। बग्दै गरेका डुङ्गातिर यस्सो हेरेको त कतिपय डुङ्गा किनारतिरै अलमलिंदै थिए, कतिपय आफ्नो यात्रा तय गर्दैथिए, कतिपय पानीले गल्दैथिए, कतिपय पानीमा ढल्दैथिए, कतिपय पानीको लहरमा फतक्क गलेर डुब्दैथिए।
कागजको डुङ्गामा यात्रारत असुरक्षित कमिलाहरूको साह्रै माया लागेर आयो। थाहा छैन, कति कमिलाहरू कागजको डुङ्गा गलेर मरे। थाहा छैन, बाँकी रहेका कागजका डुङ्गाहरू पनि कतिखेर लफ्रक्कै भिजेर सकिन्छन् र कमिलाहरू पनि सकिन्छन्। मलाई अपराधबोध भयो।
लाग्यो, म पनि जिन्दगीको कागजे डुङ्गामा यिनै कमिला झै यात्रारत छु। शायद पढाइ नै मेरो जिन्दगीको कागजे डुङ्गा हो।
(फाइनप्रिन्टद्वारा प्रकाशित यो उपन्यास २२ असारदेखि बजारमा आउँदैछ।)
साप्ताहिक खबरपत्रिका हिमालबाट