रमझममंगलबार, आषाढ १५, २०७२
कागजको डुङ्गामा कमिलाको यात्रा (पुस्तकांश)
अमर न्यौपाने
आफ्ना माग पूरा नभएको भन्दै विद्यार्थीले स्कूलमा शैक्षिक हडताल गरे। पढ्न गएका हामी हडताल हुँदा खुसी हुँदै कक्षाबाट गुटुटु भेडाबाख्रा झै बाहिर निस्कियौं र चउरमा आएर उफ्रिंदै सुसेल्न, बेपर्वाह सिठी बजाउन थाल्यौं। म र म जस्ता धेरैलाई मागसँग कुनै मतलब थिएन, छुट्टीसँग मतलब थियो। त्यसैले मनमा केही प्रश्न उठे :
पढ्न आएका विद्यार्थी स्कूल हडताल हुँदा किन खुसी हुन्छन्?
कुनै शिक्षक नआएर पिरियड खाली हुँदा विद्यार्थी किन रमाउँछन्?
स्कूल आउँदाभन्दा स्कूलबाट फर्कंदा किन विद्यार्थीको अनुहार चङ्गा जस्तो देखिन्छ?
स्कूलमा हडताल भएपछि कमल, ज्ञान र म भावना नदीतिर घुम्न निस्क्यौं। कमललाई बगर मन पर्थ्यो, ज्ञानलाई बगरका ढुङ्गा, मलाई भने नदी। मैले कमललाई सोधें― ‘तँलाई नदीभन्दा किन बगर मन पर्छ चिलिम?’
उसले एउटा सानो ढुङ्गा टिप्यो अनि पाता फर्काएर पर फ्याँक्यो र भन्यो― ‘किनभने बगरमा चित्र बनाउन एकदम मज्जा हुन्छ।’
ऊ नदीको बगरलाई कागज बनाएर चोरऔंलाले चित्र बनाउँदै थियो। ती चित्रलाई वेलावेलामा आउने नदीको छालले मेटिदिन्थ्यो। ती आयु कम भएका चित्रहरूको मलाई असाध्यै माया लागेर आयो। तैपनि चुनौती दिए झै मैले सोधें― ‘बालुवामा झ्ौं पानीमा पनि चित्र बनाउन सक्छस् चिलिम?’
एकछिन ऊ अलमलियो। केही गमेर मेरा आँखामा हेर्यो र भन्यो― ‘सक्छु!’ मैले उत्सुक हुँदै सोधें― ‘कसरी?’
उसले शान्त भएर भन्यो― ‘जब पानी जमेर वरफ हुन्छ।’
ज्ञानले बगरमा अनौठाअनौठा ढुङ्गा खोज्न थाल्यो। म भने किनारमा बसेर, नदी र किनारको कुराकानी सुन्न खोजिरहेथें। नदी किनारमा मसिनामसिना प्वालहरू थिए, ती कमिलाका घर हुँदा हुन्। कमिलाहरू कोही भित्रिंदै थिए, कोही बाहिरिंदै। किनारमा हिंड्दाहिंड्दै कतिपयलाई पानीको धक्काले बगाएर लैजाँदैथ्यो। तिनको असाध्यै माया लागेर आयो।
मनमा यसै के भावना आयो कुन्नि! झोलाबाट कापी झिकें, फटाफट कापीका पाना च्यात्दै डुङ्गा बनाउँदै पानीमा बगाउन थालें ताकि पानीमा डुब्दै गरेका कमिलाको उद्धार होस्। कतिपय कमिलाहरू आफैं डुङ्गामा चढ्न थाले, कतिपयलाई मैले चढाइदिएँ। यसरी मैले थुप्रै डुङ्गा बनाएर पानीमा बगाएँ। थुप्रै कमिला कागजको डुङ्गामा यात्रा गर्न थाले।
यसरी कमिलाहरू चढेका दश–बाह्र ओटा कागजका सेता डुङ्गा पानीमा तैरिएर बगिरहेको देख्दा मलाई असाध्यै रमाइलो लाग्यो। फेरि सोचें, यी कमिलाहरू कहाँ जाउँला भनेर कागजको डुङ्गा चढेका होलान्? कुनै डुङ्गा घोप्टिन खोज्दा लाग्यो― यिनै कमिलामध्ये कुनैकुनै कमिला त कागजका डुङ्गा चलाउने माझ्ाी भइदिए हुन्थ्यो नि!
त्यतिखेर बल्ल म झसङ्ग झस्कें, जब एकसुरमा डुङ्गा बनाउँदा बनाउँदै एउटा कापी नै सकेछु। बग्दै गरेका डुङ्गातिर यस्सो हेरेको त कतिपय डुङ्गा किनारतिरै अलमलिंदै थिए, कतिपय आफ्नो यात्रा तय गर्दैथिए, कतिपय पानीले गल्दैथिए, कतिपय पानीमा ढल्दैथिए, कतिपय पानीको लहरमा फतक्क गलेर डुब्दैथिए।
कागजको डुङ्गामा यात्रारत असुरक्षित कमिलाहरूको साह्रै माया लागेर आयो। थाहा छैन, कति कमिलाहरू कागजको डुङ्गा गलेर मरे। थाहा छैन, बाँकी रहेका कागजका डुङ्गाहरू पनि कतिखेर लफ्रक्कै भिजेर सकिन्छन् र कमिलाहरू पनि सकिन्छन्। मलाई अपराधबोध भयो।
लाग्यो, म पनि जिन्दगीको कागजे डुङ्गामा यिनै कमिला झै यात्रारत छु। शायद पढाइ नै मेरो जिन्दगीको कागजे डुङ्गा हो।
(फाइनप्रिन्टद्वारा प्रकाशित यो उपन्यास २२ असारदेखि बजारमा आउँदैछ।)