रमझमबुधबार, आषाढ १६, २०७२
आख्यानमा राष्ट्रवाद (पुस्तक चर्चा)
-रविन गिरी
आफ्नै निबन्धसंग्रह ‘शोकमग्न यात्री’ को आलेख ‘नेपाली उपन्यासको बाटो’ मा नारायण ढकाल प्रश्न गर्छन्– ‘एडवर्ड सइदले ठीकै भनेका हुन्– नयाँ या पुनर्जागृत राष्ट्रवादले आख्यानको सहारा लिन्छ। तर, हाम्रोमा खोइ त्यस किसिमको नयाँ राष्ट्रवादको आख्यान?’
यो सन्दर्भलाई विचार गर्दा उनको पछिल्लो उपन्यास ‘वृषभ वध’ को आधार राजा महेन्द्रको २०१७ सालको ‘कु’ को सुरुआती काल हुनुको अर्थ खुल्दछ। त्यसो त ढकालका अघिल्ला उपन्यासहरू पीत संवाद (२०५६), दुर्भिक्ष (२०६१) र प्रेतकल्प (२०६५) का रचनागर्भ तथा आग्रह/पूर्वाग्रह पनि ‘ओरिएन्टलिष्ट’ सइदकै विचार नजिक छन्।
तीन भाग (मन्त्र, प्रेम र हत्या)मा बाँडिएको उपन्यासमा अहिलेको कागेश्वरी–मनोहरा नगरपालिका समेटिएको छ, जहाँ लेखकको घर छ। कागतीर्थ अर्थात् हरिहरतीर्थ गाउँमा ‘वृषभ वध’ को विकास गरिएको छ, जहाँ एउटा उन्मत्त ‘डढेसाँढे’ मान्छेभन्दा चर्चित छ। प्रजातन्त्रवादी रामप्रसाद शर्माका नाति देवेन्द्रको हुल्याहा स्वभाव डढेसाँढे जस्तै छ।
बाटो उद्घाटनको तामझाममा जुटेका प्रधानपञ्च हरिभक्त खड्का सहितका ठूलाबडालाई तमासा देखाउन पुच्छरमा टीन बाँधेर डढेसाँढेलाई हुलेपछि स्कूले उमेरको देवेन्द्र एकाएक पञ्चायती प्रजातन्त्र विरोधी ‘अराष्ट्रिय तत्व’ बन्छ।
पुराना जिम्वाल श्रीधर पुडासैनीको शर्मा परिवारसँगको इर्ष्याको राजनीतिक रुपान्तरणले पञ्चायतको रुपरंग प्रदर्शन गर्छ। उपन्यासमा अर्मपर्म, पूजापाठ, जातीय विभेद, नारी अनुशासन आदिमा बाँधिएको जीवन–परिवेश छ। भद्र दाजु नरेन्द्रसँग भएको देवेन्द्रको भेटले उ वेलाको इन्द्रचोकको जीवनशैली मात्र नभई, २५ भदौ २०१८ मा जलेको जनसेवा सिनेमा हल, महेन्द्रको ह्विस्की प्रेम र मधुवालाको सौन्दर्य सम्झाउँछ।
प्रधानपञ्चको प्रपञ्चमा हजुरबुबालाई कालोमोसो दलिएपछि देवेन्द्र फेरि एक पटक डढेसाँढेसँग सहकार्य गर्न पुग्छ। साँढे प्रकरण दोहोरिएपछि प्रधानपञ्च र उनका आसेपासेहरू अर्को जवान साँढे ल्याएर डढेलाई गाउँ छाड्न बाध्य पार्ने योजना बनाउँछन्। डढेले प्रतिस्पर्धी साढेलाई हराउँछ तर अर्को दिन ऊ मरिरहेको भेटिन्छ।
यही प्रकरणमै कक्षा १० मा पढिरहेको देवेन्द्र पक्राउ पर्छ। जेलमा एकजना कम्युनिष्ट नेतासँग संगत भएपछि उसले राजनीतिको चरित्र चाल पाउँछ। जेल मुक्त गर्ने वहानामा देवेन्द्रलाई मार्ने योजना बुनिन्छ, तर अरु कैदीले थाहा पाएकोले ऊ फरार हुन्छ। र, विना कुनै योजना ‘कामरेड’ बन्न पुग्छ।
मोहनसिं कठायत, कमला, शम्भु, उनकी एक्ली आमा, होटलवाल्नी मीनाकुमारीको दिनचर्यामा सामाजिक चेतना र क्रान्तिको झल्को देखिन्छ। मूल कथानकसँग सरोकारै नभएका सरस्वती जस्ता केही पात्र अनावश्यक लाग्छन्। देवेन्द्रको भाइ वीरेन्द्र कसरी निको भयो, खुल्दैन। अन्त्यमा अकस्मात् देवेन्द्रकी बहिनी पनि प्रकट हुन्छिन्।
कथा टुँग्याउने हतारोसँगै इतिहासकार बल्लभमणि ढकाललाई व्यंग्य गर्न पाँच महिला पात्रको दुर्घटनाले गाउँ नै हल्लिएको तर्कले भने पाठक अन्यायमा पर्छन्। अञ्जुले बनारसमा पुष्पलाल श्रेष्ठलाई भेटेको प्रसंग पनि अति नाटकीय छ।
उपन्यासमा उनी महेन्द्रले ‘विकास र राष्ट्रवादको नारामा पृथ्वीनारायण शाहलाई भजाउँदै पञ्चायतको पुष्टि गर्न खोजिरहेको’ सटिक विश्लेषण गर्छन्। राजनीतिक व्यंग्यचेत ‘वृषभ वध’ को सर्वाधिक बलियो पक्ष हो। कथानकको खाका प्रष्ट, भाषा सरल छ।
‘सरकारी मार्क्सवाद’ का कट्टर आलोचक उनको रचनामा वादको गहिराइ खोज्नेहरू भने यस्तो सरलताबाट निराश बन्न सक्छन्। तर, यहींनेर ढकालको लेखकीय सफलता प्रमाणित हुन्छ। आवरणको ‘डाइकट’ कला उपन्यासको भाव सुहाउँदो छ।
गति सुस्त भए पनि देश नयाँ संविधान मार्फत पुनर्जागृत राष्ट्रवादको निर्माणमा छ। महाभूकम्पले भौतिक पुनःनिर्माणको बाध्यात्मक अवस्थामै धकेलिदिएको छ। विनिर्माणवादी दार्शनिक ज्याक डेरिडाको ‘अन्डर इरेजर’ व्याख्या अनुसार, कुनै शब्दको प्रचलित अर्थ नमान्नु भनेको त्यसलाई निषेधित वा अर्थहीन घोषित गर्नु होइन।
बरु, परिवर्तित अर्थसँग जागरुक भइरहनु हो। ढकालले ‘वृषभ वध’ मार्फत एकैपटक अस्वीकृत र इच्छित राष्ट्रवादको झल्को दिन खोजेका छन्, जसले संघीय गणतान्त्रिक मुलुकका आमजनको अपेक्षालाई आकार दिन सक्छ।
रविन गिरी