समाचारशुक्रबार, आषाढ १८, २०७२
‘धर्म निरपेक्षता’ राखेको र ‘बहुलवाद’ नराखेकोमा कांग्रेस सभासद्को आपत्ति
नेपाली कांग्रेसका सभासद्हरुले संविधानको प्रारम्भिक मस्यौदामा ‘बहुलवाद’ शब्द नपरेको र ‘धर्म निरपेक्षता’ शब्द राखिएकोमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
संसदीय दलको आज १८ असारमा बालुवाटारमा बसेको बैठकले कांग्रेसका शीर्षस्थ नेतालाई यससम्बन्धी ध्यानाकर्षण गराएका हुन् ।
संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सभासद्का विचार सुने पनि आजको बैठकमा बोलेनन् ।
शीर्ष नेताले भोलीको बैठकमा सबै सभासद्को विचार सुनिसकेपछि सम्बोधन गर्ने कार्यक्रम छ । आजको बैठकमा सभासद् रामहरि खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक सांसदको सङ्ख्या घटाउन माग गरे ।
समानुपातिक सांसदलाई राष्ट्रिय सभामा राखी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद राख्नुपर्छ, राजनीतिक स्थिरताका लागि समानुपातिक सांसद २५ देखि ३० प्रतिशतसम्म मात्र हुनुपर्ने भनी बैठकमा कुरा राखेको सभासद् खतिवडाले भने ।
सभासद् शङ्कर भण्डारीले धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता शब्द राखिनुपर्ने बताए ।
भण्डारीको विचारमा कांग्रेसका अधिकांश सभासद्ले समर्थन जनाएका थिए ।
“संविधानमा हिन्दू राष्ट्र र धर्म निरपेक्षता दुवै नराखी धार्मिक स्वतन्त्रता शब्द उल्लेख गर्न आज बोल्ने अधिकांश सभासद्ले विचार राख्नुभएको छ ”– सभासद् खतिवडाले भने ।
सभासद् रामकृष्ण यादवले संविधान सहमति भएकै बुँदामा जारी गरेर पछि संशोधन गर्दै जानुपर्ने बताए ।
बैठकमा सभासद्हरु भरत शाह, उषा गुरुङ, भरत खड्का, केशवकुमार बुढाथोकी, जीवन परियार, किरण यादव र ध्यानगोविन्द रञ्जितलगायतले पार्टीको मूल सिद्धान्त बहुलवाद र संसदीय शासन पद्धतिका विषयमा कसैसँग सम्झौता नगर्न नेतृत्वलाई दबाब दिएको बैठकमा सहभागी सभासद् ओमदेवी मल्लले जानकारी दिइन् ।
१७ असारदेखि शुरु भएको कांग्रेस संसदीय दलको बैठक १९ असारमा पनि बस्ने संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
