समाचारशनिबार, आषाढ १९, २०७२
दाहाल पार्टी सच्याउन तयार छु भन्छन्, फेरि भुलिहाल्छन्ः भट्टराई
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीलाई सच्याएर लैजान र संविधानसभाबाट प्राप्त उपलब्धि संस्थागत गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् ।
काठमाडौंमा आयोजित भट्टराई पक्षीय भेलालाई सम्बोधन गर्दै भट्टराईले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्दै यसो भनेका थिए । भट्टराईले भेलामा भने, “मूल नेतृत्वले कमजोरी सुधार गर्दै नयाँ ढङ्गको पार्टी निर्माण गर्ने विषयमा स्पष्ट कार्यदिशा नअङ्गाले पार्टीको साख गिर्ने जाने भएकाले सच्चिएर जान सबै तयार हुनुपर्छ ।”
उनले भने, “पार्टीलाई सच्याएर लैजाने विषयमा अध्यक्ष दाहालको फरक मत छैन, उहाँले हुन्छ पनि भन्नुहुन्छ, एकाध दिनमा फेरि त्यो कुरा ओझेलमा पर्छ, खै के कुराले त्यस्तो भइरहेको छ, मैले थाहा पाउन सकेको छैन । तर पार्टीलाई सच्याएर लैजाने विषयमा कोही कसैको दुई मत छैन ।”
उक्त भेलामा संसदीय दलका उपनेतासमेत रहेका पार्टी सचिव टोपबहादुर रायमाझीले पार्टीमा एकले अर्कोलाई नटेर्ने प्रवृत्तिको विकास भएको भन्दै त्यसलाई सच्याएर लैजानुपर्ने बताए ।
बाबुरामको छुट्टै भेला
एक बर्षअघि गठन भएको समानान्तर जिल्ला कमिटीले आज प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । यो भेलासँगै लामो समयसम्म मत्थर भएको विवाद आज पुनः ब्युँतिएको देखिन्छ । नयाँ बानेश्वरमा आयोजित भेलामा संस्थापन पक्षका नेता तथा कार्यकर्तालाई बोलाइएको थिएन ।
उपत्यकास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण नाम दिइएको सो भेलामा संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा र आर्थिक विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने सङ्कल्प गरिएको बताइएको छ ।
भेलामा वरिष्ठ नेता भट्टराई, सचिव टोपबहादुर रायमाझी, नेताहरु देवेन्द्र पौडेल, नवराज सुवेदी, हिसिला यमीलगायतको सहभागिता थियो ।
संस्थापन पक्षले केही दिन पहिले भेलाको आयोजना गरेको र आफूहरुलाई जानकारीसमेत नगराएको भन्दै भेलाको आयोजना गरिएको भट्टराई पक्षीय नेता महेन्द्र श्रेष्ठले बताए ।
पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिँदै श्रेष्ठले अघिल्लो भेलामा नेता तथा कार्यकर्ता छुटेकाले छलफलका लागि बोलाइएको बताए ।
संस्थापन पक्षले पार्टी महासचिव कृष्णबहादुर महराको उपस्थितिमा यस्तै भेलाको आयोजना गरेको थियो । अध्यक्ष दाहाल पक्षीय काठमाडौँ जिल्ला समितिका अध्यक्ष हिमाल शर्माले भने आफूहरुले पनि गलत ढङ्गले भेला नराखेको र सबैलाई सहभागिताका लागि आग्रह गरिएको बताए । उनले आजको भेलालाई अराजनीतिक गतिविधिको सङ्ज्ञा दिए ।
अध्यक्ष शर्माले पार्टी अध्यक्ष दाहालले वरिष्ठ नेता भट्टराईलाई पार्टी अध्यक्षका रुपमा प्रस्तुत गरिसकेको सन्दर्भमा छुट्टाछुट्टै भेलाको आयोजना गर्दै हिँड्नु नाजायज भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
