समाचारमंगलबार, आषाढ २२, २०७२
ओली सहभागी कार्यक्रममा विवाद, दुईपटक आसन ग्रहण गराइयो
नेकपा एमाले मोरङमा दुई गुट बीच विवाद हुँदा अध्यक्ष ओलीले एउटै कार्यक्रममा दुईपटक प्रमुख अतिथिको आसन ग्रहण गरेका छन् भने कार्यक्रममा दुई वटा अध्यक्ष समेत बनाइए ।
२२ असारमा विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलाको औपचारिक आयोजक बन्ने विषयमा उपमहानगरपालिका कमिटी र जिल्ला कमिटीबीच विवाद हुँदा ओलीले दुईपटक प्रमुख अतिथिको आसन ग्रहण गर्नु पर्यो भने एउटै क्रार्यक्रममा दुई वटा अध्यक्ष भए ।
एमाले मोरङको कार्यालयमा आयोजित भेलामा नगर समितिका सहसंयोजक तथा युवा संघका नेता पर्शुराम बस्नेतले कार्यक्रम संचालन गर्दै नगर संयोजक सागर थापालाई अध्यक्षताको र अध्यक्ष ओलीलाई प्रमुख अतिथिको आशन ग्रहण गराए ।
त्यसलगत्तै झलनाथ खनाल निकटका जिल्ला अध्यक्ष महेश रेग्मीले जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमको आयोजक जिल्ला कमिटी हुने भन्दै जिल्ला सचिव तथा सभासद ऋषिकेश पोखरेललाई कार्यक्रम संचालन गर्न लगाए ।
बस्नेतले वास्तै नगरी कार्यक्रम सञ्चालन गरिरहेपछि जिल्ला अध्यक्ष रेग्मीले ओलीसँग आयोजक आफू बन्नुपर्ने भन्दै गुनासो सुनाए । गुनासो सुनेका ओलीले पनि कार्यक्रम संचालनको जिम्मा जिल्लालाई दिए ।
अब अध्यक्ष ओलीको आदेशानुसार सभासद पोखरेल संचालनका लागि अगाडि पुगे र उनले कार्यक्रमको अध्यक्ष जिल्ला कमिटी अध्यक्ष रेग्मीलाई बनाए भने ओलीलाई फेरि प्रमुख अतिथिको आशन ग्रहण गराए ।
दुइपटक प्रमुख अतिथिको आसन ग्रहण गरेका ओलीले भने, “जिल्लाको विवाद आजैदेखि अन्त्य भएको छ ।”
ओलीले एकै ठाउं सुतेकाबेला खुट्टा लाग्ने भन्दै माहोल हल्का बनाउन खोजेका थिए ।
“पल्लो गाउँको मान्छेले खुट्टा बोकाउंदैन, किन भने ऊ उहीं सुत्छ” उनले भने, “संगै सुत्नेले खुट्टा बोकाउंछ, हामी बीच ठुलो अभिभारा छ, साना कुरामा नअल्मलिऔं ।”
छाती पिट्दैमा संविधान रोकिदैन
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कसैले छाती पिट्दैमा वा टाउको ठोक्दैमा संविधान निर्माण प्रकृया नरोकिने बताए ।
उनले भने, “टाउको ठोक्दैमा, छाती पिट्दैमा संबिधान बन्ने बाटो रोकिंदैन, संविधान बन्छ बन्छ ।”
नयां संविधान बनेपछि राष्ट्रिय सरकार बन्ने र अरु दल पनि समेटिने ओलीले बताए ।
अरु दलको आग्रह अनुसार अबको सरकारको नेतृत्व एमालेले लिने पनि उनले दाबी गरे ।
“एमाले चुप लागेर बसेको छ, तर अरु दल नेतृत्व एमालेले लिनु पर्छ भन्दैछन,” अध्यक्ष ओलीले भने “माओवादीले भन्दैछ, लोकतान्त्रिक फोरमले भन्दैछ, अरु दलले पनि भनेका छन् ।”
कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
