समाचारमंगलबार, आषाढ २२, २०७२
संविधान नबन्ने चिन्ता अब छैनः प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मस्यौदामाथिको छलफल सकिनु ऐतिहासिक घडी भएको बताएका छन् । उनले संविधान नबन्ने चिन्ता अब नरहेको र अब यो प्रक्रियाले टुङ्गो पाउने बताए।
उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको लोकतन्त्र, शान्ति, स्थिरता र विकासको चिन्ता भए पनि अब त्यो अवस्था नरहेको बताए ।
कोइरालाले भने, “जनआन्दोलनको उपलब्धि गणतन्त्र, समावेशिता, सङ्घीयताको रक्षा गर्नु आजको मुख्य चिन्ता हो, सबैमा महिला, जनजाति आदिवासी, मुसलमान, पिछडिएका वर्ग सबैको हक हनन नहोस् भन्ने चासो छ, यो ठूलो चेतना हो, अब जनतामा गएपछि सुझावसहित संविधानको मस्यौदाले अन्तिम रुप लिनेछ ।”
‘सभासदले घोसेमुन्टो लगाएर अव हिड्नुपर्दैन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अव सभासदहरुले घोसे मुन्टो लगाएर हिड्न नपर्ने बताएका छन् ।
ओलीले भने, “अबको संविधान कुनै पार्टी विशेषले भने जस्तो आउनेवाला छैन, नयाँ संविधानले नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र असमानता तथा विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणतर्फको यात्रा तय गर्नेछ ।”
नेता ओलीले जनतामा गएपछि परिमार्जन र संशोधन गर्न सकिने तर ६०१ जनाले भनेजस्तै हुन्छ भन्नेकुरा नहुन सक्ने बताउँदै मुलुकलाई विकसित बनाउन संविधानले बाटो तय गरेको बताउ ।
‘निरङ्कुशता र अराजकताको अन्त्य’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले लामो बलिदान र सङ्घर्षपछि जनताको विजयको प्रतीकमा रुपमा आएको संविधानसभालाई असफल बनाउन नदिई दलहरूले आफ्ना अडान त्यागेर भए पनि प्रारम्भिक मस्यौदा ल्याउन सकेको बताए ।
दाहालले भने, “अब हामी संविधान बनाइछाड्छौं, निरकुङ्कुशता र अराजकताको अन्त्यका दिशामा अघि बढ्ने छौँ ।”
उनले कैयौं कुरा मस्यौदामा छुटे पनि जनताको राय लिइएपछि त्यसलाई परिमार्जन गराउन सकिने विश्वास दिलाए । अध्यक्ष दाहालले धर्मनिरपेक्षताबारे उठेका सवालमा जवाफ दिँदै भने, “विश्वभरिको लोकतान्त्रिक आधारभूत मान्यताअनुसार राज्य धर्मसँग निरपेक्ष रहन्छ भनिएको हो, यसलाई अन्यथा लिनु हुँदैन ।”
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दोस्रो संविधानसभाबाट पनि संविधान बन्न नसकेमा मुलुक सङ्कटमा पर्ने भएकाले पार्टी स्वार्थभन्दा माथि उठेर संविधान जारी गरिने बताए ।