समाचारबुधबार, आषाढ २३, २०७२
कार चालक आत्तिंदा आधा घण्टामा सात दुर्घटना

दुर्घटना गराएका कार चालक ओजेश संचेती प्रहरी भ्यानमा । तस्वीरः कमल रिमाल
सामान्य दुर्घटनाबाट आत्तिएका एक १९ वर्षीयले चलाएको कारले विराटनगरमा आधा घण्टामा सातवटा दुर्घटना गराएको छ ।
विराटनगर–१४ का ओजेस संचेतीले २२ असार साँझ चलाएको कारले घोघापुल चोकमा रिक्सालाई ठक्कर दिएको थियो । रिक्सालाई ठक्कर दिएर भाग्दै गरेका उनलाई स्थानीय युवा कृष्ण कार्कीले मोटरसाइकलमा पिछा गरे ।
मोटरसाइकलले पिछा गरेपछि अनियन्त्रित रुपमा कार चलाउँदै भागेका संचेतीले लगातार ७ वटा दुर्घटना गराए । अन्तिम पटक कारले मोटरसाइकललाई च्यापेपछि उनी रोकिए । करिब आधा घण्टामा उनले ४ वटा मोटरसाइकल र दुई साइकललाई ठक्कर दिए ।
साँघुरा गल्लीमा तिब्र गतिमा कार दौडँदा आसपासका मानिस आतंकित हुँदै भागेका थिए ।
कारको पिछा गरेका कार्कीले विद्यालयमा छुट्टि हुने बेला भए पनि सडकमा विद्यार्थीको भीड नहुँदा मानवीय क्षति हुनबाट जोगिएको बताए ।
संचेतीले चलाएको को १ च ४०७० नम्बरको कार विराटनगर–४ का सिन्धु कोइरालाले चलाएको को ९ प १८१३ नम्बरको मोटरसाइकलमा ठोक्किएपछि मात्रै रोकिएको थियो । मोटरसाइकल माथि कार चढेपछि रोकिए लगत्तै स्थानीयले चालकलाई कुटपिट गरेका थिए भने कारमा समेत तोडफोड भएको छ ।
त्यसलगत्तै आएको प्रहरीले चालक संचेतीलाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलमा सवार कोइरालाको हात र करङको हड्डी भांचिएको छ । पहिले कोशी अञ्चल अस्पताल पुर्याइएकामा त्यहाँ उपचार हुन नसक्ने भएपछि कोइरालालाई अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
दुर्घटनामा चार वटा मोटरसाइकलमा क्षति पुगेको र तीन घाइते सम्पर्कमा आएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरु प्रहरीको सम्पर्कमा नआएकाले कति जनालाई चोट लाग्यो भन्ने खुल्न नसकेको प्रहरीको भनाई छ ।
चालक ओजेशका पिता तरुण संचेतीले भने रिक्सालाई ठक्कर दिएपछि स्थानीयले कुटपिट गर्ने डरले ओजेश भाग्ने क्रममा यस्तो घटना भएको बताए ।
भारतको मुम्बईमा पढ्ने ओजेशसंग चालक अनुमति पत्र नरहेको बताइएको छ । प्रहरी निरीक्षक ओमप्रकाश खनालले पीडितले जाहेरी दिएपछि चालकलाई कारवाही प्रकृया अगाडि बढाइने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
