थप समाचारबुधबार, आषाढ २३, २०७२
घर भत्काउने क्रममा मजदुरको मृत्यु
भूकम्पले क्षतिग्रस्त भै ढल्किएको घर भत्काउने क्रममा दोलखा भीमेश्वर–१० मा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् ।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको रामबहादुर बुढाथोकीको तीन तले पक्की घरबाट इट्टा तथा झ्यालढोकाहरु निकाल्ने क्रममा घर ढलेपछि सुष्पाक्षमावती–९ का ४५ वर्षीय श्रीकृष्ण थामीको मृत्यु भएको हो । दुर्घटनामा ५० वर्षीय मानवीर थामी गम्भीर घाईते भएका छन् ।
घाईते मानबीरलाई थप उपचारको लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक अजय केसीले बताए ।
आफू सहित ७ जना मजदुर घरको दोस्रो तल्लामा बसेर इट्टाहरु निकाल्नेक्रममा घर ढल्न लागेपछि सबै भागेको भए पनि दुईजनालाई घरले थिचेको घर धनी रामबहादुरका छोरा मनोज बुढाथोकीले बताए ।
भाग्ने क्रममा घरले थिचिएका मानबीर थामी आफै निक्लन सकेका थिए भने श्रीकृष्ण थामीलाई प्रहरी, शसस्त्र र नेपाली सेनाले उद्धार गरी उपचारको लागि अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको थियो ।
सर्मिला बुढाथोकी, दोलखा