समाचारबुधबार, आषाढ २३, २०७२

चन्द माओवादीको चन्दा–धम्कीले विद्युत आयोजनाको काम ठप्प

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पाँचथरको रानीगाउँस्थित निवुखोला लघु जल विद्युत उपभोक्ता समितिसँग चन्दा माग गर्दै धम्कीपूर्ण पत्र पठाएको छ ।

नेकपा माओवादीका पाँचथर जिल्ला सचिव अर्जुन घिमिरे र ‘जनमुक्ति सेना’ प्रमुख विमर्शको हस्ताक्षर रहेको पत्रमा चन्दा नदिए काम बन्द गर्नुपर्ने धम्कीपूर्ण पत्र प्राप्त भएपछि आयोजनाको काम ठप्प भएको छ ।

रानीगाउँ– १ स्थित आयोजनास्थलमा मोटरसाइकलमा पुगेका दुई माओवादीले पत्र थमाउँदै चन्दा नदिए काम रोक्न २२ असारमा धम्की दिएको उपभोक्ता समिति अध्यक्ष नरेन्द्र कार्कीले जनाकारी दिए ।

उनीहरुले चन्दा नदिने र काम पनि नरोक्ने हो भने निर्माण व्यवसायी, उपभोक्ता समितिका पदाधिकारीसँगै कामदारलाई समेत अपहरण गर्ने धम्की दिएका थिए ।

“दशवर्षे जनयुद्ध, जनसेना, जनअदालत, जनताका अधिकार संस्थागत गर्न र जनतालाई मुक्तिको निरन्तरताका लागि हामीले तपाइँको सँस्था मार्फत सहयोगको अपेक्षा गरेका हौं,” पत्रमा भनिएको छ ।

उक्त योजनाका ठेकेदार र उपभोक्ता समितिले आफ्नो पार्टीलाई वेवास्ता गरेको हुँदा तत्काल काम वन्द गरी समन्वय गरेर मात्रै काम गर्न धम्की दिइएको र बेवास्ता गरे त्यसवाट हुने क्षतिको जिम्वेवारी पनि समितिले नै लिनुपर्ने उल्लेख पत्रमा उल्लेख छ ।

जिल्ला विकास समितिको सहयोगमा निर्माण शुरु भएको आयोजनाको काम २५ असारभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएकोमा माओवादी अवरोधका कारण समयमा काम सकिने सम्भावना नरहेको उपभोक्ता समितिको भनाई छ ।

पाँचथर माओवादीले भने पार्टी सुदृढिकरणका लागि आर्थिक सहयोग मागेको र यो अभियान मुलुकभर सञ्चालन भइरहेको जनाएको छ ।

पाँचथरका प्रमूख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले माओवादीले गरेको पत्राचारवारे आफुलाई जनाकारी नभएको भन्दै यस्तो भएको पाइए कार्वाही गरिने प्रतिक्रिया दिए ।

लक्ष्मी गौतम, पाँचथर

 

खोटाङमा सरकारी कार्यालमा पनि चन्दा मागियो

यस्तै नेकपा माओवादी चन्द समूहले खोटाङका सरकारी कार्यालयहरुमा पनि चन्दाको लागि उर्दी जारी गरेको छ ।

माओवादीले जिल्लाका सबै कार्यालयमा पत्र पठाएर चन्दा माग गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्दद्वारा हस्ताक्षरित पत्रमा रकम भने तोकिएको छैन ।

पत्र पठाइसकेपछि फोनबाट पनि चन्द माओवादीका कार्यकर्ताले फोनमा चन्दाका लागि ताकेता गरिरहेको कार्यालय प्रमुखहरु बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले सरकारी कार्यालयमा चन्दा माग्ने कसैलाई पनि चन्दा नदिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको बताए ।

उनले भने, “कार्यालयको तर्फबाट चन्दा दिनु गैंरकानूनी काम हो, त्यसैले सबै कार्यालय प्रमुखहरुलाई बोलाएर चन्दा नदिन निर्देशन दिएको छु ।”

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई स्थापित गर्न आन्दोलन गर्नुपर्ने भएकाले जिल्लास्थित केही सरकारी कार्यालय र गाविस सचिवसमक्ष सहयोग माग गरिएको माओवादी खोटाङका सचिव चन्द्रबहादुर बुढाथोकीले बताए ।

-योगिन राई, खोटाङ

Letter

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>