थप समाचारबिहीबार, आषाढ २४, २०७२
‘पानी त सुन भयो’
१२ वैशाखको विनाशकारी भूकम्पपछि धादिङ, महादेवस्थानबासी खाने पानीका लागि भरपर्दै आएको स्रोत; गोगनेको मुहान ठूलो भयो । भूकम्प–त्रासका बीच प्रशस्तै पानी पाएर खुशी भएका गाउँले १६ वैशाखमा पँधेरो पुरै सुकेपछि भने निराश भए ।
गोगनेको मुल सुकेपछि महादेवस्थानबासीको पँधेरो बन्यो– दुई घण्टा टाढाको थोत्रे खोलो । जसोतसो गुजारा चलेकै थियो तर, २९ वैशाखमा आएको अर्को ठूलो भूकम्पले थोत्रे पनि सुक्यो ।
काकाकुल गाउँले अब खाने पानीकै लागि साढे तीन घण्टा लामो बाटो हिंडेर चितवनको चुत्रे पुग्नु पर्छ ।
महादेवस्थान–१ भैसेकी प्रमिला गुरुङ राति १ बजे छिमेकी सँगै साढे ३ घण्टाको अप्ठ्यारो बाटो नापेर खानेपानी लिन चुत्रे पुग्छिन् ।
लिन जाँदा साढे तीन घण्टा, आउँदा त्यति नै, अनि धारामा लाग्ने समय समेत गर्दा एक गाग्री पानीको लागि झण्डै आठ घण्टा खर्च हुन्छ ।
महादेवस्थान र आसपासका धेरै प्रमिलाहरुको दैनिकी पानीको जोहो मै वित्छ । फारो गरेर खर्चे पनि परिवारका एक जनाको काम उठेदेखि नसुतुन्जेलसम्म पानी बोक्नु भएको छ ।
थपिएको डर
१२ वैशाखको भूकम्पपछि परकम्प आउन अँझै रोकिएको छैन । जमिन हल्लिंदा हुने आफ्नो सुरक्षाको चिन्ता त छँदैछ । यहाँका वासिन्दालाई कतै चुत्रेको मुहान पनि सुक्ला की भन्ने थप डर हुन्छ ।
“भैंचालोले हल्लाउँदा सबैलाई डर लाग्छ, हामीलाई भने भोली विहान चुत्रे पुग्दा पनि पानी नपाइएला कि भन्ने थप डर हुन्छ,” प्रमिला भन्छिन, “गोगने सुक्यो, थोत्रे सुक्यो अब चुत्रे पनि सुक्यो भने कहाँ पाउनु पानी ।”
गुरुङ, तामाङ र चेपाङ समुदायको बसोबास रहेको महादेवस्थानको भैंसेबासी दिनभर अरु काममा व्यस्त हुँदा पानी भर्न राति जान्छन् ।
भीरको बाटो राति राति हिंडदा लडिएला भन्ने डर त छँदैछ, त्यसमाथि एक बजे उठेर पानी लिन गयो घर फर्कंदा झलमल्ल घाम लागिसकेको हुन्छ– पेट भने भोकै ।
‘एक गाग्री पानीले समस्या टर्दैन । सरसफाई, केटाकेटी, खाना, वस्तुभाऊ सबैको विचार पुर्याउनै पर्यो, पानी त सुन भयो यहाँ,” शुक्रबहादुर चेपाङ भन्छन् ।
यसैबीच वर्षा शुरु भएपछि भने आकाशे पानी संकलन गर्न थालिएको छ भैंसेमा । तर यो पानी वस्तुभाऊ र केही सरसफाईका लागि मात्रै काम लाग्छ । आकाशे पानी पिउन योग्य बनाउने प्रविधि गाउँलेसँग छैन ।
आकाशे पानीको भरले कहिलेसम्म थेग्ला र ! खाने पानी लिन त चुत्रै नपुगी सुख छैन, फेरी बर्खापछि के गर्ने ? शुक्रबहादुर आकाश तिर हेर्दै भन्छन् ।
सानुबाबु तिमिल्सना, धादिङ