समाचारबिहीबार, आषाढ २४, २०७२
मस्यौदामा सुझाव दिन सभाध्यक्ष नेम्वाङको अपील
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा–२०७२ माथि आ–आफ्ना सुझाव दिन सबै नेपालीलाई अपील गरेका छन् ।
संविधानसभाले संविधानको मस्यौदा–२०७२ माथि जनताको राय सुझाव लिने कार्य २५ असारदेखि शुरु गर्दैछ ।
सभाअध्यक्ष नेम्वाङले सुझाव संकलनका लागि जिल्ला र निर्वाचन क्षेत्रसम्म आइपुग्ने टोलीलाई आ–आफ्ना सुझाव दिन भनेका छन् ।
२४ असारमा जारी गरिएको अपीलमा भनिएको छ, “यो प्रारम्भिक मस्यौदा मात्र भएकोले आदरणीय दिदी बहिनी तथा दाजू भाईहरुले दिनुभएको सुझावको आधारमा मस्यौदा परिमार्जन गरी संविधानसभाले संविधानको परिमार्जित विधेयक तयार गर्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु ।”
सर्वसाधारणले टेलिफोन, फ्याक्स, इमेल तथा अन्तर्क्रिया कार्यक्रममा आफै सहभागी भएर संविधानको मस्यौदामा छुटेका विषयमा आफ्नो सुझाव पठाउन सक्नेछन्।
जिल्ला र निर्वाचन क्षेत्रस्तरमा हुने छलफलका लागि संविधानसभाको मस्यौदा २ लाख प्रति छपाइ भएको छ। ती मस्यौदा असार २६ गतेदेखि सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा पठाइने छ।
सुझाव संकलनका लागि साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा सार्वजनिक कार्यक्रम हुनेछ। कार्यक्रमका लागि सभासदहरुसँगै शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीहरु पनि जानेछन्।
इमेल ठेगाना comt.crcs@gmail.com र nparl.international@can.gov.np मा पनि सुझाव पठाउन सकिन्छ ।
फ्याक्सका लागि ४२००१९४, ४२०००५३ र ४२००१४१ नम्बर दिइएको छ।