ब्लगशनिबार, आषाढ २६, २०७२
वंशमै अटिनँ, कहाँ खोजुँ अस्तित्व ?
वंशावलीमै नअटेका छोरीले कसरी खोज्ने आफ्नो अस्तित्व, कसरी खोज्ने आफ्नो समान पहिचानको अधिकार ?
घरमा बिहानैदेखि कुल पूजाको चटारो छ । ठ्याक्कै थाहा छैन कुल पूजा कुन दिन र कति वर्षमा हुन्छ भन्ने । सोधखोज पनि गरेकी छैन ।
हिंजोमात्र काठमाडौंबाट आइपुगेको, ममीलाई काममा सघाईरहेछु । आखिर मेरो नामको पछाडि पनि यहि कुलको थर जोडिएको छ । हामी ढकाल थरका सबै एकै ठाउँमा जम्मा भएर कुल पूजा गर्ने चलन छ । पूजा भन्दा पनि सबैैजनासँग भेट हुने कुराले म बढ्ता हौसिएकी छु ।
पहिलोपटक कुल पूजामा जाँदै थिएँ । हाम्रो परम्परागत मान्यता अनुसार पूजाआजामा छोरी–ज्वाइँ, भान्जा–भान्जीलाई बिशेष महत्व दिने चलन छ । तर, कुलपूजामा छोरीलाई खासै महत्व दिइँदो रहेनछ । त्यसमा अझ बिहे गरेर गोत्र परिवर्तन भइसकेकी छोरी त आए–गएको वास्तै नहुने । पूजामा चढाइएको प्रसाद पनि छोरी र बुहारीलाइ नदिइने ।
के कुल भनेको छोरो मात्र हो ? छोरीलाई सहभागी नगराए पनि बुहारीलेसम्म पूजा गर्न पाउने भइदिए यति मन दुख्दैन्थ्यो होला ।
आफूले आफैलाई यति साह्रो पीडित महशुस गरेको सम्भवतः यो पहिलो पटक थियो । पीडक आफ्नै बाबु–बाजे र उनका पनि बाबु–बाजेहरु, जसले छोरीलाई कुलमा समेट्न सकेनन् । यस्तो एउटा ‘कु–परम्परा’, जसलाई कुलका नाममा हाम्रा बुवाहरुले थेग्दै आएका छन् र त्यसलाई नै थाम्ने तयारीमा छन्, दाइभाइहरु पनि ।
बाजे र बुवाहरु उनीहरुलाई खोजी खोजी पूजा विधि सिकाउँदै छन् । कसका कुन छोरा आएनन्, कुन नाति आएनन् भनेर बिशेष ध्यान दिइएको छ । अर्को पटकदेखि सवैलाई आउन प्रेरित गरिएको छ । तर छोरी र नातिनीका कुरै छैनन् । आमा, भाउजु र बुहारीहरु कामदार जस्ता मात्र देखिन्छन् ।
मन भुट्भुटिएको थियो । तर केही बोल्न सकिएन । फेरि लाग्यो– आज एक दिन त हो, उनीहरुको खुसीमा हाँसिदिन्छु । रमाईलो मानिदिन्छु । देखे–भेटेका र चिनेका ढकालहरुलाई हात जोडें, नचिनेकासँग परिचय गरें ।
तर, चुरो कुरो त अझैं बाँकी रहेछ ! काकाले फाइल र कलम देखाउँदै इसाराले वोलाउनु भयो । वंशावली वनाउने काम रहेछ । पुरुष प्रधानतामा महिला निरिहता । जिजुबाजे, बाजे, छोरा, नाति, पनाति आदि वंशावलीमा पुरुषको मात्र एकाधिकार ।
बुढीफुपु, फुपु, छोरी, नातिनी, बज्यै, आमा, बुहारी कतै अटाएका छैनन् । फलानाको यति भाइ छोरा, यति दाजुभाइ भन्छन् । महिलाको नामै छैन । वंशावलीमा छोरीको नाम अटाउनु पर्दैन ? राख्नु पर्दैन ?
नाता सम्वन्धको औपचारिक दस्तावेजको रुपमा चिनिने वंशावलीमा महिलाको नाम नराखेको देख्दा साह्रै नरमाइलो लाग्यो । फाईल र कलम अर्कैको हातमा थमाईदिएँ । वंशावलीमा अटाउन नसक्ने मैले के वंशावली लेख्नु ? मन खल्लो भयो ।
जुन काकाले कुल पूजाका लागि मन्दिर निमार्ण गर्न जग्गा उपलब्ध गराउनु भएको थियो, उहाँलाई पुलुक्क हेरें । उहाँले मेरो भाव वुझ्नुभएन । उहाँका तीन बहिनी छोरी छन् । आफैँ पनि पढेलेखेको मान्छे । कुल पूजा र वंशावली बनाउँदै गर्दा छोरीको नाम राख्ने पहल उहाँले किन गर्न सक्नुभएन ?
म माइतीको वंशावलीमा अट्न सकिन । घरको वंशावलीमा पनि परिन । वंश धान्ने छोरो रहेछ, बुहारी र छोरीहरु फगत कामदार मात्रै । हामी त केवल उनीहरुको वंश धान्नका लागि बच्चा उत्पादन गरिदिने मेसिन ।
सानो छँदा केही काम लगाउन फकाउनुपर्यो भने ममीले भन्नुहुन्थ्यो– छोरो, यसो गर न भनेर । एक दिन साह्रै रिस उठेर मैले पनि भनिदिएँ– “माया गर्नका लागि छोरो नै भन्नुपर्छ, छोरी भन्नुस् अनि मात्र गर्छु ।”
ममीलाई साह्रै घत परेछ । पछि एउटा सार्वजनिक कार्यक्रममा त्योे कुरा उठाउनुभो । म यसै मख्ख । घरमा छोरा र छोरीबीचको फरक व्यवहारको बिषयमा कुरा भैरहन्थ्यो । म माईली सन्तान । मभन्दा मुनि भाई छ, माथि दिदी ।
बेलाबेला बुवा ममीलाई तनाव दिइरहन्थें– ‘म छोरा भैदिएको भए ३ वटा वच्चा पाउनु पर्दैन्थ्यो है !’ भन्दै । तर पनि घरमा छोरा छोरीबीचमा खासै विभेद थिएन । शिक्षादिक्षामा पनि फरक व्यवहार भएन । त्यसभन्दा माथि पैतृक सम्पत्तिको अंश पनि पायौं बुवा–ममीबाट । तर वंशाबलीमा आफ्नो नाम नहुँदा भने मन कुँडियो ।
छोरा भएन भने आफ्नो वंशको हांगो तुहिन्छ भन्नेहरु समाजमा छन् । अंश र वंशमा छोरीको समान अधिकार खोज्नेहरु पनि सतहमा नारा भजाइरहेका छन् । समस्याको चुरो कुरो त वंशावली हो ।
समानताको कुरा गरिरहँदा वंशावलीमा छोरीको नाम राख्न पहल गर्ने बेला आएन र अब ?
वंशाबलीमा नसमेटिएका महिलालाई राज्यले पनि पुरुष सरहको मान्यता दिन कञ्जुस्याइँ गरेको छ । त्यसैले त आमाको नामवाट नागरीकता दिने बिषयमा वर्षौदेखि बहस जारी छ । बाबु, बाजे नेपाली भएको भरमा एक जना बालिगले नेपालको नागरिकता पाउँछ भने आमा, हजुरआमा नेपाली भएको हिसावले पनि नागरिकता पाउने स्पष्ट व्यवस्था हुनुपर्छ ।
तर पुरुषहरुको बर्चश्व रहेको वंशावलीमा नै अटाउन नसकेका छोरीहरुले कसरी खोज्ने आफ्नो अस्तित्व, कसरी खोज्ने आफ्नो पहिचानको अधिकार ?