रमझमशनिबार, आषाढ २६, २०७२
कांग्रेसः कठिन वेलाको दुरुस्त तस्वीर
नेपालको आठ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहासलेखनमा राजेश गौतम अग्रणी छन्। उनका पछिल्ला तीन पुस्तक– नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग–३, ४ र ५ मा क्रमशः पटना सम्मेलनदेखि सशस्त्र आन्दोलन २०१८ को स्थगनसम्म, सहयोगको प्रस्तावदेखि सशस्त्र आन्दोलन २०२८ सम्म र राष्ट्रिय मेलमिलापको नीतिदेखि बीपीको निधनसम्मको चर्चा गरिएको छ।
नेपाल अहिले संविधानसभाबाट नयाँ संविधान जारी गर्ने तरखरमा रहँदा नेपालीको स्मृतिमा नेकपा (माओवादी) को एक दशक लामो हिंसा ताजै छ भने नेपाली कांग्रेसले पञ्चायत विरुद्ध गरेको सशस्त्र विद्रोह धुमिलप्रायः भइसकेको छ।
कांग्रेसकै २०४६ पछिको पुस्तालाई पनि त्यो कुरा किंवदन्ती बनिसकेको छ। २०३४ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला नेपाल आएपछि कांग्रेसले हिंसालाई सत्ता परिवर्तनको औजार बनाउने प्रयासलाई पूर्णतया निषेध गर्यो।
गौतमका तीन पुस्तक छिचोलिसकेपछि पाठकलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका आरोह–अवरोहका साथै पञ्चायतको अघिल्लो दुई दशकमा कांग्रेसले गरेको दुरुह यात्राको जानकारी हुन्छ। त्यो अवधिमा नेपाली कांग्रेस विरोधाभास र अन्तरसंघर्षहरूले भरिएको एउटा विभाजित घर बनेको थियो।
राजा महेन्द्रले २०१७ पुसमा निर्वाचित सरकारलाई अपदस्थ गरेर प्रधानमन्त्री बीपी कोइराला, मन्त्रिमण्डलका अधिकांश सदस्य र सभामुख कृष्णप्रसाद भट्टराईलाई थुन्दा उप–प्रधानमन्त्री सुवर्णशमशेर भारतमा थिए।
त्यसपछि कांग्रेसका कार्यकर्ताहरूका लागि पनि निर्वासन निर्विकल्प बन्यो। सुवर्णशमशेरले कार्यवाहक पार्टी अध्यक्षका रुपमा पटना सम्मेलनमा सशस्त्र संघर्षको आह्वान गरे। त्यसको तयारी हुँदै गर्दा चीन–भारत युद्ध शुरु भयो र परिवर्तित भूराजनीतिक परिस्थितिका कारण सशस्त्र संघर्ष बृहत्तर रुपमा शुरु नै नभई स्थगन गर्न बाध्य भयो, कांग्रेस।
अनि व्यक्तिहत्याको दोस्रो श्रृंखला चलाउन फुक्का भयो, पञ्चायत।
नेपाली कांग्रेसका प्रमुख चार नेतामध्ये बीपी र गणेशमान सिंह जेलमा थिए भने सूर्यप्रसाद उपाध्याय रिहा भएका थिए।
बीपीले ‘आत्मवृत्तान्त’ मा आफू लगायतका नेताहरूको रिहाइका लागि उपाध्यायले खेलेको भूमिकाको अवमूल्यन गरे पनि गौतमले न्याय स्थापना गर्न खोजेका छन्।
उनले पञ्चायती संविधान संशोधन गर्दै प्रजातन्त्रीकरणको मार्गप्रशस्त गर्न राजा महेन्द्रले कानूनका ज्ञाता शम्भुप्रसाद ज्ञवालीदेखि सूर्यप्रसाद उपाध्यायसम्मको सहयोग लिएको खुलाएका छन्।
तर, त्यही समयमा महेन्द्रको निधन भयो र राजा वीरेन्द्रले पञ्चायतलाई अझ्ा कसिलो पार्दै लगे।
बीपीले आफ्ना आखिरी दिनहरूमा भाइ गिरिजाप्रसादलाई पार्टी नेतृत्व स्थापित गर्न सामूहिक नेतृत्वको अवधारणा अगाडि सारेको संकेत गरेको पुस्तकहरूमा गौतमले बीपीको रिहाइपछि सूर्यबहादुर थापाको संदिग्ध भूमिकाको पनि चर्चा गरेका छन्।
भाग–३ ले सशस्त्र संघर्षका खर्च–बर्चदेखि योजनासम्मका भित्री पाटो उधिनेको छ। भूमिगत संगठनभित्र यति पारदर्शी शैलीबाट काम भएको विरलै पाइन्छ। सशस्त्र संघर्षले कांग्रेस पार्टीलाई नयाँ पुस्तासँग जोडेर जीवन्त–चलायमान बनाएको देखिन्छ।
भाग–४ र ५ पढ्दा जीवनका आखिरी वर्षहरूमा एक्लो बृहस्पति बन्दा पनि बीपीको व्यस्तता साँच्चै रहरलाग्दो बनेको देखिन्छ। यसबाट नेपाली राजनीतिमा बीपीको उँचाइ ठम्याउन पनि सघाउ पुग्छ।
इतिहासलाई अन्तर्वार्ता शैलीमा लिपिबद्ध गर्ने परम्परा बसाएका गौतमको इतिहासप्रति पृथक् धारणा छन्। उनका अनुसार, इतिहासकारले घटनासँग सम्बन्धित तथ्यगत सूचना–सामग्री पाठकलाई दिने हो, घटनाबारे अन्तिम टिप्पणी वा ठोकुवा गर्ने होइन। उनले तीन वटै पुस्तकमा पुरानो शैलीलाई निरन्तरता दिंदै परिशिष्टमा मूल सामग्रीहरू राखेर पाठकलाई आफैं धारणा बनाउने अवसर दिएका छन्।
रहस्यको गर्भमा रहेका थुप्रै तथ्यलाई बाहिर ल्याएका यी पुस्तकहरूको शीर्षकमा ‘कांग्रेस’ भए पनि पञ्चायतकालीन राजावादीदेखि कम्युनिष्टसम्मका अनेक घटकको चेहरा देखाएका छन्। इतिहासकार गौतमकृत यो संग्रह निसन्देह रुपमा पठनीय र संग्रहणीय छ।
शंकर तिवारी