समाचारबुधबार, आषाढ ३०, २०७२

बजेटमा पुनःनिर्माण र पूर्वाधार निर्माण

हिमालखबर

आगामी आवको बजेटले पुनःनिर्माण र विकासका पूर्वाधार निर्माणमा केन्द्रित रहेर विभिन्न शीर्षकमा रकम विनियोजन गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण कोष स्थापना गरी रु ७४ अर्बको लगानीमा गरिने पुनःनिर्माणअन्तर्गत रु ५० अर्ब सार्वजनिक भवन, रु ३ अर्ब पुरातात्विक संरचना रु २ अर्ब अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको तथा रु ७ अर्ब उत्पादन क्षेत्र र रु ६ अर्ब सामाजिक क्षेत्रका लागि छुट्याइएको छ ।

आगामी आवमा १६ सिमेन्ट उद्योगका लागि खानीस्थल पहुँचमार्ग तथा १२ सिमेन्ट उद्योगका लागि विद्युत् उपकेन्द्र तथा प्रसारण लाइन निर्माणका लागि रु ६३ करोड विनियोजन गरिएको छ ।

त्यस्तै पर्यटन पूर्वाधार एवम् प्रवर्द्धन गर्न रु एक अर्ब एक करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि बेग्लै रु एक अर्ब ७५ करोड, काठमाडौँ उपत्यका बाहिरका विमानस्थलको निर्माण एवम् सुधारका लागि रु पाँच अर्ब ७५ करोड विनियोजन गरिएको छ ।

बजेटमा हुलाकी राजमार्ग पाँच वर्षभित्र पूरा गर्न रु तीन अर्ब १९ करोड, बर्दिबास सिमराखण्डको रेलवे ट्रयाक बनाउन र जग्गा खरिदका लागि रु एक अर्ब ८६ करोड, सिक्टा, रानीजमरा, कुलरिया र बबई सिँचाइ आयोजनाका निर्माणका लागि रु तीन अर्ब ७६ करोड, राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम विस्तारका निम्ति रु एक अर्ब ९६ करोड छुट्याइएको छ ।

काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणलाई रु एक अर्ब, भैरहवाको गौतम बुद्ध क्षेत्रीय विमानस्थल बनाउन रु दुई अर्ब छुट्याइएको छ ।

त्यसैगरी निर्माणाधीन मध्य पहाडी लोकमार्गलाई रु एक अर्ब ९५ करोड, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई रु दुई अर्ब, बूढीगण्डकीका निम्ति रु तीन अर्ब ३७ करोड, आगामी दुई वर्षभित्र बनाइने ३६५ तुइन र झोलुङ्गे पुलका लागि रु दुई अर्ब पाँच करोड, नगरपालिकाबाट लागत साझेदारीमा निर्माण गरिने पूर्वाधारका लागि रु एक अर्ब ६५ करोड, भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक छ लेनको बनाउन रु एक अर्ब सात करोड, मेलम्ची खानेपानी आयोजना दुई वर्षभित्र पूरा गर्न रु चार अर्ब ९५ करोड बजेट व्यवस्था गरिएको छ ।

कृषि अनुसन्धानका निम्ति रु दुई अर्ब आठ करोड, ग्रामीण र कृषि सडकमा रु १५ अर्ब २५ करोड , ग्रामीण विद्युतीकरणका लागि रु दुई अर्ब, थानकोट –नौबिसे सुरुङमार्गका लागि रु एक अर्ब ६७ करोड, नारायणगढ– मुग्लिन सडक सुधार तथा लेन विस्तार गर्न रु दुई अर्ब १३ करोड, सडक कालोपत्र तथा १७० वटा पुल बनाउन रु ५४ अर्ब विनियोजन गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>