समाचारबिहीबार, आषाढ ३१, २०७२
बर्दियामा करिब सात सय घर डुबानमा
गएराति परेको अविरल वर्षाका कारण बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाका विभिन्न स्थानका करिब ७०० घर डुबानमा परेका छन् ।
गएराति निरन्तर वर्षा भएपछि बिहान करिब ३ बजे बबई र कर्णाली नदी गाउँ पसेको हो ।
कर्णाली नदीका कारण राजापुर क्षेत्रको गोला, मनाउँ, सूर्यपटुवा गाविस र राजापुर नगरपालिकाका नदी आसपासका क्षेत्र डुबानमा परेका छन् भने त्यसैगरी बबई नदीका कारण महम्मदपुर, पदनाह, बनियाभार, बगनाह र गुलरिया नगरपालिकाका नदी आसपासका करिब ७०० भन्दा बढी घर डुबानमा परेका छन् ।
त्यसैगरी बबई नदीका कारण गुलरिया–नेपालगन्ज हुलाकी सडकखण्डको बाटो माथिबाट बग्न थालेपछि उक्त गुलरिया–नेपालगन्ज सडकखण्ड अवरुद्धसमेत भएको छ । राति करिब ३ बजे बाढी गाउँमा पसेपछि मानवीय क्षति नभए पनि खाद्यान्न अन्नबालीमा क्षति भएको बाढीपीडितले बताएका छन् ।
बाढी आएपछि बढी जोखिम हुने गुलरिया नगरपालिकाको नदी किनाराका बस्ती, महम्मदपुर, पदनालगायतका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई उद्धार कार्यमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताएका छन् ।