Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यार्सा टिप्ने निहुँमा वन्यजन्तु शिकार - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ ३१, २०७२

यार्सा टिप्ने निहुँमा वन्यजन्तु शिकार

हिमालखबर

यार्सा टिप्ने निहुँमा हतियारसहित उकालो लाग्ने हजारौंको समूहलाई यसैगरी फुक्काफाल छाड्ने हो भने केही वर्षमै हिमाली क्षेत्र वन्यजन्तुविहीन हुनेछ।

– बच्चु विक, बझाङबाट फर्केर

 बन्दूक बोकेर यार्सागुम्बा संकलन गर्न जाँदै गरेका सर्वसाधारण बझाङको कालापानी नजिक। तस्वीरहरुः बच्चु विक


बन्दूक बोकेर यार्सागुम्बा संकलन गर्न जाँदै गरेका सर्वसाधारण बझाङको कालापानी नजिक। तस्वीरहरुः बच्चु विक

२८ जेठ; कालापानी, बझाङ। दायाँ कम्मरमा भिरेको पेस्तोल देखिएपछि ज्याकेट तलतिर तान्दै अशोक भण्डारी (३७) मुस्कुराए, “यतातिर हतियार नभए कामै चल्दैन, सुरक्षाका लागि पनि चाहिन्छ।”

नेपालगञ्जका भण्डारी यार्सागुम्बा व्यापारीको एजेन्ट बनेर उत्तरी बझाङको हिमाली गाविस काडाको कालापानी आइपुगेका थिए। समुद्र सतहभन्दा ३ हजार ९५५ मीटर उँचाइमा रहेको कालापानीमा यतिवेला पनि हिउँको पत्र बाक्लो छ। कुराकानीका क्रममा भण्डारीले पेस्तोललाई जाडोसँग पनि जोडे। “जाडोमा मासु नखाई सकिंदैन”, उनले भने “हतियार नभए डाँफे, कालिज मार्न सकिन्न।”

भण्डारीले लेकमा हतियारको महत्वबारे बताइरहेकै वेला चौंरीमा भारी लादेका चार जनाको समूह उकालो आउँदै गरेको देखियो। समूहकी एक महिला भरुवा बन्दूक बोकेर अघिअघि हिंडिरहेकी थिइन्। “खिच्नुस्, खिच्नुस्, केही फरक पर्दैन। मसँग मात्रै हो र! सबैसँग छ”, तस्वीर लिन लाग्दा उनले भनिन्, “बरु फोटो चाहिं राम्रो निकाल्नुहोला।”

नाम र ठेगाना बताउन नचाहेकी ती महिलाले पनि हिमालमा मासु नखाए नबाँचिने भएकाले बन्दूक चाहिएको बताइन्। उनका अनुसार, यार्सागुम्बा टिप्न आउनेहरूले मासुका लागि कस्तूरी, नाउर, झारल आदि शिकार गर्नु सामान्य हो। “शिकार गर्न सबै समूहमा एउटा/दुइटा बन्दूक त हुन्छ नै”, उनले भनिन्।

नभन्दै, हिंडिरहेका वा थकाइ मार्न बसेका धेरैसँग बन्दूक देखियो। कालापानी पश्चिमपट्टिको नयाँ चउर भन्ने ठाउँमा पाल टाँगेर बसेको यार्सा संकलक समूहले वन्यजन्तुको मासु घाममा सुकाएको थियो। “हरेक समूहले दैनिक एउटा/दुइटा झारल, नाउर वा थारको शिकार त गर्छ नै”, कुरुवा बसिरहेका युवकले भने, “नत्र, यार्सा टिप्न आएको मजै हुँदैन।”

बझाङको कालापानी नजिक बन्दूकसहित यार्सागुम्बा संकलनमा हिंडेको अर्को समूह।

बझाङको कालापानी नजिक बन्दूकसहित यार्सागुम्बा संकलनमा हिंडेको अर्को समूह।

नयाँ चउरबाट एक दिन हिंडेर त्यही उँचाइको इमलद्वार पुग्दा पनि वन्यजन्तुहरूको मासु सुकाइएको थियो। केही ताजा र केही कटमिरो मासु बिस्कुन लगाइएको चउर नजिकै पालमुनि होटल सञ्चालन गरिएको थियो। होटल सञ्चालक वृद्धले ‘नाउर, झारल, डाँफे कि कालिज खानुहुन्छ’ भनेर सोध्दै यो उँचाइमा तगडा रहनलाई मासु नै खानुपर्ने बताए। पाल अड्याइएको काठभरि पनि वन्यजन्तुको सुकुटी टाँगिएको थियो।

यार्सागुम्बा संकलनको मौसममा दार्चुला, बझाङ, मुगु, डोल्पा लगायतका जिल्लाका हिमाली भेगमा लाखौं मानिसको मेला लाग्छ। वैशाख दोस्रो सातादेखि दुई महीनासम्म रहने यो मौसममा हिमाली वन्यजन्तु सखाप हुने गरेको छ। यार्सासँगै दुर्लभ वन्यजन्तुको चोरी–शिकारी र तस्करी भइरहेको बारे सरकार बेखबर छैन, तर नियन्त्रण प्रयास गरेको छैन।

जिल्ला वन कार्यालय, बझाङको प्रतिवेदनमा शिकारीहरूले हिमचितुवा, चितुवा, बाँदर, लंगुर, घोरल, मलसाप्रो, न्याउरी मुसो, कस्तूरी, फ्याउरो, कालो गिद्ध, सेतो गिद्ध, डाँफे, मुनाल, हुचिल, सुनगोहोरो जे भेट्यो त्यही मारेको उल्लेख छ। यीमध्ये कुनैको मासु खाइन्छ भने कुनैलाई दुर्लभ औषधिको रूपमा तस्करी गरिन्छ।

लाख मानिस, सय प्रहरी
जिल्ला वन कार्यालयहरूका अनुसार, यतिवेला डोल्पामा ५०–६० हजार, मुगुमा १०–१५ हजार, बझाङमा २०–२५ हजार मानिस यार्सा संकलनका नाममा हिमाली भेगमा पुगेका छन्। दार्चुलाका हिमाली क्षेत्रमा १५ हजार जति मानिस पुगेका छन्। यार्सा संकलकको आवरणमा उनीहरू हिमाली क्षेत्रमा आफूखुशी गर्न फुक्काफाल छन्।

यार्सा संकलनमा आउनेहरूको सुरक्षा, वनजंगल तथा वन्यजन्तुको चोरी–शिकारी र तस्करी रोक्न चारै जिल्ला प्रशासन कार्यालयले प्रहरी टोली खटाउने गरेको छ, तर जनशक्ति यति कम छ कि उनीहरू नियन्त्रण गर्न सक्ने अवस्थामै हुँदैनन्।

यो सिजनमा डोल्पाका सशस्त्र र नेपाल प्रहरी गरी ६० जना, मुगुका २० जना र बझाङका २५ जना प्रहरीलाई यार्सा क्षेत्रमा पठाइएको छ। “सबै ठाउँमा सुरक्षाकर्मी पुग्न सक्दैनन्”, मुगुका निमित्त वन अधिकृत बालकृष्ण जोशी भन्छन्, “घटना भइहाल्यो भने चाहिं पुग्नैपर्ने हुन्छ।”

मुगु, बझाङ र दार्चुलाका यार्सा संकलन क्षेत्र एकसरो घुम्न मात्र १०–१५ दिन लाग्छ। ती सबै क्षेत्रमा सुरक्षाकर्मी बस्न त के पुग्न पनि सक्दैनन्। डोल्पाका जिल्ला वन अधिकृत (डीएफओ) प्रेमशंकर चौधरी पर्याप्त प्रहरी र वनरक्षक नहुँदा शिकारी र तस्करहरूलाई अवसर बनिरहेको बताउँछन्। बझाङका डीएफओ रमेश चन्द भन्छन्, “लुकाउनु के छ र, यार्साको नाममा खुलेआम वन्यजन्तु विनाश भइरहेको छ।”

बझाङको कालापानीमा यार्सागुम्बा संकलन गरिंदै।

बझाङको कालापानीमा यार्सागुम्बा संकलन गरिंदै।

शिकारी र तस्करका अनेक जुक्ति
यार्साको बहानामा हिमाली क्षेत्र पुगेकाहरूले शिकार र तस्करीका अनेक जुक्ति निकाल्छन्। वन्यजन्तु हिंडेको डोब र आलो बड्कौंला हेरेर कस्तूरी, झारल, घोरल, रतुवाको शिकार गर्छन्। भाले कस्तूरीको दिसा टाढासम्म गन्हाउने हुँदा शिकारीहरूलाई पहिल्याउन सजिलो हुन्छ।

मृगलाई नून छरेर अनि चितुवा लगायतका मांसहारी जनावरलाई मासु राखेर मार्ने गरिएको वनकर्मीहरूको भनाइ छ। शिकारीहरू रक्सीमा भिजाएको जौ, गहुँ छरेर डाँफे, मुनाल लगायतका पक्षी समात्छन्। “शिकार नभेटिने भए पो गाह्रो हुन्छ”, बझाङको अन्तिम उत्तरी गाविस काडा–७ धुलीका एक युवक भन्छन्, “यहाँ त जताततै छन्, जसरी मारे पनि भयो।”

यार्सा सिजनमा पहाडी क्षेत्र, तराई र भारतबाट तस्करी गरेर ल्याएको वन्यजन्तुको आखेटोपहार हिमाल पारि पुर्‍याउने काम पनि हुन्छ। यार्सा संकलकहरूको भीडमा मिसिएर आउने तस्करहरूले बाघ, चितुवा, गैंडा, हात्ती, सालक आदिका आखेटोपहार तिब्बत पुग्ने तस्करहरूलाई थमाउँछन्।

चरी बाघको छाला बोकेर तिब्बत हिंडेका हुम्लाका केमनाइ तामाङ (२८) दार्चुलाको छाङ्गरुमा र दार्चुलाकै उदयसिंह बोहरा (६८) र सुरमीन थापा (२६) ११ असारमा जिल्लाकै तिंकर चेकपोष्टमा पक्राउ परेका थिए। उनीहरूले डडेल्धुराबाट ल्याएको छाला तिब्बतको ताक्लाकोटमा बिक्री गर्न लगेको वयान दिएका थिए।

बाघको छाला लिएर ताक्लाकोट हिंडेका मालाखेती, कैलालीका मानदेव जोशी (३७) पनि जेठ अन्तिम साता दार्चुलाकै गोकुलेश्वरमा समातिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डीएसपी नैनसिंह कार्कीले बताए।

२ असारमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ माछापुच्छ्र्रे टोलका खड्कबहादुर खड्का (३१) र पुनर्वास–१० त्रिभुवनबस्तीका रामबहादुर रोकाया (३२) लाई बाघको छाला सहित पक्राउ गर्‍यो। पुनर्वासबाटै १८ जेठमा ९ फीट लामो बाघको छाला र २१ किलो हड्डी सहित भारतीय बन्स राना (४१) समातिए। २६ वैशाखमा महाकाली पारि दोधारा चाँदनीका अर्जुन सुनार (४३) बाघको छाला सहित पक्राउ परे। उनीहरू सबैले दार्चुलाहुँदै ताक्लाकोट ताकेको प्रहरी बताउँछ।

प्रहरी र वनकर्मीहरूका अनुसार भारतबाट ल्याइने वन्यजन्तुका ओखेटोपहार बाँकेको नेपालगञ्ज, कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, दोधारा चाँदनी, डडेल्धुराको जोगबुडाको बाटोहुँदै नेपाल भित्रिन्छ। पूर्वी नेपालबाट तस्करले कैलालीको अत्तरिया, डडेल्धुरा वा कञ्चनपुरको दैजी र जोगबुडाहुँदै डडेल्धुरा पुर्‍याउँछन्। ती ठाउँबाट बैतडीको खोड्पे, बझाङको विथड वा बागथलाबाट हिमाली क्षेत्र पार गरेर ताक्लाकोट पुर्‍याइन्छ। दार्चुलाको सितोला, तिंकरहुँदै ताक्लाकोट पुग्ने अर्को बाटो पनि छ। यी सबै रुटका वन्यजन्तु तस्करहरूलाई यार्सा सिजनमा बढी सजिलो हुन्छ।

चार वर्षअघि भारतबाट ल्याइएको ३६८० किलोग्राम रक्तचन्दन ताक्लाकोट पुर्‍याउनै लाग्दा बझ्ङको सीमामा १२० जना भरिया सहित समातिएको थियो। त्यो रक्तचन्दन कञ्चनपुरमा भण्डारण गरेर कैलालीको अत्तरिया, डोटीको बुडर, डडेल्धुरा र बैतडीको खोड्पेबाट बझाङ पुर्‍याइएको थियो।

बझाङ्मा यार्सा संकलकहरु ।

बझाङ्मा यार्सा संकलक।

यो मौसममा यार्सा संकलकहरूले भन्दा बढी वन्यजन्तुको आखेटोपहार तस्कर र शिकारीहरूले कमाउँछन्। यार्सा संकलक र शिकारीहरूको भीडमा वन्यजन्तुका सुकुटी तथा ओखेटोपहारका ग्राहक पनि हुन्छन्। कतिपय शिकारी सुकुटी र ओखेटोपहार आफैं ताक्लाकोट पुर्‍याउँछन्। सबै थोकको बजार नै उता रहेको बझाङको काडा–७ धुलीका व्यवसायी टासी शेर्पाले बताए।

बझाङको नयाँ चउरमा घाममा सुकाइएको झारलको मासु।
बझाङका डीएफओ रमेश चन्द यार्सा सिजनमा सरकारले सुरक्षाकर्मीको विशेष टोली नखटाउने हो भने केही वर्षमै हिमाली क्षेत्र वन्यजन्तुविहीन हुने बताउँछन्। यस क्षेत्रमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनकर्मीको विशेष टोली बनाएर कम्तीमा चार महीना यार्सा क्षेत्रमा खटाउनुपर्ने उनले बताए।

jharal

बझाङको नयाँ चउरमा घाममा सुकाइएको झारलको मासु।

प्रतिवेदनमा चोरी–शिकारको वृत्तान्त
दार्चुला, बझाङ, मुगु र डोल्पाका वन कार्यालयहरूले जिल्लामा हुने वन्यजन्तु चोरी–शिकार तथा अवैध ओसार–पसार बारेको प्रतिवेदन गएको वैशाखमा वन मन्त्रालयमा बुझाएका छन्। हिमाल लाई प्राप्त ‘अति गोप्य’ लेखिएको उक्त प्रतिवेदनमा वन्यजन्तु शिकार र तस्करीको वृत्तान्त छ।

चार जिल्लामध्ये बझाङमा यार्सागुम्बा पाइने काडा, दौलीचौर, सुर्मा, दहबगर, कफलसेरी, लेकगाउँ, धमेना र सुनिकोटमा संरक्षित वन्यजन्तु, पक्षी र सरीसृपको चोरी शिकार अत्यधिक देखिएको प्रतिवेदनमा उल्लेख छ। ‘स्थानीयले मात्रै थाहा पाउने गोप्य चोरी गर्ने बाटाका कारण तस्करलाई रोकथाम गर्न गाह्रो पर्ने र मुख्य नाकाहरूमा राज्यको उपस्थिति पनि नरहेको अवस्थामा तस्करको मनोमानी छ’– प्रतिवेदन भन्छ।

प्रतिवेदनले वन्यजन्तुको अवैध व्यापार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को सूचीमा रहेका वन्यजन्तु र पक्षीको समेत शिकार तथा तस्करी भइरहेकोमा चिन्ता व्यक्त गरेको छ।

जडीबुटी लगायतका वनस्पति विनाश र तस्करीको कथा वेग्लै छ। संकलन, बिक्री–वितरण, निकासी र निर्यातमा प्रतिबन्ध लगाइएका पाँचऔंले, कुट्की लगायतको अवैध व्यापार भइरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले नेपाली जडीबुटी र वन्यजन्तु संरक्षणमा ताक्लाकोट तस्करी गम्भीर समस्या बनेकोले तत्काल नियन्त्रणको पहल थाल्नुपर्ने बताएको छ।

प्रतिवेदनले जिल्लाहरूका कुख्यात शिकारी र तस्करको परिचय, कर्तुत, सञ्जाल र उनीहरूको रुट समेत खुलाएको छ। यही प्रतिवेदनको आधारमा कारबाही थाल्दा पनि संरक्षणको क्षेत्रमा ठूलै काम हुनेछ, तर, त्यसका लागि टाउको (वन मन्त्रालय) नै जाग्नुपर्छ।

yarsagumba_2हिमाली कीराको अर्थशास्त्र

यार्सागुम्बा टिप्न २८ जेठमा कालापानी आइपुगेको तेलविसौना–४, बझाङका मानबहादुर सिंहको टोलीमा ९ जना थिए। दुई महीना दुःख गर्दा पूरै वर्षको जोहो हुने भएकोले सिजनमा यता आउने गरेको मानबहादुरले बताए।

शक्तिवर्द्धक जडीबुटी यार्सागुम्बाका लागि दार्चुला, बझाङ, डोल्पा र मुगु ‘पकेट एरिया’ मानिन्छ, जहाँ अहिले करीब एकलाख मानिस यार्सा टिपिरहेका छन्। भारत, भूटान लगायतका देशमा संकलन र व्यापार प्रतिबन्ध भएको यार्सा नेपालमा २०५८ सालदेखि खुला गरिएको हो।

मुगुका निमित्त जिल्ला वन अधिकृत बालकृष्ण जोशीले गत वर्ष बिक्रीका लागि प्रति व्यापारी २२ किलोको छूट पुर्जी जारी गरिएकोमा यो वर्ष २३ किलोको अनुमति दिइएको बताए। संकलन भइरहेको केही क्षेत्रको अनुगमन गरेर झ्रेका बझाङका सहायक जिल्ला वन अधिकृत कर्णबहादुर खातीले हिउँ पग्लिरहेको र बाक्लै यार्सा पाइरहेको बताए। दार्चुलामा भने असार तेस्रो साता मात्र यार्सा संकलन खुला गर्ने तयारी छ।

गत वर्ष दार्चुला, बझाङ, डोल्पा र मुगु जिल्लाले कुल १ हजार ९७७ किलो यार्सा बिक्रीका लागि अनुमति दिएका थिए, जुन प्रतिकिलो रु.२४ लाखका दरले बिक्री भएको थियो। यसबाट प्रतिकिलो रु.१० हजारका दरले रु.१ करोड ९७ लाख ७० हजार राजश्व संकलन भएको थियो। यसरी कम्तीमा रु.४ अर्ब ७४ करोड ४८ लाखको वैध यार्सा निर्यात भएको थियो।

सबै यार्सा व्यापारीले पुर्जी लिंदैनन्र राजश्व तिरेर कारोबार गरिनेभन्दा दोब्बर यार्सा तिब्बत पुग्छ। डोल्पा, दार्चुला र बझाङका पूर्व डीएफओ भइसकेका राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका वन अधिकृत सुजितकुमार झा चोरबाटोबाट जाने यार्साको तथ्यांक कसैसँग नहुने बताउँछन्। भनेपछि, कारोबारीमाथि कारबाही हुने कुरै भएन।

“यार्सागुम्बाको अव्यवस्थित कारोबारले धेरैलाई सम्पन्न तुल्याएको छ”, झा भन्छन्, “नीति बनाएर लागू गरे यो ‘हिमाली कीरा’ले देशलाई नै फाइदा दिनेछ।”

graphचाहियो ‘यार्सा नीति’
‘हिमाली भियग्रा’ समेत भनिने यार्साको आकर्षण जति छ, त्यसको खोजी उत्तिकै कठिन। मानिसहरू ज्यान जोखिममा राखेर यार्सा टिप्छन्। उच्च क्षेत्रमा दिनभरि कुइनो र घुँडा टेकेर यार्सा खोज्नेहरू टाउको दुख्ने, वान्ता हुने, हातखुट्टा सुन्निने, झाडापखाला लगायतका समस्यामा पर्छन्। तीमध्ये कतिलाई छाला र हड्डीको रोग लाग्ने यार्सा संकलक मानबहादुर सिंह बताउँछन्

बझाङमा यार्सा टिप्न गाविसले गाविसवासीलाई प्रतिव्यक्ति रु.३००, जिल्लावासीलाई रु.५०० र बाहिरी जिल्लाकालाई रु.१ हजार प्रवेश शुल्क उठाउने गरेको छ।

दार्चुला, डोल्पा र मुगुमा पनि यही हाराहारीको शुल्क छ, तर शुल्क लिनेले संकलकहरूका लागि स्वास्थ्य टोलीको व्यवस्था गरेको छैन। बझाङका डीएफओ रमेश चन्द भने त्यो राजश्वको ७५ प्रतिशत रकम हिमाली क्षेत्रका बासिन्दासम्म पुगेको बताउँछन्।

“कतिपयले कोदालाले खनेर यार्साको उत्पादन प्रणालीमै असर पारेका छन्”, उनी भन्छन्, “संकलन, भण्डारण र कारोबार सम्बन्धी यार्सा नीति अत्यावश्यक भइसकेको छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>