समाचारबिहीबार, आषाढ ३१, २०७२
मदनभण्डारीको नाममा रंगशाला निर्माण गर्ने सहमति
आफ्ना केही मागहरु सम्बोधन नभएको भन्दै बजेटको विरोध गरेको एमाले र नेपाली कांग्रेसबीच सहमति भएपछि व्यवस्थापिका संसदको बैठक शुरु भएको छ ।
कांग्रेस र एमालेबीच मदन भण्डारीको नाममा झापामा रंगशाला निर्माण गर्ने, मध्य पहाडी लोकमार्गको नाम पुष्पलाल लोकमार्ग राख्ने र एमालेले शुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाउँ कार्यक्रम’लाई ‘ग्रामिण स्वावलम्बन’ कार्यक्रममा समावेश गर्ने सहमति भएको छ ।
यसअघि बजेटमा आफ्ना मागहरु सम्बोधन नभएको भन्दै एमालेले विरोध गरेपछि आजको व्यवस्थापिका संसदको बैठक शुरु हुन सकेको थिएन ।
अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका संसदको बैठकमा पेश गरेको आव २०७२–०७३ को बजेट वक्तव्यमा एमाले नेता स्व. मदन भण्डारी र कांग्रेस नेता स्व. हरिबहादुर खड्काको नाममा ट्रमा सेन्टर बनाउने उल्लेख गरेर भण्डारी र खड्कालाई एउटै श्रेणीमा राखेको भन्दै विरोध गरेको थियो ।
त्यसैगरी मध्यपहाडी लोकमार्ग लाई पुष्पलाल लोकमार्ग र समाजिक सुरक्षा भत्तामा मनमोहन अधिकारीको नाम जोड्नु पर्ने पनि एमालेको माग थियो ।