समाचारशुक्रबार, साउन १, २०७२
दाउन्ने दुर्घटना: मृतकमध्ये ५ जनाको सनाखत
पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दाउन्ने उकालोमा १ साउन बिहान नारायणगढबाट दाङतर्फ गइरहेको बस र भारतीय ट्रक एक आपसमा ठक्कर खाँदा नौ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा दाङ विजौरी–२ का ३२ वर्षीय जिवन खड्का, दाङ घोराही –२ का ४५ वर्षीय गोविन्द वस्नेत, नवलपरासी कावासोती–८ की २३ वर्षीय सुमित्रा लामा, लामाकी ७ महिनाकी छोरी अंशु, नवलपरासी वर्दघाट –६ की ५० वर्षीया माईली लामा छन् । अन्य चार जनाको अझै सनाखत हुन सकेको छैन ।
उकालो चढ्दै गरेको बस र ओरालो झर्दै गरेको ‘लोडेड’ ट्रक एक आपसमा जुध्दा बसमा सवार यात्रुको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी नलप्रसाद उपाध्यायले ओह्रालो झरिरहेको ट्रक अनियन्त्रित भई बसमा ठोक्किएको बताए । “ट्रकमा ब्रेक फेल भएर वा अन्य कारणले नियन्त्रण गुमेको देखिन्छ,” उनले भने । ट्रकले लेन समेत मिचेर बस भएको तर्फ हुत्तिएको देखिन्छ ।
नारायणघाटबाट दाङ तर्फ जाँदै गरेकोे ना ४ ख ५१४३ नम्बरको बसलाई विपरित दिशातर्फ गुडिरहेको सिमेन्ट फ्याक्ट्रीको कच्चा पदार्थ बोकेको युपी ३२ डिएन ०८५४ नम्बरको भारतीय ट्रकले ठक्कर दिंदा घटना स्थलमा ६ जनाको र उपचारका लागि चितवनतर्फ लैजाँदै गर्दा दुई जनाको मत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी दाङ घोराही नगरपालिका–५ बस्ने २७ वर्षीय शरण नरेश नेपाली, दाङ बिजौरी– ३ का सुभाष नेपाली, कावासोती –२ की सुस्मिता ढकाल, रुपन्देही हात्तिफर्साटिक–८ का ३० वर्षीय गोपाल रेग्मी, गोर्खा घ्यालचोकका २७ वर्षीय विनोद अधिकारी, चितवन भउनपा– २ का ४५ वर्षीय, एकबहादुर खत्री र ट्रक चालक भारत उत्तरप्रदेश देवरीयाका ५१ वर्षीय ब्यास शर्मा रहेको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी