ब्लगशनिबार, साउन २, २०७२
मजलिसको आँखा– १७ जगन्नाथ मन्दिर
आज हामी रणबहादुर शाहले निर्माण गराएको टुँडिखेल छेउको जगन्नाथ मन्दिरको स्थापत्यको परिचर्चा गरौं।
यो स्तम्भमा हामीले हाम्रा ‘दृश्य सम्पदा’ का कुरा गर्दा वि.सं. १९७०–८० को दशकमा ती अंग्रेज फोटोग्राफरले देखेर तस्वीर खिचेका र उक्त ‘याल्बम’ मा समावेश गरिएका मध्ये केही हराएका, विलुप्त या रूपान्तरित भएका भवन तथा वस्तुहरूको चर्चा गर्यौं। त्यसै याल्बममा सञ्चित केही फोटो या ‘दृश्य सम्पदा’ ऐलेसम्म (अर्थात् २०७१ सालसम्म पनि) हाम्रा अगाडि जस्ताका तस्तै रूपमा मौजूद रहेछन्।
त्यसरी अपरिवर्तित अवस्थामा रहेका मध्ये तीनै शहरका दरबार क्षेत्र पनि देखिंदा रहेछन् (गत १२ वैशाखको महाभूकम्पले तिनमा निकै क्षति गरिदियो, त्यो पछिको कुरा)। काठमाण्डूको तलेजु मन्दिर परिसर, पाटनको मङ्गलबजार क्षेत्र या भक्तपुरको सुनढोका वरिपरिका परिदृश्य त्यस याल्बममा भएका छविभन्दा धेरै फरक देखिंदैनन्।
तर, आज हामी ती क्षेत्रको होइन, एउटा छुट्टै स्थापत्यको अलिकति परिचर्चा गर्छौं, रणबहादुर शाहले निर्माण गराएको टुँडिखेल छेउको जगन्नाथ मन्दिरको। त्यसको पैले र ऐलेको फोटोमा विशेष अन्तर फेला पर्दैनन्। (हे.तस्वीर)
जगन्नाथ मन्दिरको चर्चा गर्दा रणबहादुर शाहको ‘सुधार’ को कुरा गर्नु परिहाल्छ। पहिलो कुरा त नेपालको जातपात र त्यसमा पनि ‘छुवाछूत’ को तथा ‘भात र पानी’ का भेदभावको उनी अन्त्य गराउन चाहन्थे भन्ने कुरा तथ्य हो? भन्ने नै हो। ‘हो’ भन्नका लागि प्रमाणका रूपमा यही जगन्नाथ मन्दिरलाई अघि सारिन्छ।
स्वामीमहाराज भएका ती ‘महाराजाधिराज’ रणबहादुर शाह ‘बौलाएका’ थिए कि थिएनन् इतिहासले यस्सै हो भनिदिएको छैन, तर उनी ‘सन्की’ थिए भन्ने चाहिं देखिन्छ! उनी शास्त्रले नदिएको विधवा विवाह अनि नीतिले नदिएको बालबालिकालाई निर्वासित गर्थे। स्वयम्भूकी अजिमा र पशुपति परिवारकी गुह्येश्वरीदेवीको हुर्मत लिन तम्सिन्थे। तर उनले केही सुधारको कदम समेत चालेका रहेछन्।
त्यसको एउटा उदाहरण त यही जगन्नाथ मन्दिर हो। हिन्दू धर्ममा मौलाएको जातपातको प्रचलन, त्यसमा पनि ‘छोइछिटो हाल्नुपर्ने जात’ र भातभान्छा नचल्ने प्रथाका उनी विरोधी रहेछन्। त्यस प्रथाको अन्त्य गर्ने प्रयास स्वरूप नै उनले त्यो जगन्नाथ मन्दिर स्थापना गराएका हुन् भनिन्छ।
रणबहादुर शाहले बुझेका थिए, भारतको पूर्वी समुद्री तट, पुरी जगन्नाथ क्षेत्रमा त्यस कुप्रथाको अन्त्य भएको थियो। जगन्नाथजीको प्रसाद भनेर त्यहाँ दालभात जे पनि जुन जातले छोएको पनि सबैमा चल्थ्यो। नेपालकै बाहुनबाजेहरू समेत त्यहाँ पुगेका वेला त्यहाँको ‘महाप्रसाद’ बेरोकटोक खान्थे र उनीहरूले ल्याएको सुकिसकेको त्यो दालभात प्रसाद मान्छेहरू यहाँ श्रद्धाका साथ ग्रहण गर्थे।
त्यसैगरी जातभात प्रथा अन्त्य गर्ने भनेरै उनले यहाँ त्यो जगन्नाथ मन्दिर निर्माण गरेका थिए रे! तर रणबहादुरको त्यो सदासय काम लागेन। देशलाई उनले खोजेको कुरो दिन सकेनन्। किनभने, त्यसको लगत्तै उनको हत्या भैहाल्यो र उनले त्यस योजनालाई लागू गराउन पाएनन्।
अब, यी ‘भनिन्छ’ र सुनेका कुरालाई छाडेर प्रमाणित कुरातिर जाऊँ। रणबहादुरको यो जगन्नाथ मन्दिरमा कुनै शिलालेख राखेको देखिंदैन भन्छन् डा. जगदीशचन्द्र रेग्मी आफ्नो बृहत्ग्रन्थ ‘शाहकालीन कला र वास्तुकला’ मा।
प्राज्ञ दिनेशराज पन्तजी र म गत जेठमा राम्ररी हेरौं भनेर त्यो मन्दिरमा पुगेका थियौं। मन्दिर परिसरमा यताउता घुम्दा हामीले त्यहाँ प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलका समयमा प्रहरीले स्थापना गरेको एउटा घन्ट बाहेक अरू कुनै किमिमका अभिलेख देखेनौं। त्यहाँ शिलापत्र इत्यादि क्यै नराखिएकै हुन् कि ती पछि हटाइएका, टुटेफुटेका अथवा चोरिएका हुन् यसै भन्न सकिएन।
डा. रेग्मीको अनुसन्धानले चाहिं भन्छ– ‘रणबहादुर शाहले यो जगन्नाथ मन्दिरलाई देशको सबभन्दा अग्लो बनाउन लगाएका थिए, १२५ हातको। तर १८९० सालको भूकम्पमा त्यो भत्कियो अनि भीमसेन थापाले जीर्णोद्धार गराउँदा यसलाई अलि होचो पार्न लगाए।’
त्यसै रूपमा छ यो ऐलेसम्म। अब, हामी अनुमान लगाऊँ– त्यत्रो महत्वाकांक्षा राखेर ‘भैरवीचक्र’ समेत स्थापना गरी देशबाट जातपातको विभेद निर्मूल गराउने भनी लागेका सर्वशक्तिमान् राजाले त्यस्तो कुरो ठूलै शिलापत्र राखी प्रसार गर्न चाहेनन् होला? शिलापत्र त्यहाँ अवश्यै थियो होला र त्यही ठूलो भैंचालाले त्यसलाई नष्ट पारुर्यो होला।
पछि कतिपय कारणले नयाँ शिलापत्र अलपत्र परुर्यो कि? त्यो जे भए पनि, डा. रेग्मीले यस विषयमा उठाएको एउटा शङ्का जायज लाग्छ। महाराजाधिराज रणबहादुर शाहले निर्माण गरेका जेको पनि; श्वेत भैरव होस् कि ठूलो घन्टको होस्, सबैको त्यति प्रशंसा गरिएको ‘त्रिरत्नसौन्दर्यगाथा’ मा कवि सुन्दरानन्दले यस्तो महत्वपूर्ण जगन्नाथ मन्दिरको चाहिं किन उल्लेख गरेनन्? उत्तर खोज्ने काम हाम्रा इतिहासकारहरूको हो।
अब टुंग्याऊँ यो प्रकरण। ती अंग्रेज फोटोग्राफरले १९७५ सालतिर खिचेका फोटोहरूको चर्चित त्यो याल्बममा यो जगन्नाथ मन्दिरको बाहिरी रूप जस्तो थियो ऐले वैशाख १२ पछि पनि उस्तै छ। तर अस्ति दिनेशजी र मैले हेर्न जाँदा त्यहाँ मन्दिरको तल्लो तलामा निकै चिरिएको र प्लास्टरहरू समेत झ्रेको देख्यौं।
प्रहरी प्रशासनले भित्तालाई काठको टेको लगाएर अड्याएको पनि देखियो। अब आशा गरौं त्यसै प्रशासनले यसको ‘रेट्रोफिटिङ’ समेत गराएर यो सम्पदा जोगाउला कि!