थप समाचारशनिबार, साउन २, २०७२
धरहराको धोको
सुन्धारामा ‘फुच्चे धरहरा’ बनाएका राजकुमार लामाको भित्री इच्छा चाहिं ढलेको धरहरा बनाउने छ।

लो एङ्गलबाट खिचिएको यो धरहराको उँचाइ ८ फीट छ । तस्वीर: देवकी बिष्ट
१२ वैशाखको महाभूकम्पले काठमाडौं, सुन्धारास्थित धरहरा ढल्यो। त्यसो त १९९० सालको भूकम्पमा पनि धरहरा नढलेको कहाँ हो र? तर, जसै विपत् सकियो, धरहरा फेरि जर्याकजुरुक उठ्यो। मानौं, कहिल्यै ढलेकै थिएन
धरहराको अर्थ भित्रैबाट सिढी मार्फत टुप्पासम्म जान सकिने अग्लो स्तम्भ हो। आम नेपालीमा धरहराको बिम्ब त्यसैगरी गडेको छ। त्यसैले यो उठ्नैपर्छ, ठडिनैपर्छ।r
ढलेको धरहराले धेरै नेपालीको मन दुखाइरहेका वेला अहिले सुन्धारामै अर्को ‘धरहरा’ उभिएको छ। सिन्धुपाल्चोक, मेलम्चीका राजकुमार लामा (३१) ले ट्राफिक प्रहरी उभिने ठाउँ नजिकैको खाली भागमा ८ फीट अग्लो धरहरा बनाएका हुन्। भत्किएको धरहरा पुनःनिर्माण नभइसकेको वेला यही धरहरामा उभिएर चित्त बुझ्ााउनेहरू पनि छन्।
यसको परिकल्पनाकार भने नेपाल ओभरसिज टे्रडिङ कन्सर्नका अमर श्रेष्ठ हुन्। श्रेष्ठले नारायणथानका लामालाई यसको जिम्मा दिए। लामाले महानगरपालिका र ट्राफिक प्रहरीलाई डिजाइन देखाए र काम थाले।
करीब रु.१ लाख ५० हजारमा सकिएको यो धरहरा बनाउन लामालाई झन्डै एक महीना लाग्यो। बनाउँदादेखि नै मानिसहरूको चासोले आफू हौसिएको उनी बताउँछन्। उनी भन्छन्, “राम्रै नै बनाएछु जस्तो छ, विदेशका साथीहरूले ‘दुरुस्तै पो देखिन्छ त हो’ भन्दै बधाइ दिए।” धरहराको सबै खर्च श्रेष्ठले नै बेहोरेका थिए। यो फुच्चे धरहरा वरिपरि उनले सानो बगैंचा पनि बनाएका छन्। रत्नपार्क, जमल, दरबारमार्ग र राष्ट्रिय सभागृहको बगैंचा पनि लामाले नै बनाएका हुन्।
सानैमा आमा गुमाएका लामा काकासँग रु.५० मागेर २०४८ सालमा काठमाडौं आएका थिए। शुरुमा टोखास्थित नेवार परिवारसँग बसेका उनले सोही परिवारको खानदानी पेशा, मूर्तिकलाबारे ज्ञान पाए। सात वर्षको उमेरदेखि नै देवी–देवताका मूर्ति बनाउन थाले। अहिले उनी घर, मूर्ति, गुम्बा, बगैंचा जे पनि बनाउँछन्। “इन्जिनियरले पनि मेरो डिजाइनको प्रशंसा गर्छन्”, उनको दाबी छ।
सीपसँगै पढाइ भए आफू यो पेशामा अब्बल बन्ने लामाको भनाइ छ। “अलिकति मात्रै पनि पढेको भए म अर्कै हुनेथिएँ”, उनी भन्छन्। ६ जनाको परिवारको जोहो गर्न उनी दुई वर्ष कुवेत पनि गए। र, तीन वर्षअघि फर्किए।
उनी अब भने यही पेशाबाटै गुजारा चलाउने विश्वास बढेको बताउँछन्। “फुच्चे धरहरा बनाएपछि धेरैले खोज्न थालेका छन्”, उनको आग्रह छ, “ठूलो धरहरा बनाउँदा मलाई पनि सहभागी गराइयोस्।”
सजना बराल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
