खेलकुदशनिबार, साउन २, २०७२
मानवतावादी भावुक फिल्म ‘बजरंगी भाईजान’
‘बजरंगी भाईजान’ सीमापार प्रेमको क्रसओभर फिल्म हो ।
फिल्ममा धेरै ‘मेलोड्रामा’ छ, धेरै कुराहरु पत्याउन गाह्रो हुन्छ, अधिकांश गीतहरु गम्भीर कथामा नसुहाउने खालका छन् । यि सबै हुँदाहुँदै पनि फिल्मलाई चलाखीपूर्ण तरिकाले सजाइएको छ । केही मानवीय स्पर्श छ, एउटा दृष्टिकोण छ, एउटा आवाज छ ।
अघिल्ला फिल्महरुमा सुपरम्यान वा सुपरहिरो जस्तै ‘सल–म्यान’ देखिने सलमान खान यो फिल्ममा सामान्य मान्छे छन् । त्यसैले फिल्म सलमान खानका अन्धभक्त बाहेकका लाई पनि मन पर्ने छ ।
सलमान असली जिन्दगीमा आधा मुसलमान, आधा हिन्दू हुन् र उनकी सौतेनी आमा ईसाई हुन् । उनी आफैं एउटा सानो तिनो ‘धर्म’ बनिसकेका छन् ।
आफ्नो फिल्मी करिअरको शुरुआत ताका सलमानले गरेका ‘स्वीट रोल’ जस्तै छ यो फिल्ममा उनको भूमिका । ‘गर्व’, ‘तेरे नाम’, ‘वान्टेड’, ‘रेडी’ मा जस्तो उनी ‘भाइ’ बनेका छैनन् ‘बजरंगी भाइजान’ मा ।
पवन चतुर्वेदी (सलमान) शान्तिप्रिय मान्छे हो, उसलाई मासुदेखि घृणा छ, ऊ ब्राह्मण हो र हनुमानको परमभक्त हो ।
पारिवारिक साथीसँग बस्ने पवन चतुर्वेदी उसकै छोरी (करिना कपुर) सँग विहे गर्न चाहन्छ । ऊ राजनीतिक र महत्वाकांक्षी देखिंदैन ।
न त यो रोमान्टिक फिल्म हो न त छिमेकको गुण्डा करिनालाई सताउन आइपुग्छ ।
वास्तवमा यो फिल्म सलमानमाथि केन्द्रित पनि छैन । यो उनको ‘मिशन’ मा केन्द्रित छ । फिल्ममा नवाजुद्दीन सिद्दीकी र सानी बालिका हर्षालीले तपाइँलाई स्तब्ध बनाउने छन् ।
फिल्मको कथा सरल छ । पवन चतुर्वेदीले एउटी बालिका भेट्टाउँछ जो पाकिस्तानी हो र बोल्न सक्दैन ।
यो बालिकालाई सीमापार रहेका आमा–बाबुकहाँ पुर्याउनु पवनको ‘मिशन’ बन्छ । नवाज एउटा भिडियो भाइरल भएको पाकिस्तानी रिपोर्टरको भूमिकामा छन्– जसले सलमानलाई सहयोग गर्छ ।
फिल्म ‘गदर’ भन्दा ठिक उल्टो कहानी छ यसमा । भारत र पाकिस्तानबीचको कथा जहाँ सीमामा काँडेतार लगाइएको छ, सेना छ र सर्वसाधारण पनि । पूर्वाग्रह छ तर कोही खलनायक छैन ।
फिल्मले धेरै जसो मानिसभित्र रहेको असलपनाको कुरा गर्छ ।
हिरोलाई भारत र पाकिस्तानमा बराबर मनपराइन्छ । यो मानवतावादी र भावुक फिल्मलाई पनि त्यसै गरी मनपराइने छ ।
बीबीसीबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
