थप समाचारबुधबार, साउन ६, २०७२
यौन दुर्व्यवहार गर्ने ससुराविरुद्ध उजुरी गरेपछि विचल्ली
यौन दुर्व्यवहार गर्ने ससुराविरुद्ध उजुरी गरेपछि पर्साकी एक महिलाको विचल्ली भएको छ ।
पर्साको निर्मलवस्ती–५ स्याउलीवस्तीकी २४ वर्षीया कवितालाई सासुले घरबाट निकालेपछि उनको विचल्ली भएको हो । अहिले उनी चार वर्षीया छोरीसहित महिला अधिकारकर्मीको संरक्षणमा बस्दै आएकी छन् ।
दुर्व्यवहार गर्ने ससुरा पदमबहादुर स्याङ्तान (५०) लाई प्रहरीले पक्राउ गरेपछि सासुले कवितालाई घरबाट निकालिदिएकी हुन् ।
कविताका पति विनोद रोजगारीका क्रममा डेढ वर्षदेखि मलेसियामा छन् । छोरा घरमा नभएकाबेला ससुरा पदमले २४ वर्षीया बुहारीलाई पटक पटक यौन दुव्र्यबहार गरेको आरोप लागेको छ ।
एक हप्ताअघि सासु कुमारी स्याङतान र अमाजु सन्तु रम्बा मिलेर कुटपिट गर्दै उनलाई घरबाट निकालेको पीडित कविताले बताइन् ।
घरबाट निकालिएपछि कविता चार वर्षीया छोरीसँगै महिला पारालिगल कमिटीकी अध्यक्ष गोमा उपध्यायको वीरगञ्जस्थित डेरामा बस्दै आएकी छिन् ।
“असार १५ गतेपछि दुई पटक उनी आफ्नो घर गइन्, तर सासु र अमाजुले कुटपिट गरेर फर्कईदिए,” पारालीगल कमिटीकी अध्यक्ष उपध्यायले बताईन् । उनलाई घरमा पुनस्र्थापित गराउनका लागि कसैले चासो नदिएको उपाध्यायले बताइन् ।
पदमबहादुर स्याङतान १४ असारदेखि थुनामा छन् । ससुरा पदमले २०७० मंसीरदेखि चार पटकसम्म जबर्जस्ती गरेको कविताले बताएकी छन् ।
उनका अनुसार २०७० मंसीरमा पति विनोद र सासु बाहिर रहेका बेला पहिलो पटक ससुरा पदमले पहिलो पटक यौन दुव्र्यहवार गरेका थिए । राति सुतेका बेला ससुराले जबरजस्तीको प्रयास गरेको उनले पतिलाई पनि बताएकी थिइन् । तर, सामाजिक बेइज्जतीको डरले पतिकै सल्लाहमा उनले घटना बाहिर ल्याइनन् ।
त्यसपछि २०७० सालकै फागुनमा पदमले दोस्रो पटक बुहारीसँग जबरजस्ती गर्न खोजे । त्यसबेला कविताले होहल्ला गर्न थालेपछि उनी भागे । तर दोस्रोपटक छिमेकले थाहा पाए पनि गाउँघरमै उक्त घटना सामसुम पारिएको कविता बताउँछिन् ।
त्यसपछि गत २८ जेठ राति कोठामा सुतेका बेला ससुरा पदम नाङगै पसेर जबरजस्तीको प्रयास गरेको उनले बताइन् ।
कवितका अनुसार २८ जेठमा सासु नातिनीको पास्नीमा सिमरा गएकी थिइन् । कान्छा देवर र सुसुरा घरको पालीमा सुतेका थिए । उनी आफ्नै कोठाको चुकुल नभएको ढोकामा भित्रबाट डोरी बाँधेर सुतेकी थिइन् ।
तर, देवर निदाइ सकेपछि ससुरा पदमले ढोकामा बाँधिएको डोरी काटेर भित्र पसी अचानक आक्रमण गरे । कविताले छिमेकी गुहारिन् । यसपटक भने प्रहरी चौकीसम्म कुरा पुग्यो ।
घटनाको तीन दिन पछि ३१ जेठमा गाँउमै रहेको प्रहरी चौकीमा आयोजना गरेको सुनुवाईमा पदमले जबरजस्तीको प्रयास गरेको स्वीकारे पनि गाँउ समाजका अगुवाहरुले अब आइन्दा गल्ती नगर्न चेतावनी दिदै घटनालाई सामसुम पारे ।
उनले मादक पदार्थ सेवन गरेकाले त्यस्तो गल्ती भएको भन्दै उन्मुक्तिका लागि याचना गरे । गाँउ समाजको इज्जत जाने डरले घटनालाई गाँउमै मिलाइएको स्थानीय अमर निर्दोष बताउँछन् ।
पटकपटकको अपराधपछि पनि सजाय नपाएर हौसिएका पदमले १३ असार राति फेरि खुकुरी बोकेर बुहारी सुतेको कोठामा पसेर जबरजस्ती गर्न थालेपछि कविताले होहल्ला गरिन् । गाउँले जम्मा भएर पदमलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा बुझाए ।
प्रहरी चौकी ओडारले एक रात थुनामा राखेर जेठ १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि उनी २० दिन देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले पदम विरुद्ध सरकारी वकील कार्यालय मार्फत जर्बजस्ती करणी उद्योगकोे मुद्दा दर्ता गर्ने तैयारी गरिरहेको प्रहरी निरीक्षक जिवालाल चुडालीले जानकारीदिए । उनले भने, “घटनाबारे अनुसन्धान भैरहेको छ , बुधबार सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा पेश गर्ने तयारीमा छौं ।”
सुरेश बिडारी, वीरगञ्ज