थप समाचारबिहीबार, साउन ७, २०७२
इराक लगिदै गरेका चार महिलासहित पाँचको उद्धार
काठमाडौंबाट दिल्ली हुँदै इराक लगिंदै गरेका चार महिला सहित पाँच जनालाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको छ ।
माइती नेपाल, कञ्चनपुरको टोलीले ७ साउनमा काठमाडौं–दिल्ली बसबाट पाँच जनाको उद्धार गरेको हो ।
“शंका लागेर एक जनालाई रोकेका थियौं । उनले दिल्ली जाँदैछु भनेर दिएको साथीको नम्बर फोन गर्दा अरु चार जना पनि छन, उनीहरुलाई सँगै बोर्डर कटाउनु भन्यो,’’ माइती नेपाल संयोजक महेश्वरी भट्टले भनिन् ।
त्यसपछि बसमा रहेका एक युवक सहित थप तीन जना महिलालाई माइती नेपालले सीमा नाका पार गर्नै लाग्दा उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा सिन्धुप्लाञ्चोकको मार्मिङ–५ की पाल्साङ्यु तामाङ (३७), भोटेनाम्लाङ–५ की निमा शेर्पा (३८), राम्चे–३ की सविता तामाङ (३२), खोटाङको माक्पा–६ की उमा राई (४१) सँगै जयराम राई (१८) छन् ।
मञ्जुश्री यातायात सेवा समितिको ना. ३ ख. २२५५ नम्बरको बसमा आएका पाँचै जनाको टिकटमा नाम उल्लेख गरिएको छैन । बस नम्बर समेत नलेखिएको टिकटमा आएका उनीहरु हिमाञ्चल जानका लागि आएको बताउँछन् । उनीहरु सबै यस अघि हिमाञ्चल गएका कोही पनि छैनन ।
भूकम्प आएपछि पश्चिमी नाकाबाट दिल्ली जाने भन्दै इराक, इरान, काजकिस्तान लगिदै गरेका ६६ जनाको उद्धार गरिएको माइती नेपाल, कञ्चनपुरले जनाएको छ ।
यस अघि उद्धार गरिएका सबैलाई आफन्तको जिम्मा लगाएको बताउदै भट्टले उनीहरुलाई पनि आफन्तको जिम्मा लगाइने जानकारी दिइन ।
बच्चु विक, महेन्द्रनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
