ब्लगशनिबार, साउन ९, २०७२
लिसो संस्कृति
नयाँ संविधानमा लिसो संस्कृति धूलिसात् पार्ने चाँजो मिलाई हामीलाई यो चोट्टेबाट बचाऊ, प्रभो!
बेलाइत भन्ने देशका लागि रगत बगाउने एक जमानामा शूरवीर लाहुरे हामी यो वेला अरबभूमिमा रगत सुकाउने मुगलाने ख्यातिमा छौं। समयको प्रवाहसँगै मान्छेलाई चिनाउने प्रतीक, बिम्ब एवं आधार स्थापित, विस्थापित र अन्तरघुलित हुँदै जाँदा नयाँ बन्दै जाँदोरहेछ। ‘लिसो’ नेपाली समाजको वर्तमान संस्कृति हो। तपाईंलाई ठिमाहा भाषा मनपर्छ भने यसलाई ‘चिप्कु’ पनि भन्न सक्नुहुन्छ।
एकबाजी कुनै पद वा पगरी पड्काउना साथ त्यसमा लिसो लाग्ने प्रवृत्तिलाई हामीले औधी मन परायौं। एक कार्यकाल कुण्डली मार्न पाए, अर्को कार्यकाल अनुभवको आधारमा पोल्ट्याउने अनि यसरी पटके पाए महानुभवी जिम्मुवालमा दरिन पाउनुपर्ने जिरह नयाँ नेपालमा खुबै सुनिन्छ। यसलाई लिसो संस्कृति फस्टाएको ठोस प्रमाण भन्नुस्।
के गर्नू, यो दिल भन्ने जिनिस फिटिक्कै मान्दैन। जतिपल्ट गजधम्मिंदा पनि रहर नमरे’सि त्यो कुर्सी र यो दिल ‘एक दुजेके लिए’ हुँदोरहेछ। त्यही घुमाउनेले भाउन्न पार्दै लैजाँदा नारायणहिटीको श्रीपेच पनि आफ्नै खप्परमा सिउरिएको तर्कना आउँदोरहेछ। नत्र, हाम्रो राजनीतिले बाउन्न घुस्सामाथि त्रिपन्न लात सहनुपर्ने थिएन!
अन्तर्राष्ट्रिय योग दिवसमा भने एक जना अवकाशोन्मुख कर्मचारीले अलि फरक नखरा देखाए, आफ्नै कार्यालयमा। योग दिवसको अवसरमा टुँडिखेल आएका राजनीतिक गोलमटोल महाराजहरूले फर्सी डान्स प्रतीत हुने सकसपूर्ण पुल्टुङबाजी सम्पन्न गरे।
एकाध घन्टाको पुल्टुङबाजीले कुण्डलिनी चक्र जागृत नहुने र लिसो बनेर भोगासनमा निर्लिप्त हुँदा आर्जन भएको घ्याम्पे भुँडीले प्राण र अपान वायुबीचको पौंठाजोरीबाट सृजित जत्रै कम्पन पनि थेग्ने उनीहरूको अटल विश्वास देखियो।
वर्षौंबाट बेकामे बस्नुपरेको उपराष्ट्रपतिज्यूले योग दिवसको छेकोमा प्रत्यक्ष केही गरेर देखाउने मौका छोप्नु सामान्य भए पनि मुख्यसचिवले कार्यकक्षमै मयुरासन गरेर देखाउनुले गम्भीर संकेत गरेको छ।
पदावधिको सँघारमा उभिएका उनको मयुरासनले एकातिर जागिर र जीवन दुवैको बैंसालु उखुममा रहेका अधिकारीहरूलाई दोहोरी वा डान्स बारको मुजरासनमा मस्त नहुन चेतावनी दिएको छ भने अर्कातिर टुँडिखेलको उधुममा सहभागी नेताहरूको छेउछाउ उछलकुद गरेर कुनै नियुक्तिको चाकडीप्रति नाइँनास्ति गरेको छ।
निर्वाचित नहोउन्जेल चुनावलाई लोकतान्त्रिक भाँडो देख्नु र च्याँखे पर्नासाथ त्यो ठाँडोलाई डाँडो कटाउन उद्यत हुनु राजनीतिक प्राणीहरूको व्यवहारवाद हो।
धरती थेग्ने औतारी भरियालाई हल्का पसिना चुहिंदा अस्ति १२ वैशाखमा जस्तो प्राकृतिक ताण्डव व्यहोर्नुपर्ने पौराणिक मान्यता भए जस्तै महामनाहरूलाई कुर्सी छाड्दा मुलुकै मटियामेट हुने सुर्ता हुन्छ।
यो सुर्ता मेट्न बराहरू जनताको नाममा अपान वायु निसेचनको जुगाड गर्दै देशका खातिर चिरकालसम्म कुर्सीमा लिसो बनिरहने जाँगर चलाइरहेका हुन्छन्।
थरीथरीका महाराजाहरूको लम्बेतान शासन सुमरेर लिसो संस्कृतिमा अभ्यस्त हामीले पनि गणतन्त्र नेपालमा पनि शीर्षासनमा नयाँ अनुहारहरू देखेनौं। एउटै अनुहारमा रत्तिएकाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदि देख्दा पनि मनमा उही ‘सत्रको सात, हात आयो एक’ भइरह्यो। आँखा अघि थरीथरीका थोपडा छन्, मनमा चाहिं उही चित्र नाचिरहने।
क्यालेन्डर बदलिंदा पुरानो सालको धङधङी मेट्न त हप्तौं लाग्छ भने दशकौं पुरानो मनको चित्र मेटिन बबालै गाह्रो हुने रहेछ। हुँदाहुँदा दशक अघिदेखि ऐ–ऐ आसनमा देखिएका मुखारविन्दसँग बिरानो हुनु पनि आफैंमा भक्कानो फुटाउने अवस्था हुँदोरहेछ। लत भन्ने कुरा लगाउन सजिलो, छुटाउन बडा गाह्रो!
संविधानसभा नामक बादलले पानी नपार्नेमा ढुक्क भई दायाँबायाँ सोचिएन, अहिले त्यसका खप्पर मस्यौदा मुन्टेर आइलाग्यो। नपत्याएको खहरे बगाउने/डुबाउने भएर आएपछि अब सभामुखज्यूको त्यो मुस्कान पनि हामीलाई नसिब नहुने भयो। संविधान खसान हुनासाथ महामनाहरू विदा हुने तर्कनाले हामीलाई त पानी विनाको माछो बनाउन खोजेर मर्छ भने उहाँहरूको हृदयमा के बितिरहेको होला! अब त्यो शान, रवाफ अनि अगुवा–पछुवाको आदतबाट विमुख हुनुपर्ने त्यो खण्डको सामना कसरी गर्नु होला!
आठ वर्ष मरिहत्ते गरेर लिसो संस्कृतिलाई संस्थागत गरेका यी पदाधीशहरूलाई कुर्सी छोड्न जति गाह्रो छ, हामी अदनालाई यिनले पारेका बानी बिर्सन त्योभन्दा साह्रो छ, प्रभो!
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
