थप समाचारआइतबार, साउन १०, २०७२
नेपाल भयो प्यारो
विदेशमा जन्मे–हुर्केर नेपालीसँग घरजम गरेका बुहारीहरूको लागि माइती बिरानो र नेपाल आफ्नो भएको छ ।
डम्बरकृष्ण श्रेष्ठ
काठमाडौं असनका विजय मल्लपती (५९) सँग बिहे गरेर नेपाली बनेकी जर्मनी गाब्रिएले मल्लपती (५८) को दिनचर्या नेपालीको सेवामा बितिरहेको छ । अहिले ललितपुरको भैंसेपाटी निवासी गाब्रिएले नेपालका अधिकांश जिल्ला पुगेकी छन् ।
नेपाली समाजमा गाब्रिएले जस्ता विदेशी बुहारीको संख्या ठूलो छ । मधुकरशमशेर राणासँग विवाह गरेर नेपाली बनेकी बेलायती ग्रेटा राणा (७२) ले नेपालमा ४४ वर्ष बिताइसकिन् ।
२० वर्षअघि चन्दन थापासँग विवाह गरेकी न्यान्सीका लागि जन्मथलो फिलिपिन्स सम्झ्नामा सीमित भइसकेको छ । विभु शाह (३३) सँग विवाह गरेर आएकी क्रोएसियाली जेल्यका (३१) पनि नेपालमा जमेको एक वर्ष भइसक्यो ।
हिमाल ले भेटेका यी चार प्रतिनिधि नेपाली परिवारको अनुभवले भन्छ, “प्रेमका अगाडि न देशको सीमा न त परिवार, धर्म र सामाजिक संस्कार नै तगारो बन्छ ।”
सेवामा मन
३५ वर्षअघि दक्षिणी सुडानमा भेट हुँदा विजय मल्लपती संयुक्त राष्ट्रसंघ (युएन), युनिसेफको खानेपानी परियोजनामा काम गर्थे भने गाब्रिएले एउटा जर्मन संस्थाको कुष्ठरोग निवारण प्रशिक्षण केन्द्रमा कार्यरत थिइन् ।
भेट भएको दुई वर्षपछि सन् १९८३ मा उनीहरूले प्रेमलाई बिहेमा परिणत गरे, सुडानमै । अर्को वर्षमा उनीहरू काठमाडौं आए, तर विजयको नेवार परिवारले गाब्रिएलेलाई बुहारी स्वीकार नगर्दा साथीको घरमा बस्नुपर्यो ।
तर परिवारले नस्वीकारे पनि उनीहरूले सम्बन्ध सुधार्ने प्रयास जारी राखे । विस्तारै गाब्रिएलेले सबैको मन जितिन् ।
पहिलो पटक बैठक कोठासम्म आउन दिएका ससुराले दोस्रो चरणमा जुम्ल्याहा नातिनातिनाको एक वर्ष भित्र गरिने परम्परागत पूजा गरिदिए । पछि छोराछोरीसँग एक्लै बहालमा बसेकी बुहारीलाई ससुराले उनकै डेरामा गएर भेटे ।
पाँच वर्षअघि २०१० मा युएनको जागीरबाट अवकाश लिनुअघिसम्म विजयको अधिकांश समय सुडान, कंगो, चीन, जोर्डन, बेलायत, अमेरिका लगायतका देशमा बित्यो, तर उनकी परिवार हरेक वर्ष कम्तीमा एक महीना नेपाल बसिन्– छोराछोरीलाई नेपाली भाषा–संस्कृतिमा बानी पार्न । ससुरा बितेपछि एक्लिएकी सासूलाई चीन र जोर्डनमा आफूसँगै राखिन् ।
जागीरको पछिल्लो १० वर्ष न्युयोर्कमा विताएर देश फर्केको यो दम्पती अहिले पूरै सेवामुखी काममा लागेको छ । “हामीले विवाहको समयमै जीवनको पछिल्लो समय नेपालमा बिताउने प्रण गरेका थियौं, सोचे जस्तै भएको पनि छ”, गाब्रिएले भन्छिन्, “अवकाशपछिको समाजसेवामा सन्तुष्टि छ ।”
उनले युनिसेफको न्युयोर्कस्थित मुख्यालयमा सात वर्ष वरिष्ठ सल्लाहकार रहेको अनुभव नेपालमा लगाइन् । उनले संसारका धेरै ठाउँबाट कामको प्रस्ताव आए पनि नेपालको स्वास्थ्य मन्त्रालयको ‘लीडरसिप प्रोजेक्ट’ निर्देशक बन्न रुचाइन् ।
तीन वर्ष त्यो काम गरेकी ग्राबिएले अहिले रोटरी क्लब अफ पाटनको सचिव र सामाजिक आयोजना प्रमुखका रूपमा सक्रिय छिन् ।
विजय र उनले रोटरी मार्फत सोलुखुम्बुको चेपेलमा १२ किलोवाट विद्युत् उत्पादन, दोलखाको मृगे गाउँमा ५०० परिवारका लागि खानेपानी र बायोग्यास परियोजना तथा चितवनको चण्डीभञ्ज्याङस्थित चेपाङ बस्ती र दाङ–बर्दियाका मुक्त कम्लहरीहरूको जीवनस्तर उकास्ने कार्यक्रमहरू संचालन गरिरहेकी छिन् ।
“हामीलाई नेपालमा सानै काम गरे पनि ठूलो हुन्छ भन्ने लाग्थ्यो” गाब्रिएले भन्छिन्, “जे गरिरहेका छौं, मनैदेखि गरिरहेका छौं ।”
बित्यो चारदशक
ग्रेटा राणा (७२) ले बेलायतको म्यानचेस्टर युनिभर्सिटीमा साहित्यमा स्नातक तहको विद्यार्थी छँदा ५५ वर्षअघि जीवन साथीको रूपमा मधुकरशमशेर राणा र जीवन बिताउने देशको रूपमा नेपाल रोजेकी थिइन् । अंग्रेजीमा डेढ दर्जन फिक्सन र कविता लेखेकी उनले १६ वर्षसम्म ‘राइजिङ नेपाल’ मा साप्ताहिक स्तम्भ (लाइफ एण्ड एक्सन) लेखिन् ।
शेक्सपियर पढ्दै हुर्केकी उनका कृतिले अंग्रेजी साहित्यमा राम्रो पहिचान बनाएको छ । ग्रेटाले डायमनशमशेर राणाको बहुचर्चित उपन्यास ‘सेतोबाघ’ लाई अनुवाद गरेर अंग्रेजी पाठकमा पुर्याइन् । नेपाली भाषामा उनको दखल देखेर डायमण्डशमशेर स्वयंले महेश्वरशमशेरलाई ‘हजुरकी बुहारीले मेरो सेतोबाघ अंगेजीमा अनुवाद गरुन्, तर म पैसा दिन सक्दिनँ, भनिदिनु पर्यो’ भनेको ग्रेटा सम्झिन्छिन् ।
इसिमोडको सञ्चार तथा प्रकाशन विभागमा १५ वर्ष काम गरेकी ग्रेटा नेपालका थुप्रै दुर्गम गाउँहरू घुमेकी छन् । नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण मन्त्रालय आदिमा आबद्ध भएर काम गरेकी उनले सन् ७० को दशकमै दुर्गम गाउँहरूका लागि ‘आमा मिलन केन्द्र’ को सोच ल्याएकी थिइन् ।
सेन्ट जेभियर्स स्कूलमा दुई वर्ष अंग्रेजी पढाएकी उनी यो उमेरमा पनि नेपाली इतिहास र जनजीवनमाथि ‘फिक्सन’ लेखिरहेकी छन् । ललितपुर, एकान्तकुना निवासी उनी नयाँ–पुराना पुस्ताका साहित्यकार, चित्रकार, फिल्मकार र संगीतकर्मीहरूलाई एक थलोमा ल्याउने किसिमको कार्यक्रम गर्ने योजना समेत बनाइरहेकी छन् । “कामै काम छ, बेलायत नगएको तीन वर्ष भयो”, तीन छोराकी आमा ग्रेटा भन्छिन् ।
नेपालीपनमा घुल्दै
२२ वर्षअघि हङकङमा भेट भएकी फिलिपिन्सकी न्यान्सी र काठमाडौंका चन्दन थापा त्यसको तीन वर्षमा विवाह बन्धनमा बाँधिएर सन् २००६ मा सधैंका लागि नेपाल आए । थापा दम्पती अहिले एक छोरा र छोरीका साथ लाजिम्पाटमा सुखी जीवन बिताइरहेका छन् । “हङकङमै बसेको भए फिलिपिनो आमा र नेपाली बाबुका छोराछोरीको संस्कार कस्तो हुन्थ्यो होला ?” न्यान्सी भन्छिन्, “त्यही चिन्ताले नेपाल आयौं ।”
नेपाल आएपछि द्वारिका होटलमा स्पा थेरापिष्ट बनेर हालसालै लाजिम्पाटमा आफ्नै होम स्पा शुरु गरेकी न्यान्सी नेपाललाई घुलमिल हुन सजिलो समाजहरूको देश भन्छिन् । क्रिश्चियन धार्मिक आस्थाकी उनको लागि नेपालमा दशैं–तिहार र क्रिसमस समान रौनक लिएर आउने गरेको छ । यस्तो नेपालीपनमा रमेकी उनी छोराले मेडिसिन पढ्न फिलिपिन्स जाने इच्छा देखाएकोमा दंग छिन् ।
सन् २००६ मा न्युयोर्कमा भेट भएका काठमाडौंका विभु शाहसँग विवाह गरेर आएकी क्रोएसियाली जेल्यका लागि पनि नेपाल जीवन बिताउन लायक देश बनेको छ । यद्यपि, प्रेम भएको ६ वर्षमा विवाह गरेका यो जोडीको सहयात्रा शुरुआती चरणमै छ ।
विभु नेपाल लगानी बोर्डमा जलविद्युत् प्रबन्धक छन् भने जेल्यका शिक्षिका । “मेरो लागि पहिले चुनौतीपूर्ण नै थियो, अब बानी पर्यो”, युरोपमा जन्मे–हुर्केर अमेरिकामा उच्च शिक्षा लिएकी जेल्यका भन्छिन्, “घर र स्कूलबाट बचेको समयमा नेपाली भाषा सिक्दैछु ।”
भाषाले बसाइ सजिलो पार्ने अनुभव सँगालेकी उनी आफ्नो नेपाल बसाइमा भोगेका अनुभूतिहरू ब्लगमा पोखिरहन्छिन् । राजधानीको भीडभाड, ट्राफिक, धूलो–धुवाँ र अस्तव्यस्ततादेखि यहाँको सौन्दर्य, संस्कृति र संस्कार बारेका आफ्ना अनुभव उनले पोख्दै आएकी छिन् ।
गाब्रिएले र ग्रेटा जस्ता ‘हाईप्रोफाइल’ विदेशी बुहारीहरूको सक्रियताले नेपाली समाजलाई निकै अगाडि बढाउन मद्दत गरिरहेको छ । गाब्रिएलेले दुर्गम गाउँहरूमा विकास, चेतनाको सञ्चार प्रवाह गरिरहेकी छिन् ।
उनले स्वास्थ्य मन्त्रालयको ‘लीडरसिप प्रोजेक्ट’ निर्देशकका रूपमा काम गर्दा मन्त्रालयलाई विदेशी दाताहरूका अघि आफैं बलियो रूपमा प्रस्तुत हुनसक्ने बनाएकी थिइन् । उनले मन्त्रालयमा ‘वेभ बेस इन्फर्मेशन सिस्टम’, ‘नलेज म्यानेजमेन्ट सिस्टम’ देखि ‘नेगोसिएसन ट्रेडिङ’ नै सञ्चालन गरेकी थिइन् ।
अमेरिकाबाट दक्ष परामर्शदाताहरू ल्याएर उनले सञ्चालन गरेको तालीमका ‘म्याटेरियल’ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको प्रशिक्षण कोर्षमै राखिएको उनी बताउँछिन् । त्यस्तै ग्रेटाले ‘सेतोबाघ’ को अनुभव नेपाली साहित्यलाई पश्चिमाहरूमाझ् फैलाउने काम गरिन् । देशका जिल्ला तहमा पुगेर उनले नेपाली समाजलाई दिएको योगदान अरूका लागि समेत अनुकरणीय छ ।
न्यान्सी जस्ता दक्षिणपूर्वी एशियाका बुहारीको प्रभाव र समर्पण परिवार र छोराछोरीको हेरचाहमा देखिन्छ । उनले आफू फिलिपिनो भएर पनि छोरा–छोरीलाई हङकङको ‘मल्टी कल्चरल सोसाइटी’ भन्दा नेपाली मौलिक संस्कारमा हुर्काउन चाहिन् ।
त्यसो त नेपाली समाजमा राम्रो पहिचान बनाएका धेरै व्यक्तित्वहरूले परिवार र समाजलाई विदेशी बुहारीहरू दिएका छन् । अग्रज पत्रकार भारतदत्त कोइरालाले इरानी माहसिदसँग, फोटोग्राफर मणि लामाले अमेरिकी मेरी डेथसँग प्रेम विवाह गरेका छन् भने नेपाली कांग्रेसका नेता नारायण खड्काकी श्रीमती इसाबेला पनि क्यानेडियाली हुन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट