थप समाचारआइतबार, साउन १०, २०७२

जैनमय विराटनगर

हिमालखबर

कमल रिमाल, विराटनगर

२५ असारमा विराटनगर हुँदै जोगवनीतर्फ लाग्ने क्रममा अगाडि अनुयायीको हात समाएका महाश्रमण । तस्वीर: कमल रिमाल

२५ असारमा विराटनगर हुँदै जोगवनीतर्फ लाग्ने क्रममा अगाडि अनुयायीको हात समाएका महाश्रमण । तस्वीर: कमल रिमाल

जैन धर्मावलम्बीको कुम्भमेला मानिने चातुर्मासमा सहभागी हुन आचार्य महाश्रमण सहित २५०० जनाको टोली ६ साउनमा विराटनगर आइपुगेको छ । १४ साउनदेखि चार महीनासम्म चल्ने यो पर्व नेपालमा पहिलो पटक भइरहेको छ । चातुर्मासमा पाँच लाख जैन धर्मावलम्बी भेला हुने अनुमान छ ।

चातुर्मास व्यवस्थापन समितिका अध्यक्ष मालचन्द सुरानाका अनुसार जैन समुदायका धर्मगुरु आचार्य महाश्रमण र अन्य साधुहरूलाई चार महीनासम्म विराटनगर राख्न जैन समाजले रु.१२ करोडको लागतमा भवन बनाइसकेको छ । “आगन्तुकको अस्थायी आवासमा रु.२ करोड ५० लाख र खानपिनमा रु.१० करोड खर्च हुने आकलन गरिएको छ”, सुराना भन्छन् ।

जैन धर्मको २५० वर्षको इतिहासमा महाश्रमणको नेपाल यात्रा पहिलो हो । नयाँदिल्लीबाट कानपुर, वाराणसी, रक्सौलहुँदै उनी नेपाल प्रवेश गरी काठमाडौं, सिन्धुली, राजविराज, दुहबी, धरान, जोगवनीहुँदै अनुयायीसाथ विराटनगर आइपुगेका हुन् ।

पाँचवर्षे यात्रामा निस्किएका महाश्रमणले यस अवधिमा ३० हजार किलोमिटरको पैदल यात्रा गर्ने बताइएको छ । गत वर्षको २३ कात्तिकमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले महाश्रमण सहितको टोलीको पाँचवर्षे यात्राको आरम्भ गरेका थिए । चातुर्मास सकिएपछि यो टोली भारतको आसामतर्फ लाग्ने बताइएको छ ।

“नेपाल नशामुक्त होस्, शान्त होस् भन्ने मेरो चाहना हो” गत वर्ष भदौमा नयाँदिल्ली पुगेको संचारकर्मीको टोलीलाई महाश्रमणले भनेका थिए, “बुद्धको भूमि जाँदैछु, नेपालबारे धेरै कुरा बुझेर फर्कन्छु ।”

महाश्रमण यात्राका प्रवक्ता कुमार श्रमणले युद्धबाट बुद्धको बाटोमा गएको नेपाललाई महाश्रमणको यात्राले लाभ पुग्ने बताउँछन् । उनी भन्छन्, “चातुर्मासमा हुने प्रवचनमा नशा त्याग्न प्रेरित गरिनेछ ।”

आयोजक समितिका अध्यक्ष सुराना चातुर्मासले पूर्वको पर्यटनमा ठूलो सहयोग पुग्ने दाबी गर्छन् । “पाँचलाख जति आगन्तुकले थोरै मात्र किनमेल गरे पनि विराटनगरमा रु.२० करोडको व्यापार हुनेछ” सुराना भन्छन्, “विराटनगर आउने जैनहरू भेडेटार, पोखरा र काठमाडौंसम्म घुम्न जान्छन् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>