थप समाचारबिहीबार, साउन १४, २०७२
शरणार्थीलाई डब्ल्यूएफपी दिंदै आएको पिठो र चिनी अब नदिने
नेपालमा रहेका भुटानी शरणार्थीले पाँउदै आएको सहायता सामग्री पौष्टिक पिठो र चिनी अब नपाउने भएका छन् ।
राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यही अगस्त महिनादेखि पौष्टिक पिठो र सेप्टेम्बर देखि चिनी वितरण रोक्ने बताएको छ । कम तौलका र कुपोषण भएका बालबालिकालाई भने पिठो वितरण जारी रहनेछ ।
अन्तराष्ट्रिय समुदायबाट प्राप्त हुने सहयोग घटेका कारण पौष्टिक पिठो र चिनी बन्द गर्नुपरेको झापाको दमकस्थित डब्ल्यूएफपी कार्यालयका अधिकारीहरुले शरणार्थीका प्रतिनिधिलाई बताएका छन् ।
१२ साउनमा डब्ल्यूएफपीको दमक कार्यालयमा डाकिएको एउटा बिशेष बैठकमा अधिकारीहरुले ति सामग्री वितरण कहिलेबाट पुनः चालु गरिने भन्ने चाँही नखुलाएको शनिश्चरेस्थित शरणार्थी शिविरका सचिव चम्पसिंह राईले बताए ।
भुटानी शरणार्थीले प्रतिव्यक्ति दैनिक ३५ ग्राम पौष्टिक पिठो र चिनी १० ग्रामका हिसाबले पाइरहेका छन् । ति सामग्रीसँगै चामल, दाल, नुन, तेल र चना प्रत्येक दुइसाताको अवधिमा शरणार्थीका परिवारहरुलाई वितरण गरिँदै आएको छ ।
यसअघि सन् २०१३ देखि शरणार्थीलाई तरकारी दिन बन्द गरिएको छ । सन १९९२ देखि शरण लिएका भुटानीले शुरुको पाँचबर्ष मात्र सहायता स्वरुप कपडा पाए ।
सहायता सामग्रीको क्रमिक कटौतीले भुटानी शरणार्थीको स्थानीय श्रम बजार र परदेशिएका आफन्तमा निर्भरता बढेको पनि सचिव राईले बताए ।
झापा र मोरङका दुई शिविरमा हाल २० हजार भुटानी शरणार्थी छन् । गत आठ बर्षमा करिब ९६ हजार शरणार्थी पुनर्वासमा अष्ट्रेलिया, युरोप र अमेरिका गइसकेका छन् ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
