ब्लगबिहीबार, साउन १४, २०७२

एउटा फ्लानरी शहर

शेखर खरेल

सभ्यताको धनी पेरिसमा झै काठमाडौंमा पनि नदी बग्छन्। गल्ली, सडक र प्राचीन स्मारकमा सिर्जनाको खोजमा फिरन्ते अर्थात् फ्लानर हिंडिरहन्छन्।

लेखक एवं प्राध्यापक अभि सुवेदीले पछिल्लो साता आफ्नो कान्छो कृति सार्वजनिक गरे, ‘फ्लानरको डायरी’ शीर्षकमा। अंग्रेजी शब्द भए पनि ‘डायरी’ झन्डै–झन्डै नेपाली भइसकेको छ। तर, ‘फ्लानर’ नेपाली साहित्यमा नसुनिएको शब्द हो।

पेरिस

पेरिस

फ्रान्सेली शब्द ‘फ्लानर’ अहिले अंग्रेजीमा पनि सरोबरी प्रयोग हुन्छ। गत फागुनमा दिवंगत प्रसिद्ध भारतीय पत्रकार विनोद मेहतामाथि लेखक पंकज मिश्रले ‘अ लखनवी फ्लानर’ शीर्षकमा ‘ओबिच्युरी’ लेखेका थिए। मिश्रले मेहताको मुक्त चरित्रको अर्थमा ‘फ्लानर’ प्रयोग गरेका थिए।

फ्रान्सेलीहरूले चोक, बुलभार्ड, सडक र प्राचीन स्मारक निरुद्देश्य चहारिरहने मानिसलाई ‘फ्लानर’ भनिदिए। कालान्तरमा ‘फ्लानर’ शब्द खोजीसँग जोडियो। र, सिर्जनाका खातिर डुलिहिंड्ने मुक्त मानिसलाई फ्लानर भन्न थालियो।

पेरिसको छाती भएर बग्ने सेन नदी शहरकै धमनी हो। पेरिसका मुख्य ऐतिहासिक ‘ल्याण्डमार्क’ हरू लुभ्र संग्रहालय, आइफेल टावर, नोत्रेदाम गिर्जाघर आदि सेन नदीकै किनारामा उभिएका छन्।

त्यसैले फ्रान्सेलीमा एउटा हरफ प्रचलित छ, ‘रिभ ध्वा, रिभ गोस’ अर्थात् ‘दायाँ किनारा, बायाँ किनारा’। तपाईं आफू पुग्न चाहेको ‘ल्याण्डमार्क’ दायाँ वा बायाँ पर्ने हेक्का राखेर सेन नदी गढतिर हान्निनुस्, ठ्याक्कै पुग्नुहुनेछ। पेरिस फ्लानरहरूको शहर हो।

काठमाडौं ।

काठमाडौं ।

हाम्रो राजधानी काठमाडौं भएर पनि थुप्रै नदी बग्छन्। यहाँ नदीहरूको धार्मिक महत्व छ। नदीहरू शहरभन्दा सीमान्त बहन्छन्। तर, नदीलाई बिर्सने हो भने पनि काठमाडौंमा अनेकौं आकर्षण बाँकी रहन्छन्। काठमाडौंको आफ्नै विशेषता छ।

हिंड्नका निम्ति पुरानो वा भित्री काठमाडौं जति अनुकूल छ, गुड्नका लागि उत्ति नै प्रतिकूल। शहरका भित्री बाटा मल्लकालमा रथ गुडाउनका लागि बनाइए। शाह र राणाहरूले प्रस्तर गल्लीहरूमा बग्गीसम्म गुडाए।

तर, अहिले ती गल्लीमा गुड्नेहरू भन्दा हिंड्नेहरू समयमा पुग्छन्। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ठट्टा गर्दै भन्नुहुन्थ्यो, “नेपाल यस्तो देश हो, जहाँ सुत्ने र दौड्ने एकै समयमा पुग्छन्।” यस अर्थमा पनि काठमाडौं फ्लानरी शहर हो।

संसारमा शहरहरू मुख्यतया दुई प्रकारले बसेका देखिन्छन्। कुनै बस्ती शताब्दीयौंको विकासक्रमका कारण इतिहास, सम्पदा र संस्कृतिका हिसाबले समृद्ध शहर बन्छ। यस्ता शहर स्वाभाविक, अर्थात् ‘अर्ग्यानिक’ शहर हुन्।

अर्को थरी शहरको निर्माण योजनाबद्ध हुन्छ। ती शहरहरू कुनै आर्किटेक्ट वा योजनाविद्का ड्रइङ्ग टेबुलमा पहिल्यै बनेका हुन्छन्। यस्ता शहर फ्लानर प्रतिकूल हुन्छन्। उदाहरणका लागि, पाकिस्तानको राजधानी इस्लामावाद फ्लानरी शहर होइन। यहाँ बटुवाका लागि फूटपाथसम्म छैन। शहरमा गल्ली र प्राचीन स्मारक छैनन्। तर, लाहोर अर्ग्यानिक विशेषतामा फ्लानरहरूले आफ्नो ‘स्पेस’ भेट्न सक्छन्।

काठमाडौं दक्षिण एशियाको ‘क्रसरोड’ को रूपमा रहिआएको छ। बौद्ध गुरु एवं प्रचारकहरू काठमाडौं हुँदै तिब्बत (चीन) पुगेको इतिहास छ। फ्रान्सेली विद्वान्हरू सिल्भाँ लेभी, गुस्ताफ ल बोंदेखि अंग्रेज पर्सिभल ल्याण्डनसम्मले काठमाडौंलाई आफ्नो खोजीको केन्द्र बनाउँदै ठेलीका ठेली पुस्तक तयार पारे। बेलायती रेजिडेन्ट ब्रायन हड्सनले त नेपालको विशद् अनुसन्धान नै गरे।

अरू त अरू, काठमाडौं बाहिरका नेपाली नै यो शहरको लावण्यबाट मोहित भएका अनेकन् प्रसङ्ग छन्। चन्द्रागिरिबाट पहिलोपल्ट कान्तिपुर देख्दा तिर्मिराएका गोरखाली पृथ्वीनारायण शाहले त्यही क्षणबाट कुनै दिन कान्तिपुरका राजा हुने सपना देखे। उता तनहुँबाट काठमाडौं झरेका आदिकवि भानुभक्त आचार्यले कान्तिपुरलाई इन्द्रको अलकापुरीसँग तुलना गरे।

तर, अध्ययन र पेशागत उन्नयनका लागि आउनेहरूका लागि काठमाडौं खोजी र रहस्यको शहर बनिदिएको छ। उनीहरूले काठमाडौंमा सिर्जनाका अनन्त सम्भावना फेला पारे। आफू जस्तै स्वदेशी र विदेशीको संगतिमा पुगे। आइरिस मूलका डेसमण्ड डोइग हुन् वा तेह्रथुमबाट अध्ययनका लागि झरेका अभि सुवेदी, काठमाडौं सबैका निम्ति विचित्रको शहर बनिआएको छ।

काठमाडौंको अर्को विशेषता, यो शहर देखिन र लुक्न खोज्ने दुवैका निम्ति अनुकूल छ। यस्ता शहर संसारमा विरलै पाइन्छन्। शायद यसै कारण पनि फ्लानरहरूलाई काठमाडौंले लोभ्याएको हुन सक्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>