ब्लगशनिबार, साउन १६, २०७२

मजलिसको आँखा- १८: दुई धरहरा, तीन शिलालेख

कमल दीक्षित

प्रजाजनले बनाएका मठ–मन्दिरका शिलालेखमा तत्कालीन राजाको नाम उल्लेख गरी फलाना राजाको ‘विजयराज्ये…’ इत्यादि लेखी आफ्नो नाम, थर, वतन राख्ने लिच्छविकालदेखिकै परम्परा रहेकोमा भीमसेन थापाले सीधै ‘जनरल भीमसेन थापाले बनायाको’ भन्ने अङ्कित गराए।

‘बिना र पात्रुको नि सुरीलो रूख, नेपालको धररा… कुन लोकगायकले कैले बनायो र गायो यो गीत कति पैले थाहा छैन। तर त्यो १९९० सालको महाभूकम्पभन्दा अघि नै हुनुपर्छ, किनभने त्यस भूकम्पपछि जुद्धशमशेरले जीर्णोद्धार गरेर बनाउन लगाएको बार्दलीयुक्त धरहरासँग भन्दा पुरानै सुरिलो र ठिङ्गो धरहरालाई मिल्छ यो विशेषण।

हुनलाई त्यो गीत होइन आजको हाम्रो विषय, खास काठमाण्डूको सुनधारासँगै ठडिएको धरहरा हो।’

mallis18

१९९० सालभन्दा अघिको धरहरा।

यी वाक्य हाम्रो धरहराले ‘चोला फेर्नु’ भन्दा अघि, भन्नाले गत वैशाख बाह्र गते धरहरा धरासायी हुनु अगावै, अझ् यो बहत्तर साल लाग्नुभन्दा पनि पूर्व नै लेखिएको हो, उहिल्यै ‘मजलिसको आँखा’ भएर छापिनका लागि।

तर कतिपय कारणले यो छापिन ढिलायो अनि त्यो विनाशकारी महाभूकम्प आइहाल्यो! अब, यत्ति स्पष्टीकरणका साथ त्यो लेख विना कुनै थपथाप, जस्ताको तस्तै छापिदिने संपादकजीले निधो गर्नुभएकाले त्यसको बाँकी भाग प्रस्तुत छः

यस धरहराले नेपालको बाहेक आफ्नै पनि ठूलो इतिहास बोकेको छ। धरहराको कुरा गर्दा हामीले दुइटालाई सम्झ्नुपर्छ, र तीनोटा शिलालेख पढ्नुपर्छ।

भीमसेन थापाको समय संवत् १८८२ सालमा ‘पट्टराज्ञी श्रीश्रीश्री त्रिपुरसुन्दरीले बनाई गजुर चह्राउनु भयाको’ धरहराको १८९० सालको भूकम्पमा गजुर मात्र खसी जीर्णाेद्धार गरिएको थियो रे! तर १९९० को महाभूकम्पमा भने त्यो पूरै भत्कियो, तलका दुई तलाबाहेक।

ती भत्किएका तलाहरू उठाई बार्दली समेत थपेर नयाँ पारिदिए महाराज श्री ३ जुद्धशमशेरले र त्यहाँ एउटा शिलापत्र जडिदिए १९९२ सालमा। तर, यी दुई शिलापत्र बाहेक अर्को एउटा शिलापत्रको पनि उल्लेख गर्नुपर्छ धरहराका कुरा गर्दा।

भीमसेन थापाले अर्को पनि घरहरा ‘आफ्नू बागदर्बार पल्तिर’ बनाएका थिए। तर त्यो र जगन्नाथ मन्दिर प्रथम महाभूकम्पमा धरासायी भयो (अनि) फेरि नठड्याइएको कुरा वंशावलीहरूमा छ भनेका छन् योगी नरहरिनाथले ‘इतिहास प्रकाश–१’ मा।

त्यस धरहरामा राखिएको तीन हरफ मात्र भएको शिलापत्र चाहिं ऐले छाउनीको नेपाल म्युजियममा पुगेको छ भनेको छ ‘अभिलेख संग्रह–१२’ ले। त्यसमा लेखिएको पूरै बेहोरा यत्ति हो– ‘स्वस्ति श्रीशाके १७४६ सम्वत् १८८१ साल श्रावणकृष्णसप्तम्यां तिथौ रेवतिनक्षत्र शुक्रमयोग रविवासरे श्रीजनरल भीमसेन थापाले बनायाको धरहरा शुभम्।’

यसबाट स्पष्ट हुन्छ भीमसेन थापाले महारानीको नामबाट धरहरा बनाउनुभन्दा डेढ वर्ष पहिले नै आफ्नो नामको धरहरा निर्माण गराइसकेका रहेछन् आफ्नो दरबार अगाडि। त्यसबाट बुझिन्छ, अंग्रेजहरूले धरहरालाई भीमसेनको अहङ्कार (भीमसेन्स फोली) भनेको रहस्य पनि।

ऐले हामीले देखेको धरहरालाई भनेकै होइन रहेछ, त्यो त उनले घरै अगाडि ठड्याएको पैलोलाई पो इङ्गित गरेको रहेछ! साँच्चै नै त्यस शिलालेखको बेहोराबाट भीमसेन कति शक्तिमदोन्मत्त भएका रहेछन् भन्ने भेउ पाइन्छ। उनले त्यस शिलालेखमा न राजा रणबहादुर शाहलाई उल्लेख गर्नु आवश्यक देखे न त आफ्नो पृष्ठपोषक रणबहादुरकी कान्छी रानी त्रिपुरसुन्दरीलाई नै।

१२ वैशाख २०७२ सालको भूकम्पपछिको धरहरा।

१२ वैशाख २०७२ सालको भूकम्पपछिको धरहरा।

लिच्छविकालदेखिकै परम्परा थियो– प्रजाजनले निर्माण गराएका मठमन्दिरका शिलालेखमा तत्कालीन राजाको नाम उल्लेख गरी फलाना राजाको ‘विजयराज्ये…’ इत्यादि लेखी आफ्नो नाम, थर, वतन राख्ने।

तर, भीमसेन थापाले त्यस्तो क्यै नगरी सीधै ‘जनरल भीमसेन थापाले बनायाको’ भन्ने अङ्कित गराए, जसले उनको पक्कै हित गरेन। भारदारहरूले उनको कुरा काट्ने, बद्नाम गर्ने मौका पाए होलान्।

अनि उनले झ्ट्टपट्ट, डेढ वर्षभित्रै त्यसैनिर अर्को धरहरा उभ्याइदिए, महारानी त्रिपुरसुन्दरीले बनाएको भनेर। यो उनको राजभक्ति थिएन, बाध्यता थियो। तर त्यो दोस्रो धरहराले पनि उनको ‘पापमोचन’ गर्न सकेन।

उनको ओरालो लाग्ने क्रम शुरू भयो। एक दशक पनि नपुग्दै १८९० सालमा ‘भीमसेन्स फोली’ धरासायी भयो भुईंचालोले। दरबार पनि वक्र हुँदै गयो भीमसेनका लागि र अन्त्यमा बन्दी बनेका उनी आफैं सेरिई अत्यन्त दुःख पाई मरे, अनि सद्गत पनि नपाई विष्णुमतीका बगरमा फालिए!

धरहराको कुरा गर्दा सित्तैंमा यो धर्म र पापको कुरा छिरुर्‍यो। इतिहास बखान्दा, खोतल्दा पनि कैलेकाहीं अर्को विषय टुप्लुक्क अगाडि आइपुग्छ। यस्तै भयो ऐले यी दुई अभिलेख पढ्दा।

त्यसले हाम्रो भाषाका क्रियापदमा आदरार्थी परिवर्तन कति छिटो हुँदोरहेछ जाँच्न पाइएको छ। यहाँ नेपालका दुई कालखण्डका दुई जना प्राइममिनिष्टरले कुँदाएका सय वर्षका अन्तरालका ती दुई अभिलेखका भाषा हेरौं र दाँजौं।

१८८२ सालमा भीमसेनले धरहरामा स्थापित गरेको सुवर्णपत्रमा राजाकी कान्छी महारानीलाई के भन्छन्? ‘… श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललितत्रिपुरसुन्दरीदेवीले. यो धरहरा बनाउनुभै तयार गरी गजुर चह्राउनुभयाको हो शुभम्।’

अनि जुद्धशमशेरद्वारा उनै महारानी कसरी सम्बोधन गरिन्छिन्? ‘संवत् १८८२ चैत्र सुदी १२ रोज ४ मा श्रीश्री श्रीमल्ललितत्रिपुरसुन्दरीदेवीबाट बनाइबक्सेको यो धरहरा विक्रम संवत् १९९० साल माघ २ गते (माघकृष्ण ३०) सोमबारको भीषण भूकम्पले भत्की बिग्री २ तलासम्म पुरानो बाँकी भएकोमा अरू तला उठाई बनाई श्री ३ महाराज जुद्धशमशेरजङ्गबहादुर राणाबाट विक्रम संवत् १९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको शुभम्।’

अरू टिप्पणी आवश्यक नहोला।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...