समाचारशनिबार, साउन १६, २०७२
सीमाकंन टुंग्याउन कांग्रेसभित्र दबाव
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसभित्र संविधानमा सङ्घीयताको सीमाकंन टुङ्ग्याउनुपर्ने चर्को दबाब परेको छ ।
संविधानको प्रारम्भिक मस्यौदामाथि देशभरबाट जनताले दिएको सुझावपछि कांग्रेसभित्र त्यस्तो दबाब परेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा अधिकांश सदस्यहरुले मस्यौदामाथि जनताको सुझावलाई आधार मानेर सीमाङ्कन, धार्मिक स्वतन्त्रता, नागरिकता, समावेशिता, मौलिक अधिकारलगायतका विषयलाई परिमार्जन गरिनुपर्ने धारणा राखेका छन् ।
संयुक्त बैठकमा मूलतः सङ्घीयताको सीमाङ्कन र नामाङ्कनको कुरालाई टुङ्याएर जानुपर्छ भन्ने पार्टीका सभासद् तथा केन्द्रीय सदस्यहरुको सुझाव आएको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए ।
महाधिवेशनको कार्यतालिका परिमार्जन
संविधान निर्माणको कार्यलाई प्रमुखताकासाथ ध्यान दिँदै नेपाली काँग्रेसले पार्टीको आगामी १३ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ ।
संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सकिए लगत्तै सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि घोषित २ देखि ५ असोजमा हुने राष्ट्रिय महाधिवेशन नसार्ने गरी गाउँ, नगर वडा, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनको पुनःसंयोजन गरी नयाँ कार्यतालिका बनाएको हो ।
नयाँ कार्यतालिका अनुसार १७ भदौमा गाउँ, नगर वडा र नगरको अधिवेशन गर्ने, २२ मा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने र २५ मा ७५ जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ ।
बैठकले संविधान निर्माणलाई प्राथमिकता दिँदै पार्टीको गाउँ, नगर वडा, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको सहमहामन्त्री खड्काले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
