थप समाचारसोमबार, साउन १८, २०७२
भूकम्पपीडितलाई ११ करोड राहत
नेपालस्थित एक्ट अलायन्स सदस्य डेन चर्च एड (डीसीए) ले भक्तपुर जिल्लाका भूकम्पप्रभावित ५१५ घरधुरीलाई मोबाइल फोनमार्फत नगद राहत वितरण गरेको छ ।
स्थानीय फ्रेन्ड्स सर्भिस काउन्सिलसँगको साझेदारीमा उक्त संस्थाले १७ र १८ साउनमा भक्तपुरको मध्यपूर थिमी ३ स्थित निकोसेराका १२५ र चाँगुनारायण नगरपालिकाका १० को चाँगुका ३९० घरधुरीलाई नगद रु.१० हजारका दरले यस्तो राहत उपलब्ध गराएको हो ।
डीसीएद्धारा सोमबार जारी विज्ञप्तिका अनुसार यसअघि डीसीएले गोर्खाको धावा, वगुवा र ताङ्लिचोक, धादिङको सलाङ, नलाङ र खारी र ललितपुरको लामाटोल, इमाडोल र झरुवारासी गाविससमेत कुल १० हजार चार सय ४८ घरधुरीमा यस्तो राहत पु¥याइसकेको छ । जसबाट करिब ५० हजार पाँचसय स्थानीयवासी लाभाविन्त भएका छन् ।
डीसीएले चार जिल्लामा गरि रु. ११ करोड ६८ हजार सात सय सोझैं भूकम्पप्रभावितलाई हस्तान्तरण गरेको जनाएको छ । “भूकम्पपीडितलाई वर्षायाम अघि नै अस्थायी बसोबासको प्रबन्ध मिलाउन सकियोस् भनेर थालिएको हाम्रो लक्ष्य आज पूरा भएको छ”, डीसीएका भूकम्प विपत् परियोजनाका प्रमुख एन्ड्रियु पर्लम्यान भन्छन्, “अब हामी अस्थायी शौचालय निमार्णका साथै नयाँ प्रविधिको प्रयोग गरि व्यक्ति र समुदायमो जीवीकोपार्जन तालिम सञ्चालनमा केन्द्रित हुनेछौं ।”
भूकम्पपीडितलाई जस्तापाता वा रु. १५ हजार राहत वितरण गर्ने सरकारको निर्णयसँगै डीसीएले पहिलोपटक नेपालमा मोबाइलमार्फत नगद राहतको अवधारणा ल्याएको हो ।
सरकारले नगद वितरण गर्नुभन्दा पहिल्यै गत जेठको तेस्रोसातादेखि कार्यक्रम थालिएकाले गोर्खा र धादिङमा भने प्रत्येक घरधुरीलाई रु. १५ हजारका दरले राहत बाँडिएको थियो । जेठको तेस्रो सातामा गोर्खाको बगुवा गाविसबाट यो कार्यक्रमको शुरुवात गरिएको थियो ।
यो प्रविधि अन्तर्गत प्रभावित घरधुरीका सदस्यलाई राहतका लागि मेसेज गरिन्छ र मेसेज प्राप्त व्यक्ति मोबाइलको मेसेज र परिचयपत्र बोकी राहतस्थलसम्म आउँछन् । र, तत्काल नगद पाउँछन । यस्तो राहत थाल्नुअघि डीसीएले राहत वितरण गर्ने स्थानमा मोबाइल फोन प्रयोगकर्ताबारे सर्भेक्षण गरेको थियो ।
त्यसैको आधारमा मोबाइल बैंकिङ संस्था ‘हेल्लो पैसा’ सँगको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो । मोबाइल नभएकाहरुले भने गाविस भवनमा परिचयपत्र देखाइ इ–भौचर प्राप्त गर्ने र त्यसैको आधारमा राहत रकम प्राप्त गरेका थिए ।