ब्लगसोमबार, कार्तिक २७, २०६९
दशैंको घुमघाम !
आँखा कमजोर र कान कम सुन्ने ती वृद्ध सधैं बिहान डेढ घण्टा प्रातः भ्रमणमा जाने गर्दथे । आफू जान लागेको ठाउँ भन्ने उनको बानी थिएन । उनी स्वस्थ नै हुनुपर्छ किनभने तेज चालमा हिंड्थे ।
अधिकांश वृद्धहरूजस्तो उनलाई औषधि खानुपर्दैनथ्यो । त्यसबेला ७० वर्ष काटिसकेको हुनुपर्छ, जब उनले दुई दिन लगाएर पूरै रिङरोड छिचोलेका थिए । पहिलो दिन बाग्डोल–नख्खु चोकबाट चाबहिल हुँदै नारायणगोपाल चोकसम्म पुगेका उनी दोस्रो दिन कलंकी हुँदै नारायणगोपाल चोकसम्मै पुगेर बिसाएका थिए । तीन वर्षअघिको कुरा हो, बिहानको खाना खाइवरी लुगा फेरेर उनी बाहिर जाँदा १० बजेको थियो । झमक्क साँझ परेपछि मात्रै घर फर्किएका वृद्धले आफू कहाँ गएको बताउन आवश्यक ठानेनन् ।
यो घटस्थापनाका दिन चाहिं उनी धेरै टाढा गएछन् । उनी नफर्कंदा प्रतिपल चिन्ता बढिरहेको थियो । हामी उनी जाने गरेका नजिकका ठाउँहरूमा खोज्न थाल्यौं । मंगलबार भएकोले बागमती घाटस्थित हनुमानथानतिर पो छन् कि भनेर म त्यतातिर पनि गएँ, तर भेटिएनन् । उनी कुनै कुनै मंगलबार त्यता जाने गर्दथे ।
हाम्रो खोजाइ व्यर्थ हुँदै गयो । यत्रो ठूलो शहरमा कहाँ कहाँ खोज्नु ? तर हुर्किसकेका उनका नातिहरूले व्याकुल हुँदै जताततै खोेजे । चोभार, पशुपति, गुह्येश्वरी, बूढानीलकण्ठ र बगलामुखी— कहाँ कहाँ मात्रै खोजिएन ! त्यस्तै तीन बजेको हुँदो हो, हामीले प्रहरीमा वृद्ध हराएको सूचना दिने निधो ग¥यौं । प्रहरीलाई ९० वर्ष नाघेको मान्छे लट्ठीको पनि सहारा नलिई एक्लै हिंड्यो होला भनेर पत्याउनै गाह्रो प¥यो । उनलाई खोज्ने अरूहरू पनि ‘एकानब्बे वर्षे’ वृद्धको छवि कल्पना गरेर खोज्न थालेका थिए । तर, हट्टाकट्टा शरीरले गर्दा उनको उमेर अनुमान लगाउन गाह्रो थियो ।
हामीले मुख्यमुख्य अस्पताल पनि छोडेनौं । हराएको मान्छे खोज्ने काम प्रहरीले आफैं गर्दैन, कुनै सूचना आफूकहाँ आयो भने त्यसको पुष्टि गर्ने मात्रै हो भन्ने कुरा त्रिवि शिक्षण अस्पताल पुग्दा त्यहाँका एक प्रहरीबाट थाहा पाइयो । हराएका आफन्तको खोजी त परिवारले नै गर्नुपर्ने कुरा उनले निर्धक्क सुनाए । अर्को दिन बिहानसम्म पनि उनको कुनै पत्तो नलागेपछि हामी मिडियामा सूचना दिन विज्ञापन एजेन्सीमा पुग्यौं ।
त्यो कठिन परिस्थितिमा हामीले दुई दिनअघि हराएकी राम्रै परिवारकी एक महिला तेस्रो दिन धरहरा नजिकै फेला परेको थाहा पायांैं । उनलाई शायद बिर्सने रोग ‘डिमेन्सिया’ थियो । त्यस्तै बनेपाकी अर्की महिला आफ्नो बाटो बिर्सेर शिक्षण अस्पताल पुगेको र उनलाई परिवारको जिम्मा लगाइएको पनि सुनियो । यस्ता खबरले हाम्रो आशा बढाएको थियो ।
कुनै खबर नपाएर चिन्ता बढिरहेकै बेला एक्कासी हाम्रा ‘हिरो’ बूढा मुस्काउँदै ट्याक्सीबाट झर्दै गरेका देखिए । हराएको ठ्याक्कै २९ घण्टापछि दिउँसो दुई बजे जस्तो गएका थिए उस्तै अवस्थामा आरामले फर्केका बूढा पहिले जस्तै केही नभनी मुस्कुराई रहँदा एकछिन त झ्वाँक पनि चल्यो । तर हामी तुरुन्तै हर्षित भयौं । बरु उनले पो हामीलाई किन यस्तो अधीर भएको भनेर घुक्र्याउन थाले । बारम्बार कहाँ जानुभएको भनेर सोधिरहेपछि समय आएपछि सबै बेलीविस्तार लाउने र यसबारे अझ केही लेख्ने पनि बताए ।
हाम्रो खुल्दुली भने मेटिएन । कुरैकुरामा उनले बस छुटेको कुरा फुस्काए । हामीले त्यो छुटेको भनेको बस या त मनकामना या पलाञ्चोकबाट फर्कने बस हुनुपर्ने अनुमान लगायौं । मनकामनाकै बस छुटेको हुनुपर्ने हाम्रो जोड थियो । तर अचम्म, उनले कुनै प्रसाद ल्याएका थिएनन् । शायद उसै दिन फर्कने बूढाको विचार थियो होला, बस छुटेछ भन्ने लाग्यो ।
बूढा हराएको पहिलो २४ घण्टासम्म टोलाएर बसेकी उनीभन्दा पाँच वर्ष कान्छी ८६ वर्षकी मेरी आमाले पछि त हरेस खाइसकेकी थिइन् । तर बेपत्ता भएका बूढाले उनको त्यो अवस्थाप्रति पनि कुनै चासो देखाउन जरुरी ठानेनन् ।
गणित उनको पहिलो प्रेम जस्तै थियो । उनले सधैं त्यसैलाई पछ्याइरहे । सन् १९८४ मा अवकाश लिएपछि उनी पारिवारिक मामिला र सांसारिक चिन्ता सबै कुराबाट मुक्त भए । बरु उनी लक्ष्मीप्रसाद देवकोटाका रचनामा हराए, तिनलाई आफ्ना सुन्दर तस्वीरकृतिमा उतार्ने काम गरे, खास गरेर उनको गणित–२ को लागि । गणित कठोर कुरा हो भन्ने छाप मेटेर त्यसलाई सरल बनाउने यत्नको परिणामस्वरुप यी वृद्धको गणित र कविता कृति प्रकाशित भैसकेको छ ।
यी दुई अमिल्दा विषयलाई जोड्ने उनको प्रयासलाई धेरैले पचाउन सक्दैनन् । तर व्याकुल, एक्लो योद्धा आफ्नै बाटो अघि बढिरहेका छन् । हाम्रा लागि भने यो दशैं प्रसन्नतापूर्वक सम्पन्न भयो, शुरूमा केही असहज भए पनि ।
(१८ कात्तिक २०६९ को रिपब्लिकाबाट साभार तथा अनुदित)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
