समाचारबिहीबार, साउन २१, २०७२
टाँगियाबस्तीमा हानाथाप
एउटा नगरपालिकाको जमीन, अर्कैको बासिन्दा र तेस्रोसँग जोडिएको नाम। बारामा प्रस्तावित निजगढ विमानस्थल निर्माण क्षेत्र टाँगियाबस्तीको हैसियत यस्तै छ, जसले तीन नगरपालिका बीच स्वामित्व विवाद चर्काएको छ।
टाँगियाबस्ती हाल कोल्हवी नगरपालिकामा पर्छ तर, बस्तीवासीको मतदाता नामावली भने छिमेकी गढीमाई नगरपालिकामा पर्छ।
सरकारी सेवा पनि गढीमाईबाटै पाउँछन्। नाम भने निजगढ नगरपालिकासँग गाँसिएको छ।
विमानस्थल सञ्चालनपछि लाभको लोभमा जिल्लाका तीन वटै नगरपालिका हानाथाप गरिरहेका छन्। हाल उक्त क्षेत्रमा विमानस्थल क्षेत्रको चार किल्ला निर्धारण र घेराबारा भइरहेको छ।
“मतदाता एउटाको र जमीन अर्कोको हुनै सक्दैन”, बारा–६ का पूर्व सभासद् एवं गढीमाईवासी जयराम दाहाल भन्छन्, “नाप–नक्शामा जे भए पनि भोगचलनको हिसाबले विमानस्थल क्षेत्र गढीमाईकै हो।”
गढीमाईका कार्यकारी अधिकृत अमरनाथ ढकाल सरकारी कामकाज र व्यवहारका कारण पनि टाँगियामा आफ्नो नपाको पहिलो हक हुने दाबी गर्छन्।
साविकको ककडी–५ मा पर्ने टाँगियाबस्तीवासी सीमा जोडिएका कारण डुमरवाना–७ मै भर पर्ने गर्थे। तर नक्शामा भने यो बस्ती साविकको ककडी–५ मै पर्दथ्यो। हाल डुमरवाना गढीमाईमा पर्छ भने ककडी कोल्हवी नपामा।
विमानस्थल निर्माण क्षेत्र आफ्नो सिमानाभित्र पर्ने प्रमाण सहित कोल्हवी नगरपालिकाले दाबी गरेपछि विवादले नयाँ रूप लिएको छ।
कोल्हवीका कार्यकारी अधिकृत भीमबहादुर परियार भन्छन्, “टाँगियाबस्ती हाम्रो नक्शाभित्र छ, ठेगाना पनि सोही अनुसार हुनुपर्छ।” टाँगियावासीलाई कोल्हवीकै मतदाता सूचीमा राख्न र सबै सेवा उपलब्ध गराउन आफूहरू तयार रहेको पनि उनी बताउँछन्।
विमानस्थल आयोजना प्रमुख वकिल चिमोरिया भने स्थानीयस्तरमा जतिसुकै विवाद गरे पनि सरकारी कागजातमा आयोजनाको नाम र ठेगाना ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा’ मात्र रहेको बताउँछन्।
यो विवादमा टाँगियावासी भने मौन छन्। बरु, उनीहरूलाई बस्ती विस्थापित हुने चिन्ता छ। बस्तीवासीले मुआब्जा बापत धान फल्ने दुई बिघा खेत र पाँच कट्ठा घडेरी सहितको ठाउँको माग गर्दै आएका छन्।
२०३९ सालमा वृक्षरोपण क्षेत्रमा गोडमेल र बिरुवाको सुरक्षा गर्न भनी बसाइएको टाँगियाबस्तीमा अहिले करीब १० हजारको बसोबास छ।
“हिजोसम्म कसैले हाम्रो वास्ता गर्दैनथे, आज फाइदा हुने देखेपछि होडबाजी चलेको छ”, टाँगिया सरोकार समितिका संयोजक रमेश सापकोटा भन्छन्।
गोकुल घोरसाइने, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
