समाचारबिहीबार, साउन २१, २०७२
भान्सा धान्दै मलमूत्र

चर्पी ग्यासबाट होटलमा रोटी बनाउँदै विष्णुदेवी पोखरेल।
मान्छेको मलमूत्रबाट उत्पादित ग्यासलाई होटलको भान्सामा प्रयोग गर्ने प्रस्ताव सुन्दा विष्णुदेवी पोखरेल (४३) लाई घिन लागेको थियो।
त्यसपछिको पालो ग्राहकको थियो, मीठो मान्दै चिया पिउँदै गरेकाहरू पनि जब शौचालयको ग्यासबारे थाहा पाउँथे, मुख बिगार्दै छाडेर हिंड्थे। होटल देख्दा नाक थुन्ने पनि प्रशस्तै थिए।
९ वर्षपछि स्थिति अलग छ। “अहिले शौचालयको ग्यासबारे कुरा गर्दै ग्राहक ढुक्कले खान्छन्”, बिर्तामोडस्थित कृषि थोक बजारमा होटल चलाइरहेकी पोखरेल भन्छिन्।
बजारमै रहेको सार्वजनिक शौचालयको ग्यास चलाइरहेकी उनी यसबाट प्रति महीना रु.६ हजार खर्च कम भएको बताउँछिन्।
“फोहोर गन्हाउला भन्ने लागेको थियो, तर होइन रहेछ”, होटलका नियमित ग्राहक हरिओम न्यौपाने (४९) भन्छन्।
पोखरेललाई स्थानीय आदर्श सामुदायिक प्रहरी सेवा बिर्तामोडका अध्यक्ष चैतन्यप्रकाश मैनाली (६०) ले शौचालयको ग्यास प्रयोगका लागि मनाएका थिए।
ग्यासकै कारण पोखरेलको होटलमा ग्राहक घटेपछि आफ्ना साथीहरू सहित ग्राहक बटुल्ने काममा मैनाली स्वयं लागिपरे।
मैनाली हाल बिर्तामोडका पाँचसयभन्दा बढी भान्सामा यस्तो ग्यासबाट खाना पाकिरहेको बताउँछन्। भन्छन्, “रु.२८ हजारजति खर्च गरे ट्याङ्कीदेखि चूलोसम्म ग्यास आइपुग्छ।”
बिर्तामोड नगरपालिका–७ का नगेन्द्रराज प्रसाई (४८) पनि आठ वर्षदेखि शौचालयबाटै आएको ग्यास चलाइरहेका छन्।
वहालमा र आफ्नो परिवारसहित ११ जना बस्ने उनको घरमा खपत हुने इन्धनको तीनचौथाइ गर्जा शौचालयबाटै चलिरहेको छ।
उनी भन्छन्, “रोटी, माछामासु सबै यसैमा पाक्छ।” आठ वर्षदेखि चर्पी सोहोर्नु नपरेको उनको भनाइ छ।
मानिसको मलमूत्रमा चौपायाको गोबरमा जस्तो सेलुलोज नहुने भएकाले लेदोको रूपमा बाहिर जाने बस्तु अत्यन्तै कम हुन्छ।
त्यसकारण मिथेन लगायतका ग्यास ९८ प्रतिशतसम्म उत्पादन हुन्छ। यस अभियानका अगुवा मैनाली भन्छन्, “५० जना जतिको मलमूत्र जम्मा हुने चर्पीमा दश वर्षमा दश केजी जति मात्र फोहोर निस्कन्छ, बाँकी सबै ग्यास र पानीको रूपमा बाहिरिन्छ।”
उनी धुवाँ विना बल्ने मिथेनको गन्ध नहुने बताउँछन्।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
