समाचारबिहीबार, साउन २१, २०७२
सुदुरपश्चिमका नौ जिल्ला एकीकृत राख्न ४२ सभासदको माग
प्रदेशहरुको सीमांङकन गर्दा सुदूरपश्चिमका ९ जिल्लालाई मिलाएर एकीकृत प्रदेश बनाउन भन्दै सुदूरपश्चिमका विभिन्न दलका ४२ जना सभासद्हरूले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
पत्रमा प्रदेशको निर्माणको सम्बन्धमा सुदुरपश्चिमाञ्चलका ९ वटै जिल्लाको हालको सिमानालाई नै कायम गरेर एकीकृत प्रदेश बनोस् भन्ने माग रहेको कांग्रेस सभासद् बिरबहादर बलायरले बताए ।
‘‘ऐतिहासिक निरन्तरता, भौगोलिक बनोट, साँस्कृतिक एकता, भाषिक जातीय एकरुपता र मेलमिलाप जस्ता मौलिक आधारमा यस क्षेत्रलाई एउटै प्रदेश बनाइनु पर्दछ भन्ने हामी सबैको साझा निष्कर्ष हो,’’ पत्रमा भनिएको छ ।
पत्रमा अगाडि लेखिएको छ, “त्यस क्षेत्रका जनताले विगतमा स्वतःस्फूर्तरुपमा गरेको ३२ दिने आमहड्तालले हामी जनप्रतिनिधिलाई एकतावद्ध हुनु प्रेरित गरेको र प्रमुख राजनीतिक पार्टीका नेताहरुले आन्दोलनकारी जनतासँग गरेको सम्झौतालाई फेरी स्मरण गराउन चाहान्छौ ।”
सुदुरपश्चिमका ४२ सभासदहरुले सबैखाले विभेद, असमानता र शोषणको अन्त्यको पक्षमा आफूहरु रहेको उल्लेख गर्दै यस क्षेत्रमा रहेको प्राकृतिक साधनस्रोत र मानव संसाधनको अधिकतम उपयोग गरेर जनताको जीवनमा समृद्धि ल्याउनु पर्दछ भन्ने विषयमा पनि आफूहरुबीच पूर्णसहमति रहेको बताएका छन् ।
‘‘कैलाली कञ्चनपुर जिल्लामा रहेको चौधरी र रानाथारु जातीको सघन वसोवासको उचित सम्वोधन हुनु पर्दछ भन्ने विषयमा पनि हामी सहमत छौ । त्यस क्षेत्रका जनता, जनप्रतिनिधी, सामाजिक क्षेत्रका अगुवाहरु समेतको चाहाना बमोजिम सिंगै सुपको एक प्रदेश बनाउन सबै दलका नेताहरु एकमत रहनु हुनेछ भन्ने विश्वास सहित यो स्मरण पत्र पेश गर्दछौ,’’ पत्रमा लेखिएको छ ।
आफूहरुको सामुहिक भावनाको प्रतिकुल हुनेगरी कुनै प्रकारको कामकारवाही भएमा कडा कदम चाल्न वाध्य हुने पनि पत्रमा चेतावनी दिइएको छ ।
कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
