समाचारबिहीबार, साउन २१, २०७२

शीर्ष नेताहरुबीच अाज पनि कुरा मिल्न सकेन

हिमालखबर

सीमाकंनसहितको संघीयताबारे छलफलमा जुटेका शीर्ष नेताहरुबीच दिनभर छलफल भएपनि कुरा मिल्न सकेन ।

पूर्वी तराईका तीन जिल्ला र सूदुरपश्चिमका दुई जिल्लाबारे नेताहरुबीच सहमति जुट्न नसकेपछि २२ साउन विहान ९ बजे अर्काे बैठक बस्नेगरी बैठक सकिएको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले बताए । बैठकबाट बाहिरिदै नेता देवले भने, “विभिन्न विकल्पमा छलफल भएपनि कुरा मिल्न सकेन ।”

६ प्रदेशसहित संघीयताको सीमाकंन टुंग्याउन प्रमुख चार दलका शीर्ष नेताहरुबीच तीनदिनदेखि लगातार छलफल भइरहेको छ । २० साउनमा पूर्वका तीन जिल्ला पहाडसँग मिसाउन सहमत भइसकेका नेताहरुबीच पश्चिमका कैलालीलाई कता राख्ने भन्ने विवाद मिल्न सकेको थिएन ।

तर, कैलालीलाई तराईको प्रदेशमा राख्ने कि पहाडमा भन्ने विवाद आज दिनभरको प्रयासबाट पनि मिल्न सकेन । अाज अन्तिम सहमति जुटाउने भनेका दलहरुबीच कुरा नमिलेपछि मधेशी जनाधिकार फाेरम लाेकतान्त्रिकका अध्यक्ष विजय गच्छदार विराटनगर गएका छन् ।

फोरम लोकतान्त्रिकको नयाँ प्रस्ताव
तराईका विवादित पाँच जिल्लालाई तराई प्रदेशमा राख्नुपर्ने अडानमा रहेको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले छलफलमा नयाँ प्रस्ताव राखेको छ ।

लोकतान्त्रिकले मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरको छुट्टै प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेको छ । झापा र कञ्चनपुरलाई पहाडसँग मिसाउन तयार भएका लोकतान्त्रिकले थप अर्काे प्रदेश बढाएर सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, यो प्रस्ताव पनि नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी तयार नभएको नेता जितेन्द्र देवले बताए । विहान ७ बजेबाट शुरु भएको शीर्ष बैठक पटक–पटक बसेपनि सहमतिलाई टुंग्याउन सकेन ।

१६ बुँदे राजनीतिक सहमतिलाई बटमलाइन बनाएका दलहरुले सीमाकंन पनि टुंग्याउने प्रयत्न गरिरहेका छन् । १३ साउनमा नयाँ संविधानको मस्यौदामा आएको जनताको सुझाव प्रतिवेदन तयार पार्न चार दिनको समय दिएपनि शीर्ष नेताहरुको छलफल सहमतिमा पुग्न नसकेपछि प्रतिवेदन तयार हुन सकेको छैन ।

शीर्ष नेताहरुबीच सीमाकंनसहितको प्रदेशमा सहमति नजुटेपछि आज बोलाइएको संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक पनि सरेकाे छ । उक्त बैठक २२ साउन दिउँसाे १ बजे बाेलाइएकाे छ ।

कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>