ब्लगशनिबार, साउन २३, २०७२
बन्छ नेपाल
गाउँलेले यस्सो छाम्दा भेट्ने स्थानीय सरकार हराएको थुप्रै भइसक्यो।
देश विकासलाई लिएर पछिल्लो दशकमा हामी अतिशय चिन्तित छौं। सोचे जस्तो विकास नहुँदा हामी साह्रै निराश हुन लागेका छौं। कतिसम्म भने, १० जनाको बीचमा ‘नेपाल बन्ला त?’ भनेर सोध्ने हो भने आठ जना नकारात्मक पाइन्छन्। बने पनि हाइटी जस्तो बन्ने जवाफ पाइन्छ। तर, नेपाल अवश्य बन्छ र यो हाइटी वा जापान जस्तो नभई नेपाल जस्तै बन्छ।
पहिलो कुरा त नेपाल नसुध्रेको र नेपाली विकासमा नपल्केको भए विकासको धिमा गतिमा यो विघ्न आपत्ति हुने नै थिएन। हो, विकासमा बद्मासी नघुसाइएको भए, महाभूकम्पपछिको परिवेशमा भन्नुपर्दा– नभत्किने, मान्छे नमर्ने निर्माण विधि अपनाइएको भए यो यात्रा असाध्यै मीठो हुन्थ्यो।
कति खपिरहनु प्रकोप
भूकम्पपछिको पुनःनिर्माण शुरू हुनै लाग्दा जमीनमा थुप्रेको घरको ढुंगा, काठ र टीनबाट टहरा बनेका छन्। गाउँमा सरकार पसे पहिलेभन्दा व्यवस्थित, सजिलो र बलियो घर बन्छ नपसे त्यही टहरोलाई ‘पहरो’ मानेर बस्ने बाध्यता सिर्र्जना हुन्छ। परिस्थितिले मान्छेलाई त्यसै पनि थेत्तरो बनाउँछ। केहीले पक्कै शहरिया शैलीका घर बनाउलान्, तर दुई–चार वटा ढलानघर बन्यो भन्दैमा गजब भयो भन्न मिल्दैन। ‘ढलानको रोपाईं’ देश बनेको सूचक होइन पनि।
शहरी विकास मन्त्रालय र अरूले पनि गाउँका लागि घरका विभिन्न डिजाइन तयार पारेका छन्। अब गाउँका निर्माणकर्मीहरूलाई ती नक्शा बुझाउन पनि सरकार धमाधम गाउँ पस्नुपर्यो। गाउँका घरबस्ती राम्रा र प्रकोपसँग जुध्नेगरिको बलिया भए भने त्यसको पहिलो फाइदा त्यो उपयोग गर्ने जनतालाई हुन्छ, दोस्रो फाइदा सरकारले पाउँछ।
भुईंचालोमा धेरै ठाउँमा घर भत्किंदा जसोतसो गरेर सरकारले नै पाल पुर्यायो। अस्थायी आवास बनाउन रु.१५ हजार बाँडिरहेको सरकारले घर बनाउन पनि पैसा दिन्छु भनेको छ। स्वदेशी, विदेशी दाता सबैलाई आह्वान गरेर पैसा जुटाउने काम पनि गरिरहेको छ। यो उसको कर्तव्य पनि हो। घरबारविहीन भएर दुःख पाएका नागरिकको अभिभावक सरकार नै हो। अन्तर्राष्ट्रिय समुदाय, आईएनजीओ, एनजीओ र मनकारीहरू सहयोगी मात्र हुन्। सरकार यही रूपमा गाउँ पस्यो भने अर्को पुस्तालाई अहिलेको संरचना काल बन्ने छैन।
सरकार गाउँ पस्दा पैसा, नक्शा, निर्माण निर्देशिका, इन्जिनियर र बलियो इच्छाशक्ति सहित पस्नुपर्यो। शहर बन्नुमा धेरथोर मिहिनेत इन्जिनियरले गरेको हुन्छ। गाउँचाहिं आफैं बनिरहेछ। पुस्तौं पुस्ताले सय ठक्कर र हजार हण्डर खाएर असंख्य क्षति बेहोरेपछि एउटा गाउँ अलि समय बस्नलायक बन्छ। त्यो प्रयोगले धेरै क्षति पुर्याएको छ। एउटा पुस्तालाई खोलाले, अर्को पुस्तालाई पहिरोले र झ्न् अर्को पुस्तालाई भैंचालोले खायो।
अब घर मात्रै हैन, सिंगो बस्तीको जाँच गर्नुपर्छ। जाँच्दा बिरामी बस्ती भेटियो भने नजिकै सुरक्षित स्थान हेरेर बसोबासयोग्य गाउँ बनाउनुपर्छ। गाउँको डिजाइन गर्दा पानीको मुहान, वन र संस्कृतिका डोबहरूलाई बिर्सन मिल्दैन। अब गाउँको समग्र जीवनशैली सुहाउँदो व्यवस्थित र एकीकृत घरबस्ती बन्नुपर्छ।
गाउँ मात्र किन, शहर पनि बन्नुपर्छ। शहर बनाउँदा सरकारले डोजर जोतेर बाटा फराकिलो पार्ने, घर मुड्न लगाउने शैली त्याग्नुपर्छ। पहिला त सोच फराकिलो पार्नुपर्यो। दमनबाट यसो–उसो गर्छु भन्ने धङधङीबाट मुक्त हुनुपर्यो। यो युगमा लोकतान्त्रिक चरित्र नमिसिएको भौतिक विकासको औचित्य छैन। बाटा साँघुरा भए भन्दै जनताको घरमा डोजर चलाउने अभ्यास थुप्रै भए। अब सरकारले शहरमा टुक्रे घडेरी र साँघुरा बाङ्गाटिङ्गा बाटा बन्ने ‘गडबड’ नीति नै फेर्नुपर्छ।
नयाँ प्लानिङ र प्लटिङमा नयाँ नियम अनि पुरानोमा व्यावहारिक नियम बनाए असल हुन्छ। जग्गाको मात्र होइन, बाटोको चौडाइको अनुपातमा पनि घर कत्रो बनाउने भन्ने मापदण्ड बन्नु र लागू हुनुपर्छ। साँघुरो बाटोतिर सानो घर, फराकिलो बाटोमा ठूलो घर व्यावहारिक र राम्रो पनि हुन्छ। समस्याको वर्गीकरण, प्राथमिकता र समाधानमा विज्ञानसम्मत र प्रजातान्त्रिक तरीका अपनाउनुपर्छ। विकास सभ्य तालले हुनुपर्यो, रातारात चमत्कारको जरूरी छैन।
सरकार भनेको सिंहदरबार मात्रै होइन, नवनिर्माण अगाडि स्थानीय निकायमा जनताका मान्छे छान्ने चुनाव हुनुपर्यो। जनता चौरमा भेला भएर हात उठाएर भए पनि आफ्नो प्रतिनिधि छान्न लालायित छन्। नेपाल सुधार्नेको जय होस्!