समाचारशनिबार, साउन २३, २०७२
अखण्ड सुदुरपश्चिमको माग गर्दै कैलाली र कन्चनपुर बन्द
अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको हडतालका कारण कैलाली र कञ्चनपुरमा यात्रुको बिचल्ली भएको छ ।
बन्दका कारण आज दोस्रो दिन पनि धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेपछि भारतलगायत विभिन्न ठाउँबाट आएका सयौँ यात्रु धनगढी बसपार्कमा अलपत्र परेका हुन् ।
बन्दबाट कैलालीका धनगढी, अत्तरिया, टीकापुर, लम्कीलगायत क्षेत्रका पसल, उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै ठप्प हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बन्द आह्वानकर्ताले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।
बन्दका कारण पर्याप्त मात्रमा होटलसमेत नखुल्दा एउटै कोठामा आफूहरुले ठेलमठेल गरेर बस्नुपरेको भारतको पुनाबाट आएर धनगढी बसबिसौनीमा अलपत्र परेका कैलाली, लम्कीका ललित विष्टले गुनासो गरे ।
धनगढीको बसबिसौनीका होटलमा झन्डै दुई सय यात्रु गन्तव्यतर्फ जान नपाई अलपत्र परेको अर्का यात्रु बलबहादुर धामीले बताए ।
बन्दका कारण दैनिक मजदुरी गरेर गुजारा गर्नेहरु पनि मर्कामा परेका छन् । व्यापार व्यवसाय ठप्प भएपछि दैनिक उपभोग्य वस्तुसमेत नपाउँदा समस्या भएको उपभोक्ताको गुनासो छ ।
यता थारु सम्बद्ध पार्टी तथा सङ्घसङ्गठनले पनि विज्ञप्ति जारी गरी अखण्ड सुदूरपश्चिमबाट कैलाली कञ्चनपुरलाई अलग गरी थरुहट प्रदेशमा गाभ्नुपर्ने बताउँदै आन्दोलन थालेपछि सर्वसाधारण दोहोरो मारमा परेका छन् ।
बन्दले कञ्चनपुरको जनजीवन प्रभावित
सुदूरपश्चिम क्षेत्रलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।
सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुवाहक सवारीसाधन बन्द रहेका छन् । सवारीसाधन बन्द हुँदा यात्रु पैदल नै गन्तव्यमा जान थालेका छन् ।
यहाँका महेन्द्रनगर, दैजी, झलारीलगायतका बजार फाट्टफुट्ट रुपमा मात्रै खुलेका छन् ।
बन्दकर्ताले सुदूरपश्चिमलाई अखण्ड राख्ने प्रतिबद्धता नआउँदासम्म बन्दका कार्यक्रम जारी रहने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
