समाचारशनिबार, साउन २३, २०७२

दिल्लीमा दबाब दिइयो तर, गढिमाईमा बलि रोकिंदैनः पूजारी मंङ्गल चौधरी

हिमालखबर

mangal_chaudharyबाराको बरियापुरस्थित गढीमाई मेलामा प्रत्येक पाँच वर्षमा हुने मेलामा पशु बलि रोक्ने कुनै निर्णय नभएको मन्दिरका मुल पूजारी मङ्गल चौधरीले स्पष्ट पारेका छन् ।

केही दिनअघि भारतको दिल्लीमा भएको पत्रकार सम्मेलनलाई उद्धृत गर्दै भारतीय र अन्य देशका सञ्चारमाध्यमहरुले गढीमाईमा पशुबली रोक्न मन्दिरका पूजारी र सञ्चालनक समिति मञ्जुर भएको समाचार प्रकाशित गरेका थिए ।

उक्त समाचारमा सत्यता नभएको मन्दिर सञ्चालन तथा विकास समिति अध्यक्ष रामचन्द्र साहले बताइसकेका छन् भने भर्खरै दिल्लीबाट फर्किएका मुल पुजारी मङ्गल चौधरीले पनि बलि रोक्ने कुनै निर्णय नभएको बताएका छन् ।

ह्युमन सोसाइटी इन्टरनेशनलको निमन्त्रणामा दिल्ली पुगेका मुल पुजारी मङ्गल चौधरी र व्यवस्थापन समितिका पदाधिकारीले १२ साउनमा पत्रकार सम्मेलन मार्फत बलि रोक्ने घोषणा गरेको दाबी गर्दै पशुअधिकारबादी संस्थाले विज्ञप्ती जारी गरेका थिए ।

संस्थाको विज्ञप्तिले सर्वत्र चासो बढाएपछि समितिका पदाधिकारी र पूजारीले भने आफूहरुले त्यस्तो घोषणा नगरेको भन्दै उक्त समाचारको खण्डन गर्दै आएका छन् ।

पशु कल्याण सञ्जाल नेपालको सह्योगमा समितिका पदाधिकारीसँगै दिल्ली पुगेका मन्दिरका पूजारी मङ्गल चौधरीले पत्रकार सम्मेलनमा भएको कुरालाइ बंग्याएर बिज्ञप्ति जारी गरिएको बताए ।

बली रोक्ने बिषयमा आफूहरुले केही नबोलेको चौधरीको भनाइ छ ।

चौधरीले दिल्लीमा भएको पत्रकार सम्मेलनमा बलि रोक्ने घोषणा गर्न आयोजकले दबाव दिए पनि आफूले भने बलि रोक्ने अभियान र बलि दिनु पाउन पर्छ भन्ने कसैलाई पनि नरोक्ने बताएको दाबी गरे ।

उनले आफूहरुलाई दिल्ली लगेर सिधै पत्रकार सम्मेलनमा सहभागी गराइएको र बलि रोक्न दबाव दिइएको बताए ।

भने, “बलिका विषयमा छलफलको कार्यक्रम आयोजना गरिएको होला भन्ने ठानेका थियौं तर, त्यहाँ पाँच जना पत्रकार मात्रै भएको ठाउँमा लगेर आयोजकले ‘ल बली रोक्ने घोषणा गर्नुस्’ भन्दै दबाब दिए ।”

चौधरीका अनुसार बिश्व हिंसा बिरोधी स्वामी अग्निवेश र बाबा रामदेव पनि सहभागी हुने बताइए पनि कार्यक्रममा सहभागीको संख्या १५ मात्रै थियो र १५ मिनेंटमा सकिएको थियो ।

उनले भने, “हामीलाई झुक्याइयो ।”

चौधरीसँगै ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहा, सहसचिव राजेन्द्र लहेरा, सद्स्य त्रिपुरारी साह र पशु कल्याण सञ्जाल नेपालका मनोज गौतम दिल्ली पुगेका थिए ।

कार्यक्रममा पुगेका ब्यवस्थापन समितिका अन्य पदाधिकारीले पनि गढीमाईमा चढाइने बली रोक्न आफूहरुले नमिल्ने बताएका थिए ।

चौधरीले भने, “पशुबलि रोक्ने अभियानमा हामीले कुनै दखल दिंदैनौ, आस्था राख्नेहरु आफैले बलि नदिए हामीलाई आपत्ति छैन तर, बलि दिन आउनेलाई रोक्न पनि हामी सक्दैनौं ।”

उनले नेपालको गढीमाईमा दिइने पशुबलि रोक्नका लागि दबाब दिने भारतीय र अन्य संस्थाहरुले पहिले भारतकै विभिन्न स्थानमा दिइने बलि रोक्न चुनौति समेत दिए ।

उनले भने, “यहाँ बलि दिने पनि नेपाली भन्दा बढी भारतीय नै हुन्छन्, उनीहरुलाई नै रोके भइहाल्यो नी ।”
उनले लाखौं भक्तजनको भीड लाग्ने मेलामा बधशाला निर्माण गरेर बलिलाई अरु व्यवस्थित गरिने बताए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>