थप समाचारमंगलबार, साउन २६, २०७२

पहिरोले डोटीमा ६ र गुल्मीमा ३ को मृत्यु

हिमालखबर

डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर २५ साउन राति एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ जना एकै परिवारका हुन् ।

पहिरोमा परी डौड गाविस–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उहाँका छोराहरु १२ वर्षीय हर्क विष्ट र पाँच वर्षीय वीरेन्द्र विष्ट, छोरीहरु आठ वर्षीया सरु विष्ट र आठ महिनाकी भावना विष्टको मृत्यु भएको हो । पहिरोमा परेर डम्बरबहादुर घाइते भएका छन् ।

यस्तै, डौड गाविसकै वडा नं १ मा पहिरोले घर पुरिँदा ७५ वर्षीया चम्पादेवी सिंहको मृत्यु भएको डौड प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नवराज अवस्थीले जानकारी दिए ।

“लगातार पानी परिरहेको छ, उद्धारमा कठिनाइ भइरहेको छ” उनले भने ।

डौड गाविसभरि विभिन्न ठाउँमा लगातार पहिरो गइरहेको छ । पहिरोबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन नसकेको इञ्चार्ज अवस्थीले बताए ।

“गाउँ वरपरका खोलामा बाढी आएका कारण प्रहरी टोली घटनास्थलमा पुग्न सकिरहेको छैन” उनले भने । अहिले उक्त क्षेत्रमा टेलिफोन नेटवर्कसमेत अवरुद्ध छ ।

गुल्मीमा एकै परिवारका तीनको मृत्यु

वर्षाका कारण आएको पहिराले घर पुरिंदा २६ साउन विहान गुल्मीको दिबु्रङ्गमा ३ जनाको मृत्यु भएको छ ।

घरमै सुतिरहेका दिब्रुङ्ग– १ गल्छेराका खड्क बहादुर सार्कीको घर पहिरोले पुरिंदा उनकी ३५ वर्षीया श्रीमति आशा सार्की, ९ वर्षीय छोरा गगन सार्की र ३ वर्षीय छोरा इन्दु सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार सार्कीको ५ जनाको परिवार घरमा सुतीरहेको तर पहिरो आएको थाहा पाएर १३ वर्षीय जेठी छोरी सुस्मा र ११ वर्षीय माइली छोरी रेनु सार्की भागेर ज्यान बचाउन सफल भएका छन् ।

पहिरोले एक तले टिनले छाएको घर पुरेको हो । खड्क बहादुर सार्की रोजगारीको सिलसिलामा अहिले साउदी अरबमा छन् ।

-गगनशिला खड्का

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>