टिप्पणीबुधबार, साउन २७, २०७२
‘नयाँ नेपाल’ को नाममा
दशकअघि लोकप्रिय ‘नयाँ नेपाल’ र ‘क्रमभंगता’ जस्ता शब्दले समाजका जडता र रूढिवादिता हटाउनुपर्ने हो। तर, यसका न्वारनकर्ता मुलुकको इतिहास नै समाप्त गर्नेतिर लागे।
२०६२/६३ को जनआन्दोलनपछि समाज र राजनीतिमा एक जोडी नयाँ शब्द ‘नयाँ नेपाल’ ले अकस्मात् प्रवेश गर्यो। शब्दको अर्थ निर्माणसँग जोडिए पनि व्यवहारमा सबै पुराना कुरा, चाहे ती परम्परा हुन् वा मान्यता; भत्काउनुपर्छ भन्ने अन्तर्य देखियो।
‘नयाँ नेपाल’ को समपूरणमा ‘क्रमभंगता’ पनि जबर्जस्त चल्तीमा आयो। दशकअघि ज्वार झैं उन्माद सिर्जना गरेका ती शब्दको हालत अहिले हारेको सिपाही जस्तै भएको छ।
विडम्बना चाहिं ‘नयाँ नेपाल’ को प्रारम्भ तिनै व्यक्तिबाट भयो, जसलाई कसूरदार ठहर्याएर माओवादीहरूले ‘जनयुद्ध’ छेडेका थिए।
२०६३ को संसद् पुनर्स्थापनापछि उही गिरिजाप्रसाद कोइराला नै ‘नयाँ नेपाल’ का प्रधानमन्त्री चुनिए, जसका प्रबल समर्थक तिनै क्रमभंगतावादीहरू नै थिए।
त्यसै वर्षको मंसीरमा भएको विस्तृत शान्ति सम्झौतालाई लिएर हिमाल खबरपत्रिका मा रविन साय्मिले बनाएको कार्टुन (हे. कार्टुन) को सम्झना यतिवेला झनै सान्दर्भिक हुन्छ।
कार्टुनमा शान्ति सम्झौताको प्रतीकका रूपमा बनाइएको ढुंगेधाराबाट प्रवाहित पानीमा संसद्वादी खेमाका नेता तत्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो हातको कालो र तत्कालीन माओवादी जनसेनाका सर्वोच्च कमाण्डर एवं अध्यक्ष ‘प्रचण्ड’ ले आफ्नो हातको रातो (रगत) धोइरहेका थिए।
त्यसयता ‘नयाँ नेपाल’ अभियानमा मुलुकका निर्माता, राष्ट्रिय धरोहर र मानहरूमाथि धावा बोलियो।
यो घानमा सुरुआतमै परे, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह। शनैः शनैः आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि परे।
शाहवंशका राजाहरूका सालिक तोडिए। यतिसम्म कि राष्ट्रिय झण्डा र राष्ट्रको नामसम्म फेरिनुपर्ने स्वर सुनिए।
संक्रमणकालीन अवस्था, खस्किएको सुरक्षा स्थितिको फाइदा उठाउँदै जे–जे कुराले राष्ट्रिय अखण्डता र नागरिकबीचको एकताको जग कमजोर पार्न सकिन्छ, सबै हत्कण्डा अपनाइए। इतिहास मेटाउन हरसंभव कुचेष्टा गरिए।
अहिले परिदृश्य फेरिएको छ। जनताले ज–जसबाट उच्च अपेक्षा राखेका थिए, उनीहरूको परीक्षण सकिएको छ।
‘नयाँ नेपाल’ बनाउँछु भन्नेहरूले देशलाई कुन रसातलसम्म पुर्याए, त्यो सबैसामु छर्लङ्ग छ। अझ १२ वैशाखको महाभूकम्पपछि प्रकृतिले पनि आ–आफ्नो हैसियत सोच्न बाध्य बनाएको छ।
विपत्का प्रारम्भिक दिनहरूमा अकर्मण्य देखिएको राजनीतिक नेतृत्व जनआक्रोशको भुमरीमा परेपछि तहसनहस बस्ती छिर्न बाध्य भयो।
जनदबाबका अघि अविलम्ब संविधान ल्याउने वाचासहित १६ बुँदे सम्झौतामा हस्ताक्षर गरे।
महाभूकम्पले हामीलाई इतिहासको महत्व बोध गराएको छ।
मठ, मन्दिर र स्मारक जस्ता सम्पदाहरू देशको चिनारी मात्र नभएर रोजीरोटीका माध्यम पनि हुन्।
ती सम्पदा ढल्दा हाम्रो पर्यटनको ढाड नराम्ररी भाँचिन पुग्यो। धरहरा विनाको रित्तो आकाश हेर्दा हामी कुनै प्रियजन गुमाएको जस्तो शोकको अनुभूति गरिरहेका छौं।
चार दशकदेखि नेपाल बाहिर (हाल क्यानाडा) बस्दै आएका जियोटेक्निकल इन्जिनियर नरेश कोइरालाले भूकम्प लगत्तै इमेलमा लेखे, ‘जब म तन्नेरी थिएँ मैले ती प्राचीन सम्पदाहरूको खासै वास्ता गरिनँ, आज जब तिनीहरू ढलेको सुनें तिनीहरू कति महत्वपूर्ण रहेछन् भन्ने बोध गरिरहेछु।’
यहाँनेर चुक्यौं
हामीमध्ये धेरैले परम्परालाई पुरातनको अर्थमा लियौं। पुराना तोडिनु र नयाँ स्थापित हुनुपर्छ भन्ने एकोहोरो रटान लगायौं। तर, जहाँ पर्थ्यो, त्यहाँ हस्तक्षेप गर्न सकेनौं।
जड राजनीतिक नेतृत्व विस्थापित गर्न सकेनौं। के पुराना केही पनि मौलिक हुन सक्दैनन्?
चाँगुनारायण पुरानो मन्दिर हो, तर त्यो मौलिक वास्तुकलाको बेजोड नमूना हो। अहिले आधुनिकताका नाममा शहरभरि खुलेका सपिङ मलहरू नयाँ अवश्य हुन्, तर ती मौलिक होइनन्।
नयाँ नेपाल र क्रमभंगताका नाममा हामीले परम्परासँग जोडिएका जडता, अन्धविश्वास र रुढिवादिता हटाउनुपर्ने हो।
सामाजिक कलंकको रूपमा विद्यमान छुवाछूत निमिट्यान्न पार्न सक्नुपर्ने हो। तराईमा डोम युवालाई इनार छुन नदिइएको र तन्त्रसिद्धिको नाममा बालकलाई बलि चढाइएको दुर्भाग्यपूर्ण घटना सुन्यौं। क्रमभंगता त्यहाँ हुनुपर्ने होइन र?
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
