रमझमशुक्रबार, साउन २९, २०७२
विश्व चलचित्र महोत्सवमा नेपाली कलाकार (तस्वीरसहित)
अमेरिकाको सन्फ्रान्सिस्कोमा जारी ‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ अन्तिम चरणमा पुग्दै गर्दा नेपाली चलचत्रिकर्मीहरु ब्यस्त र उत्साहित भएका छन् ।
३० भन्दा वढी राष्ट्रको सहभागिता रहेको यो महोत्सवमा विभिन्न देशका चलचित्रकर्मी आउने क्रम जारी छ । महोत्सवमा नेपालसहित अमेरिका, भारत, चीन, मेक्सिको, इरान, रुसलगायतका देशका फिल्म र चलचित्रकर्मीहरुको सहभागिता छ ।
महोत्सवमा जोयस पाण्डे निर्देशित ‘साँघुरो,’ शंकर घिमिरेको ‘तुलसी,’ उदय सिंजापतीको ‘टाटा बाइबाइ’ प्रदर्शनका लागि छनोटमा परेका छन् भने छोटा चलचित्र अन्तर्गत फूलमान बलको ‘सेलफोन’ र जसकुमार राईको ‘सेक्रिफाइस नेभर डाइ’ को प्रदर्शन भइसकेको छ ।
नेपाली चलचित्रबारे महोत्सवमा सकरात्मक प्रतिक्रिया आइरहेको महोत्सवका निर्देशकमध्येका प्रकाश थापाले बताए । “महोत्सवले विश्वभरका फिल्मकर्मीलाई कम्तिमा नेपाली चलचित्रको स्वाद वुझ्ने अवसर दिएको छ,” उनले भने ।
निर्देशक जसकुमार राईले नेपाली फिल्म प्रवर्द्धनमा महोत्सवले धेरै सहयोग गरेको बताए । ७ अगस्तमा शुरु भई १६ अगस्तमा समापन हुने महोत्सवमा विश्वभरका १५० चलचित्र प्रदर्शनी हुँदैछन् ।
महोत्सवको विशेष आकर्षण भनेको बलिउड र नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेता सुनिल थापालाई ग्लोवल लाइफ टाइम एचिभमेण्ट अवार्ड प्रदान गरिदैछ । उनीसँगै हलिउडका ज्याकी चेन, भारतीय संगीतकार बप्पी लाहिरीलाई एउटै मञ्चमा सम्मानित गरिंदैछ ।
अन्तराष्ट्रियस्तरमा आफू सम्मानित हुँदा उत्साहित भएको अभिनेता थापाले बताए ।सन्फ्रान्सिस्कोमा हिमालखबरसँग कुरा गर्दै उनले यस अवार्डले आफूलाई अन्तराष्ट्रियस्तरमा नयाँ पहिचान दिने बताए ।
महोत्सव विभिन्न देशका चलचित्रकर्मीबीच विभिन्न सेसनमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ ।
नेपाल चलचित्र विकास वोर्डका सदस्य समेत रहेका निर्देशक सुरेश दर्पण पोखरेलले नेपाली सिनेमाको वजार विस्तार र निर्माण तथा नेपालमा पनि वक्स अफिस लागु गर्ने योजना बारे वलिउडका फिल्म विश्लेषक तरुण आदर्शसँग छलफल गरेका छन् ।
महोत्सवमा शंकर बिसीको नृत्य निर्देशनमा नायिका केकी अधिकारी र नन्दिता केसीले नेपाली लोकलयमा आधारित नृत्य प्रस्तुत गर्नेछन् ।
प्रस्तुतिको निम्ति सवैतयारी पूरा भइसकेको नृत्य निर्देशक बीसीले बताए । नेपाली मौलिक लोक धुन र फिल्मी गीत सहितको ७ मिनेट लामो नृत्यमा स्थानीय नेपाली कलाकरसमेत प्रस्तुत हुनेछन् ।
नयिका केकी अधिकारीले विश्वभरमा फिल्मकर्मीसँगको भेटले धेरै सिक्ने मौका पाएको बताइन् ।
शब्द/तस्वीर: अनुशील श्रेष्ठ, सन्फ्रान्सिस्को