थप समाचारशनिबार, साउन ३०, २०७२
अपराधको बढ्दो दलदल
दण्डहीनताबाट मौलाएको अपराधले सुन्दर पहाडी जिल्ला लमजुङलाई सास फेर्न गाह्रो बनाउँदैछ।
युवराज श्रेष्ठ, लमजुङ
प्लस टु शिक्षाका लागि सदरमुकाम बेसीशहर बसेकी बाहुनडाँडा–८ लामपाटाकी आइतकुमारी तामाङ (१९) को ७ जेठमा हत्या भयो। अनुसन्धानको क्रममा पक्राउ परेका बाहुनडाँडा ठुलबेसीका जितबहादुर अधिकारीले बलात्कारपछि हत्या गरेर आइतकुमारीलाई मर्स्याङ्दी नदीमा फालिदिएको साबिती बयान दिए।
भोटेओढार–४ पिप्लेका राममणि रेग्मीले गएको १५ असोजमा चिर्पटले हिर्काएर बुबा अर्जुनप्रसाद रेग्मी, बहिनी ज्योति, धर्मदिदी रिना घिमिरे र भान्जा विकासको हत्या गरे। बुबाले सधैं गाली गरेकोले परिवारकै हत्या गरेको बयान रेग्मीले प्रहरीलाई दिएका थिए।
जिता–९ का राजु गिरीलाई १ कात्तिक २०७० मा गाउँकै एमाओवादी कार्यकर्ता जनार्दन गिरीले मरणासन्न बनाए। प्रहरी चौकी सोतीपसलका इन्चार्ज रहेका प्रसनि पदमबहादुर कुमाल समेत संलग्न रहेको त्यो घटनामा गिरीलाई आफ्नै घरमा बाँधेर उल्टो झ्ुण्ड्याई पैतालामा कुटेर बेहोश पारिएको थियो।
कारबाहीको नाममा प्रसनि कुमाललाई सरुवा गरिएको र आफूलाई गाउँमै मिलापत्र गर्न बाध्य पारिएको पीडित गिरी बताउँछन्। “उपचारमा ४० हजारभन्दा बढी खर्च भयो, तर उसले २० हजार मात्र दियो”, पीडित गिरी भन्छन्, “म भने अहिले पनि पानीमा टेक्न सक्दिनँ, कुँजो भएको छु।”
कुटपिटमा संलग्न प्रसनि कुमाल अहिले राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत हाइटीमा कार्यरत छन् भने जनार्दन गिरीलाई एमाओवादीले जिता गाउँ कार्य समितिको अध्यक्ष बनाएको छ।
त्यस्तै, बेसीशहरमा डेन्टल क्लिनिक चलाएर बसेका दीपक पौडेललाई मरणासन्न बनाउने रामजी कँडेललाई नेपाली कांग्रेसले सुन्दरबजार नगर विकास समिति अध्यक्ष बनाएको छ।
तीन वर्षअघि कुटपिट मुद्दामा समातिएका कँडेललाई कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जिल्ला नै बन्द गरेर छुटाएको थियो। यो खालको प्रवृत्तिले शान्त लमजुङे समाजलाई अपराधको दलदलतिर धकेल्दै लगेको बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष तेजनारायण अधिकारी बताउँछन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा लमजुङमा एक हजार ७८७ आपराधिक घटनाको उजुरी परेका थिए। तर, ती उजुरीमाथि प्रभावकारी कारबाही गर्न प्रहरी असफल भएको पुष्टि लमजुङ जिल्ला अदालतले कैद र जरिवाना तोकेका ४१२ अभियुक्त ‘फरार’ रहनुले गर्छ।
‘फरार’ हुनेमा हत्या, बलात्कार, मानव बेचबिखन तथा ओसारपसार, चोरी, जालसाजी, ठगी, भ्रष्टाचार र कुटपिटका दोषीहरू छन्। उनीहरूमध्ये अधिकांश खुलेआम डुलिरहेको बताउँदै स्वावलम्बी समाज सेवा केन्द्रका अध्यक्ष गमप्रसाद गुरुङ भन्छन्, “उनीहरूले सजाय नपाउँदा अपराध प्रोत्साहित भएको छ।”
अपराधमा कमाइ
तार्कुघाट–दूधपोखरी सडक खण्डको २२ किलोमिटर भाग ग्राभेल गर्ने रु.१८ करोडको ठेक्का गुण्डाहरूको प्रयोगबाट एकलौटी पारियो। ठेक्का हात पार्ने ठेकेदारले त्यतिवेला स्थानीय क्लबहरूलाई समेत गरी रु.६० लाख वितरण गरेको एक निर्माण व्यवसायीको दाबी छ।
बेसीशहरको एक क्लबका अध्यक्षले आफ्नो क्लबले तीन लाख रुपैयाँ पाएको स्वीकारे। गुण्डाहरूबाट पीडित ठेकेदारहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि लगानीकर्ता एशियाली विकास ब्यांकसम्म उजुरी गरेपछि उक्त ठेक्का रद्द भएर ई–विडिङ भएको थियो।
विकास निर्माणका योजनाहरूमा मागे अनुसारको रकम नपाउँदा गुण्डाहरू तुरुन्त तोडफोडमा उत्रने निर्माणाधीन माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष जितबहादुर गुरुङ बताउँछन्।
आयोजनामा पटक–पटक तोडफोड र चोरी भएको किटानी जाहेरी दिंदा पनि कसैलाई कारबाही नभएको उनले बताए। बेसीशहरका समाजसेवी वृषराज गुरुङ भन्छन्, “राजनीतिक दल र ठेकेदारदेखि भ्रष्ट या लाचार सरकारी अधिकारीहरूसम्मको संरक्षणले समाजलाई अपराधमय बनाउँदैछ।”