थप समाचारशनिबार, साउन ३०, २०७२
इन्टरनेटमा जीवनसाथी खोज्दै
आफू सुहाउँदो जोडी सामाजिक सञ्जालमा खोज्न सकिने भएपछि युवायुवतीलाई सजिलो भएको छ ।
कुमार गुरुङ
२७ वर्षीय राजेश तुलाधर चीन र अमेरिकामा पाइलट प्रशिक्षण लिएर भर्खरै नेपाल फर्किए । विवाहयोग्य ‘कुमार’ उनी सुहाउँदो बधुको खोजीमा छन् ।
आफन्तले केही प्रस्ताव ल्याए पनि सुहाउँदो जोडी नभेटाएका उनलाई साथीले सोशल एप ‘टिन्डर’ मा योग्य वधु खोज्न सुझाव दिए । एक हप्तासम्म ‘टिन्डर’ मा ‘तुलाधर’ सर्च गर्दै प्रोफाइल हेरेका उनले तीनजना युवतीलाई ‘सर्ट लिष्ट’ मा राखेर अनलाईन च्याट शुरु गरे । अव यी तीनमध्ये एकजनालाई विस्तारै ‘डेटिङ’ को प्रस्ताव राख्ने विचारमा छन् तुलाधर ।
“मेरा लागि नेपालमा भन्दा चीनमा केटी भेट्टाउन सजिलो थियो– भाषाको अप्ठ्यारोका बावजुद,” तुलाधर भन्छन, “नेपाली केटीहरु टिन्डरमा पनि उती खुल्दैनन्, अप्रोच गर्नै गाह्रो ।”
सोशल डेटिङ एप ‘टिन्डर’ मा सम्भावित साथीहरु अनलाईन भेट्न सकिन्छ । यदि तपाइँलाई कुनै व्यक्तिको प्रोफाइल मन पर्यो र उसले पनि तपाइँलाई मन परायो भने दुई जनाबीच ‘च्याट’ हुन सक्छ । फेसबुकसँग लिंक गरिएकाले टिन्डरमा झुठो अकाउण्ट बनाउन गाह्रो छ ।
शादी डटकम जस्ता परम्परागत डेटिङ र वैवाहिक साइटहरु भन्दा फरक टिन्डर पूर्णरुपमा दृश्यात्मक (अप्पिरेन्स) र दुवै पक्षको रुचीमा आधारित छ । अमेरिका र छिमेककै भारतमा पनि ‘क्रान्ति’ नै ल्याएको यो साइटप्रति अनलाइन भेटिएका नेपालीको धारणा यस्तो छः
“आफूजस्तै विचार राख्ने मानिसहरु भेट्न म यो साइटको उपयोग गर्छु । काठमाडौंमा मानिसहरु भेट्ने यस्तो ठाउँ अरु छैन,” निमा तासी भन्छन् ।
“अहिले म ब्याङ्ककमा छु, अाफूभन्दा पहिले नै यहाँ आएका नेपालीहरु भेट्न मलाई यो एपले सघाएको छ,” रिची जबले भने ।
“म यो एप निकै कम चलाउँछु, खासगरी पिएका बेला रमाइलो गर्न मात्रै , हाँसो…” राकेश शर्माले लेखे ।
नेपाली युवतीहरुको खुलेर कुरा नगर्ने बानी समस्या भएको धेरै युवाहरुको बुझाई छ । तर पनि टिन्डरमा आफ्नो प्रोफाइल नियमित एक्टिभ राख्ने नेपाली युवतीहरुको संख्या उल्लेख्य छ ।
काम र पढाईले गर्दा कमै फुर्सद पाउने २२ वर्षीया फेसन ब्लगर सना गुरुङका लागि मानिसहरु भेट्न अनलाइन डेटिङ साइट बरदान नै भएको छ ।
“म यो साइटमा सक्रिय भएका बेला सातामा एक दुईवटा ‘डेट’ भेट्टाउनु गाह्रो छैन,” गुरुङ भन्छिन् । उनका लागि विदेशी र नेपाली पुरुषहरुबीचको टिन्डर अनुभव फरक छ ।
“नेपाली र विदेशीको समय विताउने ठाउँ एउटै हुँदैन तर, टिन्डरमा भने सबै भेटिन्छन् । मैले केही विदेशी पुरुषहरुलाई अनलाईन भेटेकी पनि छु,” सना भन्छिन, “अधिकांश नेपाली पुरुषहरु शुक्रबार राति अनलाइन भेटिन्छन्, उनीहरुको रुचि प्रत्यक्ष भेटभन्दा अघि अनलाईनमा धेरै बेर गफिनु हुन्छ ।”
नेपालका शहरी क्षेत्र विशेष गरी काठमाडौं र पोखरामा टिन्डर लोकप्रिय हुँदै छ । नेपालमै रहेका विदेशी र पर्यटन क्षेत्रका मानिसहरु पनि टिन्डर मन पराउँछन् ।
करिब ५ लाख तीस हजार नेपाली फेसबुक प्रयोगकर्तामध्ये अधिकांश पुरुष भए झैं टिन्डरमा पनि १८ देखि ४५ वर्ष उमेर समूहका पुरुषकै वर्चस्व छ ।
नेपालीका लागि आफ्नो मिल्ने साथी/जीवन साथी खोजिदिन इन्टरनेटमा शुभविवाह डटकम, नेपाललभ डटकम जस्ता थुप्रै साइटहरु छन् । यी साइटहरुमा अधिकांश ‘करेन्टली बेस्ड इन गल्फ कन्ट्री’ लेखिएको देखिने प्रोफाइलहरुको वैधता बारे प्रश्न नउठ्ने भने होइन । यद्यपी आप्रवासी कामदारहरुले विस्तार गरेको नेपाली डायस्पोराले अनलाइन डेटिङ/मेट्रिमोनियल साइटहरुको विस्तारमा पनि सहयोग पुर्याएकोमा भने कसैको दुई मत छैन ।
अहिले हाम्रा युवाहरुलाई आफ्नो जोडी खोज्न अभिभावक वा साथीहरु पर्खनुपर्ने झण्झट छैन, इन्टरनेटले नै यो खोजीलाई धेरै सहज बनाइदिएको छ । उनीहरुका लागि टिन्डरमा प्रोफाइल बनाउनु यसको शुरुआत हुनसक्छ ।
(केही नामहरु परिवर्तन गरिएको छ ।)
———————————————————————————————————-
फेस टु फेस
फेसबुकका नेपाली प्रयोगकर्ता करिब ५ लाख तीस हजार छन् । नेपालीका हातमा स्मार्ट फोनको पहुँच बढदै जाँदा यो संख्या पनि बढदो छ । आफूले चाहेजस्तो साथी खोज्न धेरैले मोबाइलमा फेसबुक एप प्रयोग गर्छन् ।
केही महिना फेसबुकमा च्याट गरेपछि कुमार र बन्दना आचार्यले गत वर्ष लगन गाँठो कसे ।
काकाको छोरासँग साथी रहेकीले पनि कुमारलाई बन्दनासँग कुरा शुरु गर्न सजिलो भयो ।
एकअर्कालाई ट्याग गर्न मिल्ने, साझा साथीहरुको बारे जानकारी लिन सकिने भएकाले पनि सामाजिक सञ्जाल भावी जोडीहरु भेट्ने राम्रो थलो बनेका छन् ।
अनलाईन पण्डितहरु
नेपालमा पहिलो वैवाहिक साइट नेपाल मेट्रिमोनी सन् २००३ देखि शुरु भएको हो । अहिले सर्वसाधारणमा इन्टरनेटको पहुँच बढदै जाँदा यस्ता साइटहरु र प्रयोगकर्ता दुवै बढदै गएका छन् ।
झूठा प्रोफाइलको अनुगमन गर्न र नेपाली बरवधुलाई चाहिएजस्तो जोडी मिलाउन यि साइटले केही शुल्क पनि लिन्छन् ।
यस्तो साइटहरुमा आफूलाई चाहिएको वर वधु जिल्ला र थरका आधारमा खोजी गर्न सकिने गरी सर्च इन्जिनमा व्यवस्था मिलाइएको हुन्छ । अझै विदेशमा रोजगार गर्ने वर वधु चाहनेलाई त्यो खोज्न पनि सजिलो छ ।
न्यूयोर्कमा रहेका मिलन र राधिकाले एकअर्काको प्रोफाइल शुभविवाह डटकममा भेट्टाए । छोटो भेटमा मिठा गफ गरे, एक अर्काका बारेमा आ–आफ्ना अभिभावकलाई सुनाए र लगन गाँठो कसे ।
मुल अंग्रेजी संस्करणमा पढ्न यहाँ क्लिक गर्नुहोस
यो पनि हेरौं:नेपाली समाजमा ‘फेसबुक विवाह’