समाचारमंगलबार, भाद्र १, २०७२
सुर्खेतमा दशौं दिन पनि आन्दोलन जारी, जुम्लामा कर्फ्यू
अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा आज दशौं दिन पनि आन्दोलन जारी छ ।
आन्दोलनका क्रममा तीन जनाले ज्यान गुमाउँदा समेत सुनुवाई नगरेको भन्दै आन्दोलनको दशौं दिन विहानैदेखि र्याली, जुलुश लगायत विरोध प्रदर्शनका विभिन्न कार्यक्रम भएका छन् ।
सदरमुकाम वीरेन्द्रनगरमा जम्मा भएका आन्दोलनकारीहरु दुई समूहमा विभाजित भएर छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
एकातिर चार प्रमुख राजनीतिक दल र विभिन्न पेशागत संगठनहरुले संयुक्त र्याली निकालेका छन् भने अर्कोतर्फ प्रमुख राजनीतिक दलहरुसँग असहमतहरुको प्रदर्शन भइरहेको छ ।

सुर्खेतमा चारदलसँग असहमत पक्षले नेताहरुको विरोधमा निकालेको र्याली । तस्वीर: विनोद शाही
दलहरुले सुर्खेत राजधानी हुनेगरी सातौं प्रदेशको माग गरेका छन् भने असहमत पक्षले अखण्ड मध्यपश्चिमको माग राखेका छन् ।
प्रदर्शनमा सहभागी संख्याका आधारमा असहमतपक्षको जुलुश ठूलो देखिन्छ ।
जुम्लामा कर्फ्यू जारी
यता जुम्लामा पनि विशेष अधिकार सहितको कर्णाली स्वायत्त प्रदेशको माग गर्दै आन्दोलन जारी छ ।
आन्दोलन नियन्त्रण बाहिर जान लागेको भन्दै स्थानीय प्रशासनले ७ औं दिनदेखि लगाएको कर्फ्यू आज १० औं दिन पनि जारी छ । यद्यपी कर्फ्यू विहान दुई घण्टाका लागि हटाइएको थियो ।
लगातारको आन्दोलन र कर्फ्युले दैनिक उपभोग्य सामानको अभाव भएको छ भने जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
आन्दोलन हिंसात्मक भइरहेकाले कर्फ्यु लगाइरहन परेको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले बताएका छन् ।
जुम्लाका गाउँगाउँमा रहेका प्रहरी चौकी कब्जामा लिएर आन्दोलकारीले साइनबोर्ड फालिदिएपछि सदरमुकाममा थप सहयोगका लागि भन्दै त्यहाँ रहेका प्रहरीहरु खलंगा आएका छन् ।
विनोद शाही, सुर्खेत
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
