थप समाचारमंगलबार, भाद्र १, २०७२

भारदाहपछि राजविराज र रुपनीमा तनाव

हिमालखबर

तस्वीर: श्रवणकुमार देव

तस्वीर: श्रवणकुमार देव

सप्तरीको भारदाहमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि सदरमुकाम राजविराज र रुपनी बजारमा तनाव बढेको छ ।

मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा भारदाहमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट  राजीभ राउतको मृत्यु भएपछि भारदह वरपर अपराह्न ४ बजेदेखि कर्फ्यू लगाइएकाले शान्त देखिए पनि राजविराज र रुपनीमा आन्दोलन चर्केको हो ।

घटनालगत्तै मधेशी मोर्चाका कार्यकर्ताहरुले राजविराजमा विरोध प्रदर्शन गरिरहेका छन् ।
त्यसक्रममा उनीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको मोटरसाइकलमा आगजनी गरेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच जिल्ला प्रशासन कार्यालय अगाडि भएको झडपमा प्रहरीको लाठीबाट विद्यार्थी नेता शम्भु यादव घाइते भएका छन् ।

रुपनी बजारमा भएको प्रदर्शनमा सद्भावना पार्टीका दिनेश यादव, रामसपाका मुकेश कर्ण, तमलोपाका अरुण कुमार ठाकुर र मस्तकिम घाइते भएका छन् ।

घाइतेहरुको उपचार प्रहरीले आफ्नै नियन्त्रणमा गराएको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।

भारदाह घटनामा गोली लागेर भारदह–१ का ४३ बर्षीय देवनारायण विश्वास, ४० वर्षीय सुरेन्द्र मण्डल, १४ वर्षीय दीपक साह, २० बर्षीय सत्यनारायण राउत, भारदह–२ का २० वर्षीय गोपालराज मण्डल र ४० वर्षीय विजय ठाकुर घाइते भएका छन् ।

घाइतेहरुमध्ये केहीलाई उपचारका लागि धरान र केहीलाई विराटनगर लगिएको छ ।

गोली प्रहार गर्नुअघि प्रहरीले लाठी प्रहार, दर्जनौं राउण्ड अश्रुग्यास र रबर गोली प्रहार गरेको थियो ।

प्रहरीको लाठीबाट संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, जिल्ला अध्यक्ष दिनेश यादवसहित ६ जना घाइते भएका छन् ।

प्रहरीको गोलीबाट मृत्यु भएका राजीभ राउतको शव राजमार्गमा राखेर प्रदर्शन भइरहेपछि प्रहरीले हस्तक्षेप गर्दै धरान अस्पताल पुर्‍याएको छ । प्रहरीले उनी जिवितै रहेको हुनसक्ने भन्दै धरान पुर्‍याए पनि अस्पतालले उनलाई मृत घोषित गरेको छ ।

मृतकका आफन्तले राउतको शव बुझ्न मानेका छैनन् । उनीहरुले शव बुझ्न मोर्चाका नेताहरु अस्पताल आउनु पर्ने माग राखेका छन् ।
श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>