थप समाचारमंगलबार, भाद्र १, २०७२
कार्यालय घेरेर गोली हान्न थालेपछि जवाफी फायरिङ भएको होः प्रजिअ यादव
सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आन्दोलनकारीले भारदाह प्रहरी चौकी घेरेर गोली हान्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायरिङ गरेको बताएका छन् ।
“गोलीले प्वाल परेका इलाका प्रहरी कार्यालयका भित्ता नै प्रमाण छन, कार्यालयमा रहेको प्रहरी भ्यानमा पेट्रोल बम हानेर आगो लगाउन खोजियो, टायर सल्किसकेको थियो,” प्रजिअ यादवले हिमालखबरसँग भने ।
उनले थपे, “प्रहरीको सञ्चार सेट खोसियो, हतियार खोस्ने प्रयास हुँदैथियो, उताबाट गोली चलिरहेको थियो, त्यस्तो बेला प्रहरीले आत्मरक्षाका लागि गोली चलाउन परेको हो ।”
प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको र केही घाइते भएको उनले जानकारी दिए । त्यस्तै नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका चार जना पनि घाइते भएको उनले बताए ।
यादवका अनुसार घटना यसरी भयो
हिजो ३२ भदौ साँझ भारदाहमा सडक अवरोध गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र अवरोध हटाउन प्रयास गरिरहेको प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गर्दा केही आन्दोलकारी घाइते भए भने प्रहरीको भ्यानमा पनि तोडफोड भयो ।
यद्यपी बन्दका आयोजक मधेशी मोर्चाका नेताहरुसँग प्रजिअ यादवले कुराकानी गरेपछि त्यो घटना साम्य भइसकेको थियो ।
त्यसैदिन साँझ करिब ६ बजे राजविराजस्थित पम्प हाउस (नहरबाट पानी पम्प गरेर सिँचाइ गर्नेसम्बन्धी) कार्यालयको कोठामा आगजनी भयो ।
आगजनीबारे आन्दोलनकारी स्थानीय नेतासँग कुरा गर्दा उनीहरुले आफ्नो आन्दोलनमा घुसपैठ भएको हुनसक्ने भन्दै त्यसबारे छानविन गर्ने र त्यस्ता घटना हुन नदिने र आन्दोलन शान्तिपूर्ण हुने बताएका थिए ।
आज १ भदौ विहान आन्दोलनकारीले भारदाहमा सडकमै पाल गाडेर त्यसभित्र ढुंगा लाठी थुपार्ने काम गर्दा प्रहरीले उक्त पाल हटाएको थियो ।
त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भयो । सडकमा रहेका आन्दोलनकारीलाई प्रहरीले तितरवितर पारिसकेको थियो तर केही क्षणमै आन्दोलनकारीले सडकमा गुडिरहेको सशस्त्र प्रहरीको भ्यानमाथि आक्रमण गरी तोडफोड गरे ।
प्रहरी र आन्दोलनकारीबीच झडप हुने र थामिने क्रम चलिरहँदा दिउँसो एक्कासी करिब ६०० को संख्यामा रहेको समूहले भारदहस्थित इलाका प्रहरी कार्यालय घेरा हारेर फायरिङ गर्न थाल्यो ।
आन्दोलकारीकातर्फबाट भएको फायरिङसँगै पेट्रोल बम प्रहार र ढुंगामुढा हुन थाल्यो । बाहिर रहेका प्रहरीका सञ्चारसेट समेत आन्दोलकारीले थुते । पेट्रोलबमले प्रहरी भ्यानको टायर समेत सल्किसकेको थियो ।
प्रहरीले आन्दोलनकारीलाई हटाउन र आत्मरक्षाका लागि गोली चलाउन पर्यो । त्यसक्रममा एकजना आन्दोलनकारीको मृत्यु हुनुका साथै केही घाइते भए ।
घुसपैठ भएको हुनसक्छ
प्रजिअ यादवले हिजो पम्पहाउसमा घुसपैठियाले आगजनी गरेको नेताहरुले नै स्वीकारेको अवस्थामा आज प्रहरी कार्यालयमाथि आक्रमण गर्ने वा आक्रमणका लागि उक्साउने पनि घुसपैठिया हुनसक्ने बताए ।
उनले आन्दोलनरत दलका जिल्ला नेताहरुलाई यसतर्फ सजग रहन र संयमित रही आन्दोलनका कार्यक्रम तय गर्न आग्रह गरेको बताए ।
भने,“ जिल्लाका सबै नेताहरुसँग कुरा गरिरहेको छु, उहाँहरु पनि घटनालाई कसरी साम्य पार्ने भन्ने बार छलफलमै हुनुहुन्छ, यस्ता घटना बढन नदिन आफूहरु सचेत रहेको बताउनु भएको छ ।”
अहिले पनि विभिन्न किसिमका अफवाह फैलाएर आन्दोलनकारीलाई उत्तेजित बनाउने काम भइरहेको भन्दै उनले सञ्चारमाध्यमलाई पनि संयमित रहन र शान्ति सुृव्यवस्था कायम गर्नका लागि सहयोग गर्न आग्रह गरे ।