समाचारबुधबार, भाद्र २, २०७२

आत्मरक्षाका लागि गोली चलाउँदा आन्दोलनकारीको मृत्युः गृहमन्त्री

हिमालखबर

आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा सप्तरीमा आन्दोलनकारीको मृत्यु भएको गृहमन्त्री बामदेव गौतमले बताएका छन् ।

व्यवस्थापिका–संसदमा जवाफ दिदै गृहमन्त्री गौतमले भने, “सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास भएको हुँदा बाध्य भएर गोली चलाइएको हो ।”

भारदहमा भेला भएका झण्डै सात सय आन्दोलनकारीलाई प्रहरीले बारम्बार शान्ति सुरक्षामा खलल हुन नदिन आग्रह गरेको भएपनि उनीहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि बाध्य भएर गोली चलाइएको उनले बताए । गृहमन्त्री गौतमले भने, “स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक जनाको मृत्यु भएको हो ।”

“लाठी र अश्रुग्यास प्रहार गरी परिस्थिति काबुमा लिन हरसम्भव प्रयास गरिएको तर प्रहरीको हतियार नै खोस्ने दुष्प्रयास भएपछि गोली चलाउँदा घाइते भएका २४ वर्षीय राजीव राउतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो”, गौतमले भने ।

आन्दोलनकारीको आक्रमणबाट पाँचजना सुरक्षाकर्मी पनि घाइते भएका जानकारी गृहमन्त्रीले बताए । स्थिति नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको र अहिले त्यहाँको सुरक्षा स्थिति सामान्य बन्दै गएको उनले बताए ।

कपिलवस्तुस्थित एमाले कार्यालय र घरेलु उद्योग कार्यालयमा आगजनीको प्रयास भएको जानकारी पनि गृहमन्त्रीले गराए। रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>